हुन त कुर्बानी शब्द बोल्न र सुन्न साथ हाम्रो मनमा एउटा छुट्टै फ्रेम तयार भइहाल्छ जसमा हामीले या त कुनै जनावरलाई काट्नु वा कसैले संघर्ष गर्नुलाई मात्र बुझ्ने गरेका छौं । तर कुर्बानीको वास्तविकताबाट हामी अनभिज्ञ छौं । कुर्बानी अरबी शब्द कुर्बबाट बनेछ । कुर्बको वास्तविक अर्थ नजिक,निकट र प्रिय हुनु हो र कुर्बानीको अर्थ अल्लाहको नजिक निकटता वा प्रियता हासिल गर्नु हो । कुर्बानीको शाब्दिक अर्थ संघर्ष नभइ निकटता र प्रियता हो एक शब्दमा भन्दा अल्लाहलाई खुशी बनाउन गरिने कार्य नै कुर्बानी हो । उसो भए यसलाई ईदुलअज्हा (बकराईद) संग किन दाजिन्छ त भनी प्रश्न पक्कै आए होला मनमा । ईदुलजुहा (ईदुलअज्हा) तीन दिन जुनकि १०,११ र १२ तारिखका दिन मनाईन्छ ।यस वर्षको ईदुलजुहा शनिवारको दिन पर्नेछ ।
कुर्बानीको सुरुआत
हेरौं कसरी सुरुआत भयो कुर्बानी र हजरत इब्राहीम अलैहिस्सलामले अल्लाहको कुर्ब हासिल गर्न कसरी आफ्नो छोरालाई आफै घाटीं रेट्ने कार्य गर्नुभयो भनी छोटो जानकारी ।
उहां रातको अन्तिम भागमा उठेर दूआ गर्नु हुन्थ्यो कि उनलाई सन्तानको सुख प्राप्त होस् । उहांको दुआ कुबूल भयो र उनलाई उमेरको आखरी भागमा (बुढेसकालमा) सन्तान सुख प्राप्त भयो र छोरा इस्माईल अलैहिस्सलाम जन्मिनुभयो । उहां आफ्नो छोरालाई असाध्यै माया गर्नु हुन्थ्यो । एक रात उनलाई सपनामा अल्लाहको पवित्र आदेश भयो कि तिमी आफ्नो सबभन्दा प्रिय कुरा मेरो लागि कुर्बान गर। उहां उठेर आफ्नो सबै ऊंटहरुलाई अल्लाहको खुशीका लागि कुर्बान गरे । तर अर्को पल्ट उहांले फेरि सपना हेर्नुभयो कि उहां आफ्ना छोरा ईस्माइल अलैहिस्सलामलाई कुर्बान गर्दै हुनुहुन्छ । उहांले उठेर सोच्नुभयो म आफ्नो छोरालाई माया गर्छु र त्यसलाई कुर्बान गर्नुपर्नेछ यो एउटा ठुलो आजमाईश (परिक्षा)थियो । आफ्नो छोरालाई आफ्नै हातले कुर्बान गर्नु सानोतिनो कुरा थिएन् ।
अल्लाह आफ्नो प्रियहरुलाई आजमाउनु (परिक्षा लिनु)हुन्छ यो पनि उहांको आजमाईश थियो जसमा पार पाउनुथियो पास हुनुथियो ।
उहांले सपना देखेको भोलिपल्ट नै उठेर आफ्नी पत्नीलाई फरमाउनुभयो कि छोरालाई तयार गरिदेऊ राम्रो लुगा लगाइदेऊ म उसलाई लिएर आफ्नो साथीको निमंत्रणामा जादैंछु ।
हजरत हाजरा अलैहिस्सलामले छोरालाई नुवाईधुवाई गरी राम्रो लुगा लगाइ कपाल कोरेर तयार पार्नुभयो । बुवाले छोरालाई अल्लाहले आदेश भएको ठांउमा लग्नुभयो ।
