यस ब्राह्मणमा धेरै जीवित प्राणीहरु बसोबास गर्छन् जसमा रुखविरुवा र जीवजन्तु पनि छन् ।जीव जन्तुहरु पनि खानपान गर्छन् सन्तान जन्माउंछन् उनीहरुमा पनि माया ममता हुन्छ ।तरजीव जन्तु र मानवमा एउटा मात्र भिन्नता छ जसले मानवलाई सर्वश्रेष्ठ प्राणी बनाएकोछ त्यो हो बुद्धि विवेक। सम्पूर्ण सजीव प्राणीहरुमा मानवजाती नै विवेकशील प्राणी हो ।
जनावरहरुलाई सही गलत र राम्रो नराम्रोको पहिचान हुदैंन् । सही गलत र राम्रो नराम्रो छुट्याउन सक्ने क्षमता मानिसमा मात्र रहेको हुन्छ । अब हेर्ने लायक कुरा यो हो की मानिसहरुले त्यो विवेक कहां र कति सम्म उपयोग गरिरहेकाछन् ।
हामी यहां माथिको शीर्षक उपर चर्चा गर्नेछौं कि छिमेकीको महत्त्व कति छ र हामी कहां चुकीरहेकाछौं । आज यहां कुनै समुदायलाई लक्षित गरी साम्प्रदायिकता र धार्मिक आस्था माथि आंच आउने खालका कुरा गरिदैन् । तर हामी साच्चिकै आ आफ्नो धर्मको आदेशानुसार कर्म गरिरहेका छौं वा छैनौं भनी मनन पक्कै गराउनेछ ।
इसाई धर्म ग्रन्थमा उल्लेख छ ।
जफिसी ४ को २२ छली लालसाहरुद्वारा भ्रष्ट भएका तिमीहरुको अगाडिको जीवनको ढांचासंग सम्बन्धित तिमीहरु पुरानो स्वाभाव त्याग । २३ र आफ्नो भित्री बर्तावमा नंया होओ । २४ र परमेश्वरको स्वरूपमा सांचो धार्मिकता र पवित्रतामि सृष्टी भएको नंया स्वाभावलाई धारण गर । २५ यस कारण झूठ त्यागेर हरेकले आफ्नो छिमेकीसंग सत्य बोल किनकि हामी एक अर्काका शरीरका अंग हौं । २६ क्रोध गर तर पाप नगर घाम अस्ताउन अघि नै तिमीहरुको रिस मरोस् । २७ र दियाबलसलाई मौका न देओ । २८ चोर्नेले अब उसो नचोरोस् बरु उसले परिश्रम गरोस् । उसले आफ्नो हातले इमानदारी साथ परिश्रम गरोस् र खांचोमा परेकाहरुलाई दिन सकोस् । २९ तिमीहरुको मुखबाट कुवाक्य ननिस्कोस् तर समय सुहाउदों र सुधार गर्ने मीठो बचन मात्र बोल्ने गर जसबाट सुन्नेहरुलाई अनुग्रह मिलोस् । ३० अनि परमेश्वर का पवित्र आत्मालाई दुखी नतुल्याओ , जसमा उद्धारका दिनको निम्ति तिमीहरु छाप लगाईएकाछौ । ३१सबै तीतोपना क्रोध र रिस होहल्ला र निन्दा सबै किसिमको डाह समेत तिमीहरुले त्यागिदेओ । ३२ जसरी परमेश्वरले खीष्टमा तिमीहरुलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरु एक अर्काप्रति कोमल मनका र दयालु होओ ।
मत्ती ७:१२. मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।
श्रीमद् भगवद् गीतामा मानव कल्याण र अहिंसाबारे उल्लेख गरिएका श्लोक जसले मानवताको पाठ सिकाउंछ ।
अहिंसा परमो धर्मः अर्थात अहिंसा नै परम धर्म हो ।
एको धर्मः परम श्रेय क्षमैका शान्तिरुक्तमा ।
विद्वैका परमा तृप्तिरहिसैका सुखावहा ।।
