द्विविधामा होटल व्यवसायी

देबेन्द्र राज पौडेल

कर्मचारी बिदामा छन्, अवस्था सहज छैन, लामो दुरीका यातायात चलेका छैनन् अनि कसरी चल्ला होटल ?

सरकारले लकडाउनको अन्त्य गरेसँगै होटल व्यवसाय सञ्चालनमा आउने भएको छ । आगामी साउन १५ गतेदेखि होटल, व्यवसाय सञ्चालनको तयारीमा बाँकेका होटल व्यवसायीहरु रहेका छन् । लकडाउन अन्त्य भएपनि कोरोनाको जोखिम कायमै रहेकाले सुरक्षित सेवा प्रवाहको तयारीमा होटल व्यवसायीहरु जुटेका छन् । यद्यपि, कर्मचारी बिदामा रहेको, ग्राहकहरु आउने सम्भावना न्यून भएकाले कारणले पूर्ण क्षमता अनुसार भने तत्काल सञ्चालनमा नल्याउने मनस्थितिमा होटल सञ्चालकहरु रहेका छन् । खाना, नास्ताका होटलहरु यसअघि नै सञ्चालनमा आएका छन् । तर, पहिले जस्तो व्यापार अहिले नरहेको उनीहरु बताउँछन् ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेल सरकारले साउन १५ देखि होटल सञ्चालनका लागि अनुमति दिएपनि चुनौतिहरु धेरै रहेको बताउँछन् । ‘एउटा आशा त छ, तर चुनौति धेरै छन्’, उनले भने, ‘होटल सञ्चालनको अनुमतिले आशा जगाएपनि सञ्चालन पछि चल्ला, नचल्ला व्यवसायी असमञ्जसमा छन् ।’


उसो त बाँकेमा केही होटल यसअघि नै सञ्चालनमा रहेका थिए । ग्राहक आउँदा उनीहरु बस्न, खान नपाएर फर्कनुपर्ने अवस्था थिएन । नियमित ग्राहकहरुलाई असार १ देखि सेवा दिंदै आएका थिए । मध्यम र ठूला होटलहरु भने कर्मचारीलाई बिदा दिएर बन्द गरेका थिए । नास्ता तथा रेष्टुरेन्ट पसलले भने पूर्ववत् सञ्चालनमा ल्याएका थिए । यद्यपि, कारोबार भने पूर्ववत् नरहेको संघका अध्यक्ष कंडेल बताउँछन् ।


‘लामो दुरीको यातायात चलेका छैनन्, हवाई यातायात बन्द छ, घुमफिरको वातावरण छैन’, संघका अध्यक्ष भीमलाल कंडेल भन्छन्, ‘अवस्था सहज नहुँदा सम्म होटल सञ्चालन गर्दा थप व्यायभार भाग्नुपर्ने जोखिम भने छ ।’ उनी होटल व्यवसायी पर्ख र हेरको अवस्थामा पनि रहेको बताउँछन् ।


बाँकेमा अधिकांस होटल भाडाका घरमा छन् । लकडाउन अवधीको भाडा तिरेका छैनन् । विद्यु्त लगायतका नियमित खर्चहरु तिर्न धौधौ छ । केही घरधनीले एक÷दुई महिनाको भाडा छाडेपनि अधिकांसले माग्न सुरु गरेका छन् । होटल सञ्चालन गर्ने हो भने तत्काल होटलको भाडा तिर्नुपर्ने अवस्थाले पनि होटल व्यवसायीलाई पिरोलीरहेको संघका अध्यक्ष कंडेल बताउँछन् ।
लडडाउन पछि होटलहरुले कर्मचारीहरुलाई बिदा दिएका कारण तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सोंच बनाएका छैनन् । ‘कर्मचारी बोलाएर क्षमताको केही प्रतिशत सञ्चालन गरेर हेर्ने सोंच छ, चले कर्मचारी थप्दै होटल चलाउँछन्’, होटल व्यवसायी भन्छन् ।
बाँकेका दर्जनौं होटल चल्न नसक्ने अवस्थामा पुगेपछि बन्द गर्ने निर्णयमा पुगिसकेको संघका अध्यक्ष कंडेल बताउँछन् । ‘बन्द हुँदाको खर्च धान्न नसक्ने अवस्था आएपछि कतिपय होटल बन्द गर्ने अवस्थामा पुगिसकेका छन्’, उनले भने ।


