३ किलोमिटरको जोखिमपूर्ण क्षेत्रमा १० वर्षदेखि स्थायी बाँध किन हुन सकेन ?

बाँकेको राप्ती नदिले तटीय क्षेत्रमा कहरको अवस्था सिर्जना गरेको भन्दै स्थानीयले रोकथामका लागि आग्रह गरेका छन् ।
राप्तीसोनारी गाउँपालिकाको पिप्रहवादेखि नरैनापुरको मटेहिया सम्मको क्षेत्रमा राप्ती नदीले गरिरहेको कटानको रोकथामका लागि स्थानीयले आग्रह गरेका हुन् । ३ किलोमिटरको जोखिमपूर्ण क्षेत्रमा १० वर्षदेखि स्थायी बाँध किन हुन सकेन ? मटेहियाका मुकद्दर अलीले सामाजिक सञ्जालमार्फत गुनासो गर्दै भनेका छन्, यो कटान हेर्ने कसले हो ? उनले राप्तीको कहरका पछिल्ला तस्विर पोष्ट गर्दै सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
राप्तीसोनारी गाउँपालिका कचनापुर क्षेत्रमा राप्ती नदीले बढिनै कटान गरिरहेको बताइएको छ । मटहियाको पनि त्यही अवस्था रहेको भन्दै स्थानीयवासी तेजप्रकाश दिक्षितले समस्या समाधानका लागि विभिन्न व्यक्ति तथा निकायको ध्यानाकर्षण गराएका छन् ।
नदी कटानको रोकथामका लागि तत्काल कदम चाल्न सम्बद्धरुको ध्यानाकर्षण गराइएको हो । अस्थायी बाँधले कटान रोक्न नसकेको भन्दै मुकद्दर अलीले कटान रोक्न नसकिए गाउँनै सखाप हुने भन्दै चिन्ता जनाएका छन् ।