अर्थः केवल धर्म नै कल्याणकारक हो , एकमात्र क्षमा नै शान्तिको सर्वश्रेष्ठ उपाय हो । एक विद्मा नै परम संतोष दिने हो र एकमात्र अहिंसा नै सुख दिने हो ।
अध्याय २ श्लोक ५२ ।
यदा ते मोहकलिलं बुद्धिव्यर्तितरिष्यति ।
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ।।
अर्थः जुन कालमा तिम्रो बुद्धि मोहरुप दलदललाई राम्ररी पार गरिहाल्छ त्यो समय तिमी सुनिएका र सुन्न सकिने यस लोक र परलोक सम्बन्धी सबै भोगबाट वैराग्य प्राप्त भइहाल्छ ।
अध्याय २ श्लोक ५६
दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।
वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते ।।
अर्थ ः दुखहरुको प्राप्ति हुदां जसको मनमा उद्वेग हुदैंन् । सुखहरुको प्राप्ति हुदां जो सर्वथा निः स्पृह छ तथा जसको राग भय र क्रोध नष्ट भइसकेछन् त्यस्ता मुनि स्थिरबुद्धि कहलिन्छन् ।
अध्याय २ श्लोक ६३
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।
अर्थ ः क्रोधबाट अत्यन्त मूढभाव उत्पन्न हुन्छ , मूढभावबाट स्मृतिमा भ्रम भइहाल्छ , स्मृतिमा भ्रम हुनाले बुद्धि अर्थात ज्ञान शक्तिको नाश हुन्छ र बुद्धिको नाश हुनाले यो मनुष्य आफ्नो स्तरबाट खसिहाल्छ ।
गीतामा एउटा श्लोक छ “वसुदेव कुटुम्बकम् अर्थात पुरा संसार एक परिवार हो ।”अब हामीहरुलाई विचार गर्नुपर्ने छ कि कुन व्यक्तिले आफ्नै परिवारलाई कुनै तवरले समस्या पार्ने सोच राख्छ । धर्मले सिकाउने कुरा भिन्दै छ र मानिसले त्यसको पालना गरिरहेका भिन्दैछन् ।
बौद्ध धर्मको कुरा गरौं भने राजा सुद्धोधनका छोरा सिद्धार्थ राजमहलको सुख सुविधा छोडेर आध्यात्मिक ज्ञान प्राप्तिका लागि बोधगया गए ।जहां उनी ज्ञान प्राप्त गरी सिद्धार्थ बाट गौतम बुद्ध भए ।
राजा दशरथका छोरा राम राजश्री सुखलाई त्यागेर चौदह वर्षका लागि वनवास गए संसारिक मोहमाया त्यागेर संसारलाई नजीर दिए कि धार्मिक र आध्यात्मिक सुख भनेको संसारिक मोह माया त्याग्नु हो ।
इस्लाम धर्म अनुसार मानवताको शिक्षा र पाठ सिकाउने उदाहरण स्वरूप केही आयात र हदीश शरीफको मफूम ।
अलकुरान करीमः
सुरहः अलहुजुरत आयात ४९ः१०
कुरा यो छ कि सबै इमानवाला (आपसमा) भाई हुन् त्यस कारण तिमी आफ्ना दुई भाई बीच मिलापत्र गराउने गर, र अल्लाहसंग डराउदैं गर ताकि तिमीमाथि दया गरियोस् ।
सुरहः अलहुजुरत आयात ४९:१३
हे मानव मैले तिमीलाई एउटै पुरुष र एउटै महिलाबाट सृष्टि गरे र तिमीलाई वंश र गोत्रमा विभाजित गरे ताकि आपस पहिचान राख । निसन्देह अल्लाहको नजिक तिमी मध्ये बढी उत्कृष्ट त्यो हो जो तिमी मध्ये बढी परहेजगार छ निसन्देह अल्लाह जान्नेवाला खबरदार(जानकार) छ ।
सुरहः काफेरून आयात १०९ः६
तिमीलाई तिम्रो धर्म मलाई मेरो धर्म ।