बाँकेका होटलहरुमा आउने ग्राहकहरु पहाडी जिल्लाका र भारतीय नागरिकहरु हुन् । लकडाउनका कारण दुवै ठाउँबाट ग्राहकहरु आउने अवस्था छैन । ‘कामको सिलसिला र घुम्ने हिसाबले बाँकेसम्म मानिसहरु आइपुग्ने अवस्था छैन’, होटल व्यवसायी संघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले भन्छन्, ‘अवस्था सहज हुँदै गएपछि मात्रै होटल चल्ने सुनिश्चित हुन्छ ।’
होटल सञ्चालनमा रहेका होटल व्यवसायीहरुले सुरक्षामा पूर्ण ध्यान दिने संघका प्रदेश अध्यक्ष काफ्ले बताउँछन् । ‘आफु र आफ्ना ग्राहकको स्वास्थ्यका पूर्ण ख्याल राखिनेछ’, उनले भने, ‘सामाजिक दुरी, सेवाग्राहीले प्रयोग गरेको रुमको सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ ।’
कैलास मानसरोवर जाने भारतीय यात्रुहरु नेपालगन्जको रुट भएर जाँदा यहाँका होटलहरुमा बस्ने गर्छन् । यसपटक यात्राका लागि यात्रुहरुहरु आउने सम्भावना नरहेको संघका प्रदेश अध्यक्ष काफ्ले बताउँछन् । यसले करोडौं लगानी गरेर सञ्चालनमा रहेका ठूला होटलहरु प्रत्यक्ष मारमा पर्ने उनी बताउँछन् ।


‘गोष्ठी, सेमिनार लगायतका कार्यक्रम गर्न अझै रोक लगाइएको छ’, सिद्धार्थ विजनेशन गु्रपका पश्चिम रिजनल म्यानेजर केशव न्यौपाने भन्छन्, ‘मानिसहरु बाहिरबाट नआउने र यहाँ पनि गोष्ठी सेमिनार नहुने हो भने होटल चल्न समस्या छ ।’ न्यौपाने साउन १५ देखि होटल सञ्चालनमा ल्याउने तयारी रहेको बताउँछन् । त्यसका लागि बिस्तारै घर पठाइएका कर्मचारीहरुलाई फिर्ता बोलाएको उनले जानकारी दिए । ‘होटलमा ग्राहकको अवस्था हेरेर भदौ १ सम्म सबै कर्मचारी बोलाउने सोंच छ’, उनले भने, ‘भदौं १ देखि लामो दुरीका सवारी साधनसँगै वायुसेवा पनि सुरु हुने भएकाले त्यसपछि ग्राहकहरु बढ्दै जाने आशा राखेका छौं ।’
सिद्धार्थ विजनेशन गु्रपका पश्चिम रिजनल म्यानेजर न्यौपाने होटल सञ्चालनका लागि सुरक्षाको मापदण्ड बनाएको बताउँछन् । ‘ग्राहक र कर्मचारीहरुको सुरक्षामा हामी कुनै सम्झौता गर्दैनौं, सिद्धार्थ गु्रपका सबै होटल सुरक्षित रहनेछन्’, उनले भने ।
यसअघि सरकारले सामूहिक भोज पार्टी, सेमिनार, वा अन्य सामूहिक भेलाबाहेक होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ, ट्राभल र पर्वतारोहणका गतिविधि पनि साउन १५ देखि सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।


बाँके प्रहरीले साउन १५ देखि होटल सञ्चालनमा आउने भएपछि उनीहरुसँग छलफल समेत गरेको छ । लामो समय पछि अन्त्य भएको लकडाउनका साथै नजिकदै गरेको चाडपर्वलाई मध्य नजर गर्दै बैँक, वित्तिय क्षेत्र तथा होटल, रेष्टुरेन्टहरुमा हुन सक्ने सम्भावित अपराधिक क्रियाकलापलाई रोकथाम तथा न्युनिकरण गर्न होटल व्यवसायी संघका पदाधिकारी र बैंक तथा वित्तिय क्षेत्रका पदाधिकारीहरुसंग प्रहरीले अन्तरक्रिया गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया