संक्रमित निको हुनेको संख्या बाँकेमा बढ्दो, आज एकै दिन ५१ जना डिस्चार्ज

आफुलाई लक्षण नदेखिएको भन्दै आइसोलेसनमा बस्ने संक्रमितहरुले घर जान अनाहकको दबाब दिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुलाई प्रभावमा पार्दै उनीहरुले जबर्जस्ती गर्न खोजेका हुन् ।
विहिवार त अतिनै गरे, दिनभरको व्यवस्थापनमा परेशान एक स्वास्थ्यकर्मीले दैनिक नेपालगन्जसँग भने, हुनेखाने र ठालुहरुबाट दबाब दिइएको हो । तीज मनाउन नपाइएको भन्दै दबाब दिनेहरुमा अधिकांश शुक्रवार १४ दिन पुग्नेहरु रहेको सम्बद्ध स्वास्थ्यकर्मीले बताए ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट प्रभावित भएकाहरु निको हुने क्रम उत्साहजनक देखिएको छ । आज शुक्रवारमात्रै ५१ जना डिस्चार्ज भएको जानकारी दिंदै जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, लक्षण विनाका संक्रमितहरु १४ दिन आइसोलेसनपछि घर फर्किने क्रम बढेको छ ।

विहीवार बाँकेबाट २८ जना भएका थिए । लक्षणसहित संक्रमण देखा परेकी प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना) सहित निको हुनेमा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार खगेन्द्र दाहाल लगायत छ । नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी देखि नगर प्रहरीसम्म निको हुनेमा छन् । निको भएर घर जाँदै गरेकी प्रदेश सभा सदस्य नमूनाले आफूलाई लक्षणसमेत देखिएकोले शुरुमा साह्रै गाह्रो भएको बताइन् । कोरोनाबाट जोगिन सजगकता र सतर्कता अपनाउनुको विकल्प छैन, सांसद नमूनाले दैनिक नेपालगन्जसँग भनिन्, कोरोनालाई सामान्य ठान्नेहरुले हेक्का राख्नै पर्छ, यसले ज्यानै लिन सक्छ । मलाई यसरी गलाएको छ की कसैले हेलचक्राईं नगरोस् भन्ने अनुरोध गरिरहेकी छु ।
जिल्लाका विभिन्न आइसोलेसन अस्पताल तथा सेन्टरमा बस्दै आएका १३ जना महिलासहितका २८ जना विहिवार घर पठाइएको जिल्ला कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनीहरु अधिकांश नेपालगन्जका छन् । यसअघि जिल्लामा सबैभन्दा बढि एकै दिन ३० जना कोरोना जितेर घर फर्किएको जानकारी दिंदै श्रेष्ठले शुक्रवार ५१ जनालाई घर पठाइएको बताए ।