इस्लाममा छ सबैलाई अल्लाहले एउटै पुरुष र महिलाको जोडीबाट सृष्टि गरे सबैले एक अर्कोको सहयोगी बनेर बस् । झगडा हुने बीच मिलापत्र गराऊ र अल्लाहको अजाबबाट डराऊ। परहेजगार बन् पापबाट आफुलाई जोगाएर राख।
अर्को ठांउमा लेखिएछ कि ” तिम्रो छिमेकी(कुनै पनि धर्म समुदायको होस् मुस्लिम नै हुनु जरूरी छैन्)यदि ऊ भोको छ भने तिम्रो खाना हराम छ ” अब भन्नुस् कहां इस्लामले सिकाउंछ कि कसैले अरुको धर्मलाई नराम्रो भनोस् । छिमेकी पनि कुनै पनि समुदाय वा धर्म मान्ने होस् यदि ऊ भोकै सुत्यो भने खाएको खाना नै हराम (वर्जित) भइहाल्छ ।
इस्लामकै कुरा गरौं भने चौदह शय वर्ष पहिला अबुजहेल जो की एक धनी व्यक्ति थियो र ठूलो कुल घरानमा उसको जन्म भएको थियो ।साउदी अरब जहां केही यस्ता गरीब व्यक्तिहरु पनि बस्थे जो संग अंग ढाक्नका लागि पनि ढंगको कपडा हुन्थिएन् ।ती गरीबहरुलाई ऊ आफुलाई धनी हुं भनी घमण्ड र शान देखाउनका लागि यति ठुलो ठुलो लुगा लगाउथ्यो जसलाई पछाडि बाट समाएर हिड्ने व्यक्ति(नोकर) हरु हुन्थे । तर इस्लाममा गरीबहरुका मनलाई दुखाउन हुदैन्ं भनी पाठ सिकाउंछ । जसको फलस्वरूप इस्लामले आदेश दियो कि अब देखि यस्ता कपडा लगाउन पाईदैंन् जो कपडा अलि कति पनि जमिनलाई छोओस् । अर्थात शरीर छोप्ने बाहेकको फाल्तु कपडा लगाउन प्रतिबंध गर्यो ।
यहां यी कुराहरु उजागर गर्नुको आशय यो कदापि होईन् कि तपाई वनवास जानुस् वा राम्रो कपडा नलाउनुस् । यहां यी कुराहरु उजागर गर्नु एक मात्र कारण छ कि तपाईको कार्यले कसैको चित्त न दुखोस् । कसैलाई हीनता बोध नहोस् कसैलाई समस्या न होस् ।
अब हामी आफै विचार गरौं के हामी धर्मको पालना गर्दैछौं त जवाफ अवश्य पाउनु हुनेछ । अब हामी समाजको यथार्थता र वास्तविक अवस्था बारे कुरा गरौं ।
हाल यो कि मेरो अधिकार छ म मेरो घरमा जे नि गरुं भनी ठुलो स्वरमा आवाज गरी टेलीविजन हेर्छौं । तर छिमेकीको घरमा कोही बिरामी छ, बच्चाहरुको परिक्षाको तयारी छ, कुनै विशेष विषयबस्तु मा छलफल चलिरहेको छ त्योसंग हामी कुनै मतलब हुदैन् ।
यति मात्र कहां हो र मेरो छिमेकी हार्ट पेसेन्ट हो उसलाई यसको धकमले गाह्रो गराउंछ वा बच्चाहरु डरले रुन्छन् कि भन्ने वास्तै नगरी धर्मकर्म ,चांडपर्व,विवाह वर्तबन्ध र पार्टीको नाम ठुल्ठुला डेगसाउण्ड सिस्टम(डि.जे.)हरु ढोका अगाडि सडकमा र छतमा राखेर पुरै शहर नै घन्किने गरी गीतहरु बजाउछौं ।
ल दिनमा त केही गरी सहन गर्न सक्छन् वा छिमेकीले विकल्प खोजि गरी बिरामी र विद्यार्थी बच्चालाई आफन्तकोमा पठाई दिन्छन् तर अबेर राति जब हामीले त्यसरी शहर घन्किने र घरै हल्लिने गरी गीत बजाउंछौं तब तिनीहरुलाई कति गाह्रो हुन्छ होला भनी हामी सोच्दैनौं । किन भने हामीमा यो अहम् हुन्छ कि म शहरको यति धनीमानी मान्छे यति हुडदंग नगरे त समाजमा मेरो के इज्जत रहन्छ ।
यतिमै हाम्रो खुशियाली कहां सीमित रहन्छ त अझ गर्छौं के त्यो नि हेरौं हामी गरेको भोजभतेर पछि निस्किने सम्पूर्ण फोहोरलाई अन्ध्यारो। भएको र कसैले नदेख्ने गरी मौका छोपि ल्याएर सडकमा वा छिमेकीको घर अगाडि फ्याल्दिने गर्छौं छिमेकीले गाली गर्दा म होईन् भनी रौब देखाउन पनि पछि पर्दैनौं ।
सानासाना कुराहरु झूठ बोल्न हामी बीच नै छन् । हाम्रो बोली त यस्तो हुन्छ शब्द दर शब्द विष ओक्लिने पनि हामी मध्ये नै छन् ।
बच्चाहरुको झगडा होस् वा श्रीसम्पतिका नाम होस् वा धर्मका नाममा होस् सद्भाव बिथोल्न साम्प्रदायिक हिंसामा बढीचढी हिस्सा लिने र व्यक्ति गत र सार्वजनिक सम्पत्ति जहसनहस गर्ने र मान्छेले मान्छेलाई मार्ने पनि हामी बीच नै छन् ।
धन(अमीरी)को नाममा अनावश्यक तडकभडक देखाउन फिजूलखर्ची गर्नेहरुको पनि यहां कमी छैन् । छिमेकीको घरमा कति दिन देखि खाना पाके छैन् उसको घरमा टुकी बाल्न तेल छ कि छैन् उसको छतबाट चुहिने पानीमा परिवार रुझ्दै कसरी बसेछ र चिसोमा कठन्ग्रिरहदां उसंग शरीर ढाक्न सक्ने बाक्लो लुगा छ वा छैन् भनी सोच्ने र मनन गर्ने मस्तिष्क नै कताकता हराएछ । अब त अवस्था यो कि हरेक अवसरमा आफ्नो घरलाई रंगरोगन गराइ घरको कुनाकुनामा लाईटिंग गराउने र र ठुलो ठुलो होटेलमा भोज आयोजना गरी लाखौं खर्च गरी तयार गरिएको डिजाइनर सुटबूट लगाइ सम्पतिको नुमाईश गर्ने पनि यहीं छन् ।
एकातिर कसैलाई खाना नपुगेर भोकले कैयौं मानिसहरु मरिरहेका हुन्छन् । रोगको उपचार नपाएर मर्नेहरु पनि तथ्यांक ठुलै छ ।शक्ति प्रदर्शनका नाममा मानिसहरु मारेर सम्पूर्ण मानवताको नै हत्या गर्नेहरु पनि धेरै छन् ।
गरीबहरुलाई गरीब भनी घृणा गर्ने पनि हामी माझ नै छन् । असहाय र पीडितहरुको समस्यालाई नजरअन्दाज गरी उनीहरुको खिल्ली उडाउनेहरु पनि हामी बीच नै छन् ।
विभिन्न निहुमा एक अर्कोलाई सताएर आन्नदित हुनेहरु पनि कहां कम छन् । स साना उत्सवको अवसरमा ठुलाठुला पटाखा फोडेर खुशी व्यक्त गर्नेहरुलाई यो कुरा संग कुनै मतलब हुदैंन् कि यी पटाखाले कति सम्म ध्वनिप्रदूषण र वायुप्रदुषण गर्छ जसले पछि गएर पृथ्वीलाई कति नोक्सानी पुर्याउनेछ । उनलाई त यो कुरासंग पनि खासै मतलब हुदैंन् कि ती फोडिने पटाखाको कति मानिसहरुलाई घाइते पारेछ उनलाई त यो कुरासंग पनि कुनै सरोकार हुदैन्ं कि पटाखाको ठूलो आवाजले बालमस्तिष्क , वृद्धमस्तिष्क अनि फोक्सोका बिरामीलाई कस्तो नकारात्मक असर पार्छ ।
जसरी भएपनि फलानोलाई परास्त गर्ने र उसलाई पीडा दिने र दिलाउने कारण बन्नेहरु पनि हामी बीच नै छन् । पति र सासुले बुहारीलाई दाईजोको नाम प्रताड़ित गर्नु वा छोरा बुहारीले बुढी सासुलाई बृद्धाश्रममा बस्न बाध्य गराउनु अथवा कुरा लगाएर एक समुदाय परिवार बीच समस्या सृजना गर्ने गराउने व्यक्तिहरु पनि हामी माझ नै छन् ।
एकले अर्काको सुख देखि सहि नसक्ने अवस्था र समय छ यो कसैको मदद गर्नु भलो गर्नु त परै जाओस् यदि साना तिनो सहयोग गरिदियो भने त्यसलाई शोशल मीडिया देखि लिएर लोकल र नेशनल मीडियाबाट यति प्रचार प्रसार गर्छन् कि सहयोग लिने व्यक्ति लाज र गलानी महशुस गर्न थाल्छन् । यसो गर्दा भलो त हुदैन् बरु सहयोग लिने व्यक्तिको आत्मसम्मानमा ठेस पुर्याउने कार्य मात्र हुन्छ ।
हामी यति आधुनिक भईसकेकाछौं कि आफ्ना बच्चाहरुलाई अंग्रेजी बोलेको हेर्दा औधी खुशी हुन्छौं र छिमेकीलाई जिस्काउछौं कि मेरो बच्चा त फरररर अंग्रेजी बोल्छ । तर त्यही फरररर अंग्रेजी बोल्ने बच्चा आफ्नै आमाबुवालाई उनको नाम लिएर सम्बोधन गर्न थाल्छन् । अहिले अवस्था यो कि धनी छिमेकीले गरीब छिमेकीलाई सम्मान गर्दैन्न् , विद्यार्थीले गुरु(शिक्षक)को सम्मान गर्दैन्न् नफरत (घृणा)को हद यहां सम्म पार भ इसकेछ कि एक धर्म मान्नेले अर्को धर्म मान्नेलाई सम्मान गर्न छाडिसकेकाछन् ।
समाजमा यति सम्प्रदायिकता फैलिरहेको छ कि एक परिवारले अर्को परिवारलाई एक वर्गले अर्को वर्गलाई, एक समुदायले अर्को समुदायलाई, एक धर्मावलंबीले अर्को धर्मावलंबीलाई आफ्नो शत्रु ठान्नथालेका छन् । अराजकताको हद यो छ शत्रु ठानेर विभिन्न निहुमा मानवतालाई लज्जित बनाउने खालका यातना दिई रहेकाछन् ।
यति साम्प्रदायिकता, विभेद, घृणा र अराजकताको परिणाम यो छ समाजमा एक तवरको त्रासको कारण भयावय महोल सृजित छ कि फरक धर्म समुदाय वर्गको बाहुल्यता कम भएको ठांउमा उनीहरुलाई बाच्न नै गाह्रो भइसकेको छ ।
आज जताततै मानवमा बदलाको भावना विकास हुदैंछ । त्यो बदला लिने भावना यति सम्म क्रुर बनाइरहेछ मानिसलाई कि कसैबाट जानेर वा नजानेर आफुलाई पीडा दिने , हानी नोक्सानी कार्य भयो भने आफुले उसलाई त्यो भन्दा बढ्ता पीडा दिन हानी नोक्सानी पुर्याउन अनेकौं विचार मनमस्तिष्कमा खेलाउन थाल्छन् । आफ्नो तन,मन,धन, वचन र कर्मले उसलाई बढी भन्दा बढी सताउन्छन् हद त यत सम्म पार गरिसके कि अपहरण, हत्या लुटपाट तोडफोड र आगजनि समेत गर्न पछि पर्दैन्न् । अरुलाई दुख दिन आफ्नो शक्तिको दुरुपयोग गर्छन् । क्षमा दिने माफ गर्न सक्ने र गर्ने प्रवृत्ति नै लोप हुदैंछ ।
कहीं कतै कोही अन्जान मा आफुसंग ठोकि्कयो भने हामी माफी मागेर रफादफा गर्नुको सट्टा उसको सात पुस्ता गलत ठहराउछौं उसको पुस्ता दर पुस्ता अन्धो साबित गर्छौं ।
