भेरी अस्पताललाई उपलब्ध गराइएको भनिएको डेढ करोड आर्थिक वर्षको अन्त्यमा योजना संशोधन गरिएका कारण औपचारिकतामात्र भएको उप–महानगरपालिकाको प्रतिक्रिया

नगरपालिकालाई दिएको हो भने, कार्यान्वयन गर्ने निकायलाई सूचनानै नदिने बैठकमा नबोलाउने ? जनताले यो सस्तो लोकप्रीयताको नोैटंकी बुझ्दैनन् ?
एउटा योजना कार्यान्वयनका लागि कम्तिमा कति दिन लाग्छ ? खरीद ऐन अनुसारका प्रक्रिया नबुझी चीप पब्लिसिटी गर्ने ? भेरी अस्पताललाई भेन्टिलेटर खरीद गर्न दिइएको रकम नेपालगन्ज उपमहानगरपालिकाको गैरजिम्मेवारीका कारण फ्रीज भएको आरोप कडा शब्दमा प्रतिवाद गर्दै नगर प्रमुख डा. धवल शम्शेर राणाले दैनिक नेपालगन्जसँग प्रतिप्रश्न गरे । कार्यसम्पन्न भइसक्ने दिन मनोमानी निर्णय गरि भ्रम उत्पन्न गर्न खोजिएको आरोप डा. राणाको छ ।
नेपालगन्ज उप–महानगरपालिकाले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रीज गराएको भन्दै अघिल्लो दिन प्रतिनिधि सभा सदस्य मो. इस्तियाक राईले भेन्टिलेटर अभावमा मानिसको ज्यान गए जिम्मेवारी लिनुपर्ने सम्मको आरोप लगाएपछि डा. राणाले प्रतिवाद गरेका हुन् । निर्णयकर्ताले आर्थिकवर्षको अन्त्यमा योजना संशोधन गरेको पत्र पठाएका कारण प्रक्रिया नै सुरु गर्न नसकिएको उप–महानगरपालिकाका तर्फबाट नगर प्रमुख डा. राणाले आइतबार विज्ञप्तीनै जारी गरेका छन् ।
सरकारले कोभिड कोषमा हाल भनेको रकम नगरपालिकालाई किन दिनु परेको ? अनि नगरपालिकालाई दिएको हो भने, कार्यान्वयन गर्ने निकायलाई सूचनानै नदिने बैठकमा नबोलाउने ? जनताले यो सस्तो लोकप्रीयताको नोैटंकी बुझ्दैनन् ? डा. राणाले निकै छुब्ध हुँदै भने, यसअघिका कुनैपनि योजना मिस गरिएका छैनन्, नेपालगन्जका लागि दिइने कुनै योजना बिग्रँन दिने भन्ने सवालनै छैन ।
उपमहानगरपालिकाका अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७७ असार ७ गतेको पत्रानुसार विनियोजन भएको रकम मध्ये खर्च नभई बचत रहेको रकम असार १५ गतेभित्र कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा खर्च गर्ने गरी निर्देशक समितिका सदस्यहरुको परामर्शमा संयोजकलाई जिम्मेवारी दिइएको थियो ।
पत्र प्राप्त भएको एकसातापछि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको बैठकले असार १४ गते योजनाको संशोधन गरि कोभिड–१९ को लागि आवश्यक पर्ने आइसोलेसनमा उपयोग हुने गरि भेन्टिलेटर र उपकरण भेरी अस्पताल नेपालगन्जमा जडान गर्ने निर्णय गरेको पत्र जिल्ला समन्यय समितिबाट २०७७ असार १५ गते नेपालगन्ज उपमहानगरपालिकालाई प्राप्त भएको थियो । योजना संशोधन गर्दा उप–महानगरपालिकासँग कुनै समन्वय गरिएन, नगरप्रमुख डा. राणाले दैनिक नेपालगन्जसँग भने, कार्यान्वयनका लागि नै दिइएको हो भने हाम्रो उपस्थिति आवश्यक होइन ?
निर्देशक समितिले उप–महानगरपालिकाको कोभिड– १९ राहत कोष मार्फत भेरी अस्पतालमा भेन्टीलेटर खरिद गर्ने निर्णय गरेको अवस्थामा तत्काल उपकरण खरिद गर्न सकिने अवस्था हुँदाहुँदै समन्वय नगरि निर्णय भएपछि रकम फिर्ता भएको हो, नगरप्रमुख राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । कार्यक्रम अन्तर्गत नेपालगन्ज उप–महानगरपालिकामा अन्य अधिकाँश योजना समयमै सम्पन्न भएको जानकारी दिंदै डा. राणाले भनेका छन्, कार्य सम्पन्न भएका र सम्पूर्ण प्रक्रिया पुरा भएका तर विभिन्न कारणले रकम भुक्तानी हुन नसकेका दुईवटा योजनाको रकम उपमहानगरपालिकाले भुक्तानी गर्ने विषयमा सकारात्मक समेत भएका छौं ।