हिड्दाहिड्दै बाटोमा भन्नुभयो “छोरा मैले सपना देखें कि म तिम्रो घाटीं काट्दैछु ।” छोरा इस्माईल अलैहिस्सलामले भन्नुभयो “बुवा तपाई पैगम्बर हुनुहुन्छ र पैगम्बरका सपना साचों हुन्छ यस कारण कुर्बान के बरु जे गर्न चाहनुहुन्छ गरिहाल्नुस् म सन्तोष गर्छु ।” ईस्माइल अलैहिस्सलाम फरमाउनुहुन्छ” मेरो लागि यो भन्दा ठूलो र सौभाग्य को कुरा के होला कि म अल्लाहको लागि कुर्बान हुन्छु र कुर्बान गर्ने पनि अल्लाहका पैगम्बर हुनेछन् । तर बुवा एउटा सुझाव छ मेरो कि जब मलाई कुर्बान गर्नुहोला तब तपाई आफ्नो आंखामा पट्टी बाधिंहाल्नुहोला नत्र छोराको मोहले तपाईलाई विचलित बनाउला । तपाई बूढो पनि हुनुहुन्छ र म तपाईको प्रिय हुं यस कारण जब तडपिन्छु तपाई देखेर सहन सक्नु हुदैंन् । सो जब मलाई कुर्बान गर्नुहोला तब तपाई आफ्नो आंखामा पट्टी बाधिंहाल्नुहोला ताकि छोराको मोहले तपाईलाई विचलित बनाउन नसकोस् र मेरो हात डोरीले बाधिंदिनुहोला । “
जब बाबु छोरा दुबै जना सहमत हुनुभयो अर्थात बुवाले कुर्बान गर्न र छोरा कुर्बान हुनका लागि ।
तब घाटीं रेट्न उहांले छोरालाई पल्टाउदां अचानक छोराले फरमाउनुभयो बुवा रोक्नुस् । इब्राहीम अलैहिस्सलामले भन्नुभयो किन र छोरा अघि भनेको होईन् जे गर्नु छ गर्नुस् भनी । जवाफमा इस्माईल अलैहिस्सलामले फरमाउनुभयो “बुवा डोरीले बांधेको हात खोल्दिनुस् नत्र पछि लेख्ने र भन्नेले भन्लान् कि बुवा कुर्बान गर्न चाहन्थे तर छोरा कुर्बान हुन चाहदैंथियो त्यस कारण बाधेंर रेटेका थिए । सो डोरीले बांधिएको हात खोल्दिनुस् ताकि सबैलाई थाहा होस् कि कुर्बान गर्ने र कुर्बान हुने दुबैले अल्लाहको इच्छा र आदेश अगाडि शिर निहुराई आदेशको पालना गरे। “
अनि बुवाले पुरै ताकतले घाटींमाथि छुरा चलाए छुरा चलाउदां रगत बग्यो उहांले अल्लाहको आदेशको पालना गर्दा आफु विचलित न हुदां धन्यवाद ज्ञापन गरेर आंखा खोलेर हेर्नुभयो । छोराको ठांउमा भेडा थियो छोरा अलि पर मुस्कुराइ रहेकाथिए ।
आकाशीयवाणी हुन्छ कि मलाई तिम्रो सच्चा आस्था मन पर्यो र मैले जिब्राइललाई भनेर स्वर्ग बाट भेडा पठाइ छोरालाई बचाए । मलाई यो आस्था र कुर्बानीको जज्बा यति मन परेछ कि म यसलाई कयामत सम्म तिम्रो सुन्नत भनेर कायम गरिदिए ।
उहांको यो कुर्बानीको जजबा यो आस्थालाई अल्लाहले यति मन पराउनु भयो कि आकाशीयवाणी भयो कि ऐ ईब्राहिम मलाई तिम्रो कार्य यो जज्बा यो आस्था यति मन पर्यो कि म यसलाई कयामत सम्म आउनेहरुका लागि तिम्रो सुन्नत बनाई दिए अब अन्तिम दिन सम्म आउनेहरुले कुर्बानी गर्नेछन् र तिम्रो समझ्ना गर्नेछन् जसलाई ईदुलजुहा ईदूल अज्हा र बोलचालको भाषामा बकराईद भनिन्छ र कुर्बानी गरिन्छ । उनलाई बहकाउन र यो पवित्र कार्य गर्नबाट रोक्न सैतानले धेरै प्रयास गर्यो र उहांले त्यतिखेर सैतानलाई भगाउन कंकर(पत्थरका टुक्राले) हान्नुभयो । आज उहांको त्यो कार्यलाई हाजीहरुले हज गर्न जादां हजका अरकान स्वरुप पुरा गर्छन् कंकरले हानेर ।