दुर्भाग्यवश सृजित यो अवस्थालाई समाप्त गरी एक सभ्य र असल नागरिक समाजको सृजना गर्न अब हाम्रो अहम् जिम्मेवारी हो । हामीले अब हरसम्भव प्रयास गरी समाजमा सृजना भएको साम्प्रदायिकता कारण असहज परिस्थितिलाई पुनः सद्भाव र शान्तिपूर्ण वातावरण निर्माण गर्नका लागि खास केही गर्नु पर्दैन् । मात्र आफ्नो र अरु सबै धर्मले समाजलाई सभ्य बनाउन सिकाएका साझा कुराहरुलाई व्यवहारमा उतार्नुपर्छ र अरुलाई पनि उत्प्रेरित गर्नुपर्छ ।
समाजलाई सभ्य बनाउन सबै धर्मका साझासार यहां तल उल्लेख गरिएकाछन् ।
सबै धर्म जस्तै ः सनातन धर्म, इस्लाम धर्म, बौद्ध धर्म, इसाइ धर्म, शिख धर्म , जैन धर्म किरात लगायत अन्य सबै धर्ममा साझा विचारधारा हेरौं । ताकि हामीलाई बुझ्न सजिलो होस् कि हामी कति सम्म धर्मको सही पालना गरिरहेकाछौं ।
१.सत्य र मिठो वाणी बोल्ने ।
२. अहिंसावादी बन्ने ।
३. त्यागको भावना राख्ने ।
४. मानवताको रक्षा गर्ने ।
५. पीडित र असहायको सहयोग गर्ने ।
६. कसैलाई दुख नदिने र दुखको कारण नबन्ने ।
७. सबैको भलो हुने कार्य गर्ने ।
८. सबैको आदर सम्मान गर्ने ।
९. कसैलाई घृणा र यातना नदिने ।
१०.क्षमादान गर्ने ।
११. आफु पनि बाच्ने र अरुलाई पनि शान्तिपूर्ण बाच्न दिने ।
यहां उल्लेख गरिएका यी ११ कथनको अक्षरशः पालना गर्नुस् भनेर हरेक धर्मले सिकांउछ ।
माथि उल्लेख गरेका धर्म ग्रन्थ र धर्मप्रवर्तकका भनाइ साझा गर्नुका साथै अहिलेको समाजको वास्तविक स्थिति जसमा आधुनिकतामा रणभुल्लिनेहरु अनि समाजको अर्को ओझेलमा पारिएको तप्का जस बारे कसैको ध्यानाकर्षण हुन् सकेको छैन् ती सबै पक्षको यथार्थ चित्रण गरी समाजको आंखा खोल्न र मनन गर्नु गराउनु मात्र हो। यसार्थ यसको मनशाय यो कदापि होईन् कि कसैलाई आफ्नो धर्म संस्कृति बारे छैन् ववा उसको धर्मको बारे ज्ञान दिन खोजिएको हो यसको मुख्य आशय नै यो हो कि हामी कहां नेर चुकिरहेकाछौं कहां हामी कहांबाट हामी धर्मको बाटो बिरायौं र मानिस अनि धर्म बीच खाडल(दुरी) भयो ।
अब हाम्रो धर्मले हामीलाई सिकाएका कुराहरु बारे जानकार भइ आफु पनि त्यसमाथि अमल गरी सभ्य समाज निर्माणमा आ आफ्नो स्तरबाट सक्दो योगदान पुर्यायौं । यिनै ११ वचन आधार बनाइ यी कुरालाई मात्र भए पनि तपाई हामी आफ्नो व्यवहारमा लागु गरी साम्प्रदायिक हिंसा, विद्यमान विभेद(वर्गीय,जातीय,सामुदायिक) असमानता, ध्वनीप्रदुषण, वायुप्रदुषण, वातावरण प्रदुषण र अनावश्यक यातना आदि अन्त्यका लागि पहल गरेर सभ्य र असल समाज निर्माणमा आ आफ्नो भूमिका निर्वाह गरौं । साथै सम्बधित निकाय (प्रशासन) लाई यस विषयमा चासो लिएर आवश्यक पहल र कारबाही गर्न गराउन सक्ने वातावरण सृजना गरौं ।
जसरी दियो आफु बलेर भएपनि हामीलाई उज्यालो दिन्छ हामी पनि दियो जस्तै राम्रो गुण सहित आफु प्रज्वलित भइ सबैलाई प्रकाश छरौं रिस राग त्यागेर अरुको हित र भलो गरी कल्याणकारी बनौं । किन भने सबै धर्मको साझा सार , मानवता र असल व्यवहार नै हो ।











