सुरक्षित ठाउँमा कसरी संक्रमण ?, समुदायमै १ सय ६ संक्रमित भेटिए


बुधबार साँझ नेपाल–भारतको सीमा जमुनाह नाकामा पुग्दा चार वटा रिक्सा लगातार भारत तर्फबाट नाकासम्म आइपुग्छन् । नेपाली सीमासम्म नेपाली नागरिकलाई छाडेपछि भारतीय रिक्सा फर्कछन् । नेपाली ५० मिटर नेपाली सीमाभित्र छिरे पछि भागदौड मचिन्छ । के भयो भनेर दैनिक नेपालगन्ज पुग्दा नाका रहेका प्रहरी मुस्कुराउँदै भन्छन्, ‘यस्ता घटना दिनहुँ हुन्छन् ।’


भारतबाट आउने नेपालीहरु होल्डिङ सेन्टर पुगेर त्यहाँ रेकर्ड दिएपछि सम्बन्धित ठाउँतिर लाग्नुपर्ने हो । होल्डिङ सेन्टरबाट सम्बन्धित जिल्ला जानेहरु क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । केही व्यक्ति दायाँ, बायाँ भागिरहँदा जाजरकोटका ८÷१० जना भने लामबद्ध भएर होल्डिङ सेन्टर छिर्दै थिए । तर, बाँके घर भएकाहरु क्वारेन्टाइनमा बस्न चाहँदैनन् । त्यसैले नेपाल छिर्ने बित्तिकै प्रहरीकै अगाडि सीमामा दाया“वायाँ दौडेर भाग्ने गर्दछन् ।


त्यसैरी प्रहरी अगाडिबाटै भाग्ने कतिपयले प्रहरीलाई सय रुपैयाँ लिएर उम्किने गरेको बताए । तर, जमुनाह प्रहरी इन्चार्ज विष्णु गिरीले उक्त कुरा सोझै अस्वीकार गरे । ‘पैसा लिएर छाडेको भन्ने कुरा सरासर झुठो हो’, उनले भने । यद्यपि, उनले सीमाबाट कतिपय व्यक्ति भाग्ने गरेको भने स्वीकार गरे ।


खासगरी पछिल्ला दिनमा प्रहरी पनि कोरोना संक्रमित देखिएकाले भाग्नेलाई जबर्जस्ती समात्न प्रहरी हच्किने गरेको हुनसक्छ । अझ महिलाहरुलाई समात्न झनै गाह्रो हुने जमुनाह प्रहरी इन्चार्ज विष्णु गिरी बताउँछन् । ‘सीमामा महिला प्रहरी नहुँदा भाग्ने महिलाहरुलाई समात्न समस्या हुने गरेको छ’, उनी भन्छन् ।


यसरी सीमाबाट भागेर नेपाल भित्रिनेहरुमा कोरोना रहेमा उनीहरुले नै समुदायमा कोरोना सार्न सक्ने ठूलो जोखिम रहन्छ । सीमामा भैरहेको फितलो व्यवस्थापनका कारण ठूलो जोखिम निम्तिइरहेको छ भन्ने सक्ने अवस्था सीमाको दृश्यबाट स्पष्ट हुन्छ ।


बाँकेको भारतसँग ६९ किलोमिटर खुला रहेको छ । मुख्य नाकामा त कमजोरी देखियो भने भित्रि नाकाहरुमा कति नेपाली भारतबाट भित्रिएका होलान् त्यसको अनुमान लगाउन सक्ने अवस्था छैन । नेपाली सुरक्षाकर्मीको सीमामा पातलो उपस्थिति रहेपनि भारत तर्फ भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । भारतीय सुरक्षाकर्मीले नेपाल आउन नरोक्ने गरेको पछिल्ला घटनाहरुबाट पुष्टि हुन्छ । भारतबाट तस्करी गरी ल्याइएको मालसामान सहित नेपालीहरु पटकपटक नेपाली सीमाभित्र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले समातिरहेको घटनाले पनि सीमाका भित्रि नाका अझै निर्बाध चलिरहेको छ भनेर सहज अनुमान लगाउन सकिन्छ ।
भारतबाट आउने मालवाहक सवारीसाधनले समेत केही पैसा लिएर मानिसहरु भित्र्याउने गरेको पनि सुनिंदै आएको छ । यसतर्फ सरोकारवाला निकायले अझै ध्यान पुर्याउन सकेको देखिंदैन ।
कोरोना संक्रमणको जोखिमका कारण गत चैत्र ११ गतेदेखि नै मुलुक लकडाउनमा रह्यो । असार १ गते खुकुलो भएको लकडाउन साउनमा अन्त्य गरियो । तर, जोखिम भने घटेको थिएन । लामो समय लकडाउन हुँदा आर्थिक अवस्था नै कमजोर हुँदै गएपछि सरकारले बाध्य भएर लकडाउन अन्त्य गर्यो । तर, सुरक्षाका मापदण्ड पालना गर्न सरकारले जोड दिएपनि नागरिक स्तरमा भने लापरवाही भै नै रह्यो । नागरिक मात्रै होइन सरकारी कर्मचारी, जनप्रतिनिधिबाट समेत सुरक्षा मापदण्डमा लापरवाही भएको पाइन्छ ।


लामो समयको लकडाउन पछि बाँकेमा कार्यालयहरु खुले । कार्यालय प्रवेश गर्दा मास्क अनिवार्य गरियो । नेपालगन्ज उपमहानगरपालिकाको गेटमै सेनिटाइजर मेसिन जडान छ । तरपनि उपमहानगरपालिकाका कर्मचारी मात्रै होइन जनप्रतिनिधि पनि कोरोना पोजेटिभ पाइए । वडा कार्यालयका कर्मचारी पनि कोरोनाको चपेटामा आए ।


स्वास्थ्य कार्यालय बाँकेका अनुसार, बाँकेमा बिहीबारसम्म पुष्टि भएका ४ सय ९८ पोजेटिभ मध्ये क्वारेन्टाइनमा रहेका ३ सय ९२ जना रहेका छन् । समुदायमा पोजिटिभ १ सय ६ जना रहेको छ । नेपालगन्ज कारागारमा कोरोना संक्रमण सुरु भएपछि पनि सावधानी अपनाइएको थियो । तर, पनि कारागारका कैदीबन्दी र प्रहरीसम्म कोरोना पुग्यो । हाल कारागारलाई नै आइसोलेसन जस्तै बनाइएको छ ।


आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारी र उनीहरुका परिवारमा पनि कोरोना देखियो । उनीहरुलाई को बाट कोरोना सर्यो भन्ने पुष्टि गर्न सकिने अवस्था छैन । यसको अर्थ बाँकेमा घरमै रहेका कतिपय अझै कोरोना संक्रमित रहेका छन् । परीक्षण गर्दै जाने हो भने थप कोरोना संक्रमित भेटिन सक्छन् । कोरोना विरुद्ध पर्याप्त सतर्कता नपआउँदा, सुरक्षा मापदण्ड पूर्ण पालना नगर्दा नै समुदाय स्तरसम्म कोरोना पुगेको हो ।

एकै दिन २८ थपिए
सञ्चारकर्मी र चिकित्सक पनि संक्रमित
नेपालमा थप ३६० जना कोरोना पुष्टि

बाँकेमा एकै दिन २८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, १३ जना कन्ट्याक्ट टे«सिङका पोजेटिभ फेला परेका हुन् । नगर प्रहरी, उपमहानगरपालिकाको जिन्सी शाखाका कर्मचारी, सञ्चारकर्मी, चिकित्सक, सरसफाईकर्मी, जिल्ला समन्वय समितिका कर्मचारी, निर्धन बैंक र वडाका कर्मचारीमा कोरोना पुष्टि भएको हो । यो सँगै बाँकेमा कोरोना संक्रमितको संख्या ४ सय ९८ पुगेको छ ।


देशभर थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ६२२ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या २१ हजार ७५० जना पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या भने ६ हजार २९६ रहेको छ ।

त्यसैगरी बिहीबार २३३ जना उपचारपछि निको भएका छन् भने नेपालमा हालसम्म १५ हजार ३८९ जना उपचारपछि निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच जना व्यक्तिको निधन भएको छ । मृत्यु हुनेमा मोरङका ४५÷४५ वर्षीय दुई पुरुष, सर्लाहीका ६५ वर्षीया महिला, धनुषाका ७२ वर्षीया महिला र सप्तरीका ४२ वर्षीय पुरुषको निधन भएको हो । उनीहरु सबैको निधन साउन २१ गते भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको संख्या ६५ पुगेको छ ।


त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमति थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा एक जना व्यक्तिलाई कोरोना संक्रमति देखिएको हो । मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा संक्रमतिको दर बढेकाले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुन सक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कोरोनाको औषधि पत्ता नलागिसकेको भन्दै सबै अस्पतालले चिकित्सकलाई सिफ्टअनुसार मिलाएर काम गराउन आग्रह गरे ।

प्रतिक्रिया

प्रतिक्रिया