कुर्बानीका शर्तहरु
कुर्बानी गर्नका लागि यी पांच शर्तहरु छन् ।
१. इमानवाला (आस्थावान) हुनु गैर मुस्लिमका लागि कुर्बानीको आदेश छैन् ।
२. बालिग हुनु उमेर पुगेको हुनुपर्छ नाबालिगका लागि कुर्बानी आदेश छैन् ।
३. आकिल हुनु अर्थात मानसिक स्थिति ठीक हुनु मगज बिग्रेका वा पागलका लागि कुर्बानी गर्ने आदेश छैन् ।
४.स्थायी बसोबास हुनु अर्थात स्थायी घरमा बसोबास भएको हुनुपर्छ यात्रीका लागि कुर्बानीको आदेश छैन् ।
५. मालिके निसाब हुनु अर्थात आर्थिक रुपले सम्पन्न हुनु भन्नाले गरीबका कुर्बानीको आदेश छैन् ।
मालिके निसाब अर्थात जो संग साढे सात तोला सुन वा साढे बाउन्न तोला चांदी वा त्यति बराबर रकम छ भने त्यस्ता व्यक्ति माथि कुर्बानी गर्नु वाजिब (अनिवार्य)छ ।
मालिके निसाब हुनुको अर्थ कुनै व्यक्तिसंग साढे सात तोला सुन वा साढे बाउन्न तोला चांदी वा त्यति बराबर रकम हुनु हो । यदि यी सम्पति सुन चादीं वा रकम ऊसंग व्यापार गर्नको लागि छ भने त्यतिबेला उसमाथि ती सम्पतिको जकात दिनु अनिवार्य हुन्छ । तर यदि व्यापारका लागि नभइ सम्पति स्वरुप छ भने उसमाथि कुर्बानी गराउन अनिवार्य हुन्छ ।
आवश्यकता भन्दा बढी वा सामान छ तर प्रयोगमा छैन् ती सबैको गणना गरी मुल्य निकाल्नुपर्छ । यसरी हिसाब गरी आएको कुल मुल्यको रकम जोड्नुस् । त्यस बाट तपाईले तिर्नुपर्ने दायित्व र आवश्यक खर्च घटाउनु होस् । त्यसपछि बाकी रहन आएको मुल्य वा रकम बाउन्न तोला चांदी बराबर छ वा छैन् भनी हेर्नुस् यदि त्यति रकम वा रकम बराबर सामान वा वस्तु छ भने कुर्बानी वाजिब हुन्छ ।
हुन् त साढे सात तोला सुन वा साढे बाउन्न तोला चादीं भनिएको छ तर मुल्यको हिसाबले चांदीको मुल्य सुन भन्दा कम छ त्यस कारण कसैले यदि यो भन्छ कि मसंग साढे बाउन्न तोला चादीं त छैन् तर सुन दुई तोला छ अर्थात उसले भन्न खोज्छ कि मसंग साढे बाउन्न तोला चांदी पनि छैन् र साढे सात तोला सुन पनि छैन् मसंग त सुन मात्र छ त्यो पनि दुई तोला मात्र। तब यहां उसले अब साढे बाउन्न तोला चांदीको मुल्य हेर्नुपर्छ यदि त्यति बराबर सुन छ भने कुर्बानी वाजिब हुन्छ ।
कुरबानीको विषयमा सबभन्दा महत्वपूर्ण कुरा यो हो कि जसरी कुर्बानी गर्दा जनावरमा कुनै खोट हुनु हुदैंन् त्यसरी नै कुर्बानी गर्ने रकममा पनि खोट हुनु हुदैंन् भनाईको अर्थ यो कि जसरी हामीले यो ध्यान राख्नु जरुरी छ कि कुरबानीका लागि जुन जनावर ल्याउने हो त्यसमा कुनै रोग वा समस्या न होस् त्यसरी नै हामीले त्यो जनावर किन्ने रकम पनि यस्तो लगानी गर्नुपर्छ जुन हलाल कमाईको हुनुपर्छ । शयीयते इस्लामले निषेध गरेका कामबाट आर्जन गरेका रकम कुरबानीमा लगाउनु हुदैंन् उदाहरण ः व्याजको रकम वा व्याजमा चलाउने रकमबाट आएको नाफा वा अन्य ।
