प्रहरी प्रशासनलाई गुणस्तरिय सेवा दिन कानून ब्यवशायीको जोड

देखिने गरि काम गर्छौ ः प्रजिअ कुरुम्वाङ्ग


भाषण भन्दा एक्सनमा जान्छौ ः प्रहरी उपरिक्षक राना

बाँकेका कानून ब्यवशायीहरुले नागरिकलाई गुणस्तरिय सेवा दिन  बाँकेका प्रहरी प्रशासनका प्रमुखलाई आग्रह गरेका छन् ।

नेपालगंज उच्च तथा जिल्ला बार एशोसिएसनले बाँकेमा हालै सरुवा भै आएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग र प्रहरी उपरिक्षक ओम बहादुर रानासंग गरेको परिचयात्मक कार्यक्रममा बोल्दै कानून ब्यवशायीहरुले प्रहरी प्रशासनले नेताको भनसुनको आधारमा नभै कानूनले निर्दिष्ट गरेको कार्यबिधि बमोजिम आम नागरिकको शान्ति सुरक्षा, अपराध नियन्त्रण र न्यायमा सहज पहुँचको लागी कार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै अधिवक्ता वसन्त गौतमले कानूनी शासन बिना मानव अधिकारको संरक्षण नहुने भएकाले प्रहरी प्रशासनका हरेक काम कारवाही कानूनले निर्देश गरे बमोजिम हुनु पर्नेमा जोड दिए । प्रहरी प्रशासनका हरेक राम्रा काममा नागरिक समाजको साथ रहने भन्दै उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका सदस्य समेत रहेका गौतमले स्वच्छ सुनुवाई, कानून ब्यवशायीसंग थुनुवाको कानूनी परामर्शको ब्यवस्था, अदालतबाट भएका फैसलाको कार्यान्वयनमा जोड दिए ।  

कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले बिगतमा नेपालगंजमा भएका केहि घटनामा बारको समन्वयकारी भुमिकाबाट समाधान निस्केको बताउदै आगामी दिनमा पनि, अपराध नियन्त्रण शान्ति सुरक्षाको स्थापना कानूनी शासन र मानव अधिकारको संरक्षणको लागी बारले समन्वयकारी भुमिका निभाउने बताएका थिए ।
वरिष्ठ अधिवक्ता श्याम गौतमले मिडियाले लेखेकै आधारमा प्रहरी प्रशासन पछि लाग्ने नभई ऐन, कानून र अदालती निर्णयका आधारमा चल्नु पर्नेमा जोड दिए । नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष टिकाजंग सिंहले प्रहरी प्रशासनको नया नेतृत्वबाट बाँकेले सुधारको अपेक्षा राखेको भन्दै सत्ता र शक्तिलाई आफ्नो स्वार्थमा प्रयोग गर्न नहुने बताएका थिए ।


कार्यक्रममा बोल्दै अधिवक्ता बिश्वजित तिवारीले नागरिकता, छाडापशुको ब्यवस्थापन लगायत सार्वजनिक सरोकारका बिषयमा अदालतले दिएका आदेश पालनामा जोड दिएका थिए ।
उच्च बारका अध्यक्ष बिकाश आचार्यको अध्यक्षतामा भएको परिचयात्मक कार्यक्रममा बाँके जिल्ला बार अध्यक्ष मोहम्मद अयूव सिद्धिकी, नेपालगंज उच्च बारका सहसचिव कुसुमा सुवेदी, अधिवक्ताहरु झबिन्द्र पौडेल, तेज कुमार धिताल, बल बहादुर चन्द, उदयराज बर्मा लगायतका कानून ब्यवशायीहरुले बाँकेमा हुने तस्करी र बढ्दो लागु औषधको नियन्त्रण, अपराध रोकथाम, शान्ति सुरक्षाको स्थापना र कानूनी शासनको स्थापनामा जोड दिएका थिए । नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्यले बारले पहिलो चोटी प्रहरी प्रशासनका प्रमुखलाई स्वागत गरेको बताउदै नया मुलुकि फौजदारी कानून कार्यान्वयमा बार र प्रहरी प्रशासनसंग मिलेर कार्य गर्न चाहेको बताएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले गुणस्तरिय सेवा र देखिने गरि काम गर्न आफु प्रतिवद्ध रहेको बताएका थिए । अदालती आदेशको पालना र कानूनी शासन स्थापनामा कानून ब्यवशायीसंग मिलेर काम गर्न चाहेको प्रजिअ कुरुम्वाङ्गले भनाई राखेका थिए ।


परिचयात्मक कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक ओम बहादुर रानाले आफु भाषण भन्दा एक्सनमा जाने भन्दै अपराध र अपराधी प्रति आफु कठोर रुपमा प्रस्तुत हुने बताए । फरार अपराधीको खोजी, शान्ति सुरक्षा कायम राख्न र कानूनी प्रक्रिया बमाजिम अपराध नियन्त्रणमा आफु लाग्ने प्रतिवद्धता जनाएका थिए । ‘अदालतबाट भएका फैसला कार्यान्वयन  र कानूनी शासनको बिषयमा बारको सहयोग र समर्थन रहने अपेक्षा गर्दछु’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक रानाले भने ।  

प्रतिक्रिया

प्रतिक्रिया