जेष्ठ ३० गते देखि नेपालमा मनसुन शुरु भएदेखि प्रकोपका घटनाहरुमा तिब्रता आएको छ । असारको अन्तिम सातादेखि देशका विभिन्न भूभागमा बाढी पहिरोको वितण्डा चलिरहदा बाँके र बर्दियामा भने कुनै अप्रिय खबरहरु सुनिएको थिएन । साउनको दोश्रो साताका अन्तिम दिनहरु भने यी दुई जिल्लाको लागि त्रासमय बन्न पुगेका छन् ।
यो वर्ष डुवान बाहेक बर्दियामा ठुलो क्षति नभएपनि विगतमा वर्दियाले बाढीबाट ठुलो नोक्सानी बेहोर्दै आएको पाइन्छ. । वि.स. २०६७ बैशाख यताको १० वर्ष साढे तीन महिनाको अवधिमा बर्दिया जिल्लामा ४८ वटा ठुला बाढी आएको र त्यसमा परेर ४८ जनाले ज्यान गुमाएको तथा २८ जना बेपत्ता भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्यांकहरुले देखाएका छन् । यो अवधिमा बाढीबाट मात्र बर्दिया जिल्लाले ३ अर्ब ७८ करोड १२ लाख रुपैयाको क्षति बेहोरेको देखिन्छ । पछिल्ला १० वर्षमा आएका बाढीहरु मध्ये २०७१ सालमा आएको बाढीले बर्दिया जिल्लालाई बढी क्षति पु¥याएको थियो । सत्र हजार भन्दा बढी घरमा भौतिक क्षति भएको उक्त बाढीमा परेर बर्दियाका ३१ जनाले ज्यान गुमाएका थिए ।
बर्दियाका बारबर्दिया नगरपालिकाको बबई नदी तटिय क्षेत्र र बाँसगढी नगरपालिका र बढैयाताल गापाको मानखोला तटिय क्षेत्र राजापुर नगरपालिका, गेरुवा गापा र ठाकुरबाबा नगरपालिका अन्तरगतका कर्णाली, गेरुवा र ओराही नदी तटिय क्षेत्र नदि कटान र डुवानमा दृष्टिले खतराजन्य क्षेत्र मानिन्छन । बर्दिया जिल्लामा वर्षेनी विपद निम्त्याउने मुख्य नदीहरुमा कर्णाली नदी, ववई नदी, मान खोला, ओरही खोला, रेउ खोला, वढी कुला जस्ता नदीहरुमा आउने बाढीका कारण वर्षेनी ठूलो मात्रामा मानविय तथा भौतिक क्षती हुने गरेको छ । जिल्लामा ठुला नदीहरु रहेकोले पहाडी क्षेत्रमा ठुलो पानि पर्नासाथ बर्दियामा बाढीको त्रास हुने गरेको र भारतले कर्णाली ( घाघरा) नदीमा बनाएको बाधको कारणले कर्णाली नदी छेउछाउ र राजापुर टापुका बासिन्दाहरु सधै डुवानको त्रासमा रहनुपरेको बर्दियाका प्रदेश सभासद कविराम थारु बताउछन् ।
राप्तिनदी, मानखोला र डुडुवा खोलाका साथै एक दर्जन जति साना खोलाहरु रहेको बांँके जिल्ला प्रदेश ५ मा बाढीको उच्च जोखिम रहेको क्षेत्रमा पर्छ । पछिल्लो १० वर्षमा ३० वटा ठुला बाढी र भारि वर्षा बेहोरेको बाँके जिल्लाले उक्त विपदमा ३२ जना नागरिक र ४८ करोड बराबरको क्षति बेहोरेको छ । बाँके जिल्लामा राप्ती नदि छेउछाउका वस्तीहरु बाढीको उच्च जोखिममा रहेका छन् । जील्ला प्रकोप व्यवस्थापन समितिले डुडुवा गाउँपालिकाको होलिया, बेतहनी, बनकट्टी ,कम्दी, हिरमिनिया ,राप्तीसोनारी गाउँपालिका खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर, महादेवपुरी, नरैनापुरको कटकुइया, लक्ष्मणपुर,.कालाफाँटा , नरैनापुर , मटेहिया र गँगापुर बाढीको उच्च जोखिमयुक्त स्थानको रुपमा पहिचान गरेको छ । त्यसैगरी खजुरा गाउँपालिकाको उढरापुर, सोनपुर, बागेश्वरी , राधापुर र सितापुर जानकी गाउँपालिको .साईगाउँ कोहलपुर नपाका ६ वटा वार्ड नेपालगंज उपमहानगरपालिका धम्बोजी, मनिकापुर, बाँके गाउँ डुवान भजिपुर्वा ,भवनियापुर, बेलासपुर डुवान, गणेशपुर , बैजनाथ गापाको नौवस्ता(मकैबारी,बैरहवां) बाढी वा डुबानको जोखिमयुक्त ठाउँको रुपमा राखेको छ ।
बाँके जिल्लामा नदि नालाहरुको कारणले मात्र नभएर सिमा क्षेत्रमा भारतले बनाएका बाँधहरूको कारणले पनि वर्षेनी बाढी र डुबान हुने गरेको बाँंकेबासीको गुनासो छ । लक्ष्मणपुर बाँधका कारण बर्षायाममा राप्तीनदीमा आउने बाढीको पानीको उचित निकास नभएकोले बाँके जिल्लाको राप्तीनदी र डुडुवा खोलाको नजिक रहेका राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ र ७ फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, बेतहनी, बनकट्टी, र नरैनापुर गाउँपालिकाको मटेहिया र गंगापुरको बस्ती र कृषि उत्पादन योग्य जमीनमा डुबान, कटान, बालुवा निक्षेपण र भौतिक संरचनामा समेत क्षति हुनुका साथै बाढीको पानी थुनिएर जनजीवन प्रभावित हुने गरेको छ । यसैगरी सिमाना क्षेत्रमा सडक निर्माणले जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा रहेका डुडुवा गाउँपालिकाको हिरमिनिया, जानकी गाउँपालिकाको साईगाउँ तथा नेपालगञ्ज उपमहानगरपालिकाको पिप्रहवा एवं अन्य क्षेत्र पनि डुवानमा पर्ने गरेको छ ।
बाँके र बर्दिया जिल्ला का बासिन्दाहरु बाढीको मात्र नभएर अन्य विपदको उच्च जोखिममा रहेको विपद सम्बन्धि जिल्लागत र गृह मन्त्रालयका तथ्यांकहरुले देखाउछन । मनसुन सक्रिय भएको बेलामा बाढीको बाढीको सन्त्रास धेरै हुने भएपनि अन्य समयमा यी जिल्लाहरुमा आगलागीका घटनाहरु धेरै हुने गरेका छन् । पछिल्लो १० वर्षमा यी दुई जिल्लाहरुमा आगलागीका ५६४ वटा घटनामा २२ जनाले ज्यान गुमाएका छन् भने ५३ करोड रुपैयाको क्षति भएको छ । नेपालमै आगलागीको घटना धेरै हुने क्षेत्र मध्येमा पर्ने बाँके जिल्लामा व्यवसायिक र बसोबास क्षेत्र दुबैमा वर्षेनी आगलागीले ठुलो क्षति पु¥याउने गरेको छ । सुख्खापन र कच्ची घरहरु धेरै भएको तथा मानिसहरु आगलागीप्रतिको सावधानी कम भएकोले आगलागीका घटनाहरु धेरै हुने गरेको राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धनि कुमारी खत्री बताउछिन ।
बाँके र बर्दियाका चुरे क्षेत्रमा पहिरो जाने गरेको भएपनि त्यसबाट ठुलो भौतिक र मानवीय क्षति भएको देखिदैन । पछिल्ला दिनहरुमा यी जिल्लाहरुमा चट्यांगका घटना र त्यसबाट मृत्यु हुनेहरुको संख्या बढेको देखिन्छ । सबैभनदा बढि क्षति बाढीबाट हुने भएकोले प्रकोपको उच्च जोखिममा रहेका बाँके र बर्दियाको जिल्ला बिपद व्यवस्थापन समितिले बाढीलाई लक्षित गरि मनसुन पूर्वतयारी योजना २०७७ तयार गरेको छन् । यसै योजनालाई आधार मानेर विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धि कृयाकलापहरु संचालन गरिएको छ ।