अब यात्री कसलाई भन्ने कुरा यसरी बुझ्न सकिन्छ । यदि ऊ आफ्नो घरबाट ९२कि.मी. टाढा जाने आशयले निस्केछ भने त्यतिबेला ऊ यात्री भइहाल्छ। अब ऊ तब सम्म यात्री रहन्छ जब सम्म कुनै शहर पुग्दैन् ।शहर पुगेपछि यो हेर्नुपर्छ कि त्यो स्थान उसको वतनेअसली (वास्तविक घर) हो वा होईन् । वतनेअसली भन्नाले उसको जन्मस्थान वा उसको ससुरालीघर हो वा होईन् जहां उसको जन्म भयो वा उसको विवाह भयो । यदि ऊ आफ्नो जन्म स्थान वा ससुरालीघर भएको ठांउमा पुग्छ भने ऊ यात्री रहदैंन् । अब हेर्नुपर्ने कुरा यो छ कि यदि त्यो ठांउमा उसको आमाबुवा वा सासु ससुरा (घरपरिवार वा ससुराली परिवार)को बसोबास छ त्यहांबाट बसाई सराई गरेका छन् वा छैन्न् । यदि बसाई सारेछन् भने पर्दैन् तर बसोबास छ भने कुर्बानी वाजिब हुन्छ । यात्राकै क्रममा यदि १५ दिन वा सो भन्दा बढी समयका लागि यात्राको नियत गरे भएछ भने ऊ यात्री रहदैन् । हां यदि १५ दिन भन्दा कम समयको लागि यात्राको नियत गर्छ भने छ यात्री हुन्छ र यात्री माथि कुर्बानी वाजिब छैन् ।
कुर्बानी गर्नुको(धार्मिक)फाईदाहरु
१. कुर्बानीको जनावरको हरेका कपालको सट्टा पुण्य प्राप्त हुनेछ ।
२. कुर्बानी गरेर गरिने दूआ रद्द गरिदैंन् ।
३. नर्कको आगोमा बचाउने छ ।
४. कुर्बानीको जनावरको नजिक रहने कुर्बानीको एक थोपा रगत भुइमा खस्न साथ सबै पाप माफ गरिने छ ।
५. पुण्यको गणना हुदां कुर्बानीलाई समेत राखिनेछ जसले उसको पुण्यलाई बढाउनेछ ।
६. अल्लाहको नजिक भइन्छ कुर्बत हासिल हुन्छ
७. पुलशिरातमा हिड्दा कुर्बानीको जनावरले मद्दत गर्नेछ ।
कुर्बानीको मासु के गर्ने?
कुर्बानीको नीयत मात्र अल्लाह समक्ष पुग्छ र नीयत मात्र हेरिन्छ मासु न पुग्छ न त्यसको आवश्यकता छ अल्लाहलाई । उसो भए मासुलाई के गर्ने भनी सोच आउछं । हो कुर्बानीको मासुको तीन भाग गर्नु पर्छ । जसमध्ये एक भाग आफ्नो , दोस्रो भाग आफन्त र तेस्रो भाग गरीबलाई बराबर हुने गरी छुट्टयाएर ज जसको भाग हो उनीहरु समक्ष पुर्याउनु पर्छ । भागबण्डा गर्दा ख्याल राख्नु पर्छ कि अरुलाई दिने भनी छुट्टायाइएको भाग अल्लाहका लागि छुट्टाइएको हुन्छ त्यस कारण दिने भनेर हाड र बोसो अनि आफ्नो लागि राम्रा मासुका टुक्रा छुट्टयाउनु हुदैंन् । बरु सबै मासु मिक्स गरेर बराबर भाग लगाउनुपर्छ । तर यदि परिवार ठूलो छ वा अघि पछि किनेर खान सक्ने अवस्था छैन् भनी आफैले राख्न नि सकिन्छ ।
कुर्बानीको सट्टा त्यति बराबर रकम मद्दत गर्न सकिन्छ ?
अहिले विश्वमा फैलिएको महामारी कोभिड १९ कोरोना भाईरसका लकडाउन गरियो जसले गर्दा व्यापार ठप्प भयो निकै संवेदनशील समय छ र हरेक व्यक्तिको बेहाल छ । यस कारण हामीले गरीब असहायलाई मदत गर्न चाहन्छौं तर आर्थिक अवस्था यस्तो छ कि चाहेर नि मद्दत गर्न सकिरहेकाछैनौं । त्यतिबेला यो सोच आउंछ कि कुर्बानीको सट्टा कुनै असहायलाई मद्दत सकिन्छ कि नाई भनेर ।
तब हामीले हेर्नु पर्ने यो छ कि गरिने कुर्बानीको किसिम कुन हो अर्थात तपाईले गर्नु पर्ने कुर्बानी वाजिब छ भने कुर्बानी नै गर्नु पर्छ । तर यदि कुर्बानी नफली छ भने त्यतिबेला त्यो कुर्बानीको बराबर रकम छुट्टायाएर सहयोग गर्न सकिन्छ । उदाहरण ः यदि कुर्बानी नफली गर्नुछ तर कोही त्यस्तो असहाय व्यक्ति आएछ जसको बच्चा बिरामी छ र उपचारको लागि उसंग कुनै व्यवस्था छैन् भने त्यतिखेर त्यो नफली कुर्बानी बराबर रकमबाट मद्दत गर्न सकिन्छ ।
ईदुलजुहा(बकराईद)को दश दिन सम्म नङ र कपाल काट्न सकिन्छ?
ईदुलजुहा(बकराईद)को कुरा गर्दा समाजमा भ्रम छ कि जसले कुर्बानी गराउंछ उसको लागि मात्र यो आदेश छ कि दश दिन सम्म नंङ र कपाल न काट्ने । तर हुक्मे शराई छ कि यसो गर्नु सबैको लागि उत्कृष्ट हुन्छ जो कुर्बानी गराउंछ उसको लागि त नकाट्न भनी आदेश नै छ । तर यी दश दिन सम्म त्यो व्यक्ति कपाल र नङ काट्दैन् जो कुर्बानी गराउन असमर्थ छ उसको हकमा पनि कुर्बानीको सवाब लेखिन्छ । यस कारण ईदुलजुहाको दश दिन नंङ र कपाल न काट्नु नै वेस ।
कुर्बानीको धार्मिक ,अध्यात्मिक र सामाजिक कारण :
कुर्बानीको धार्मिक कारण हामी माथि पढिसकेछौं यो अल्लाहको आदेश हो । यसको आध्यात्मिक कारण यो छ कि हामीले कुर्बानी गर्दा ईब्राहिम अलैहिस्सलामको सुन्नत अदा हुन्छ र उहांको जस्तै मेरो कुर्बानीको पनि त्यसरी नै महत्वपुर्ण ठानी स्वीकार गरिएको होला भनी विश्वासले अध्यात्मिक सुख प्राप्त हुन्छ । किनभने अल्लाहको फरमाउन छ “कुर्बानीको रगत हाड र मासु मसंग पुग्दैन् र मेरो नजिक तिनको आवश्यकता पनि छैन् मेरो नजिक त तिम्रो त्यो नीयत मात्र पुग्छ । जुन तिम्रो हृदयमा हुन्छ म तिम्रो त्यही नीयतमा हेर्छु ।”
यसको सामाजिक कारण पनि छ: कुर्बानीको सामाजिक महत्व यस कारण छ किनभने यस पर्वमा गरीबहरु जो मासु किनेर खाना सक्दैन्न् तिनीहरुको ख्याल राखिनुका साथै आफन्तहरुक समेत ख्याल गरिन्छ । यस दिन आफन्त र साथीभाई बीच भेटघाट हुन्छ यस कारण भेटेर एक अर्का बीचको मनमुटाव हटाउने अवसर पनि हो यो पर्व । गरीब-गुरबाहरुलाई सहयोग गरिन्छ । जसले गर्दा सामाजिक सद्भाव बढ्छ र अझ बढी अपनत्व एंव मानवताको भावनाको विकास हुन्छ ।
यस कारण यस ईदुलजुहामा हामीले आफ्नो रिस राग, द्वेष, घृणा तृष्णा, नकारात्मक भावना, सोच, बानी र विचारहरुलाई त्यागेर सद्भाव र मानवताको मिशाल कायम गरौं ।