बाँके : नदीमा ‘ब्रह्मलुट’ खोतल्दै प्रशासन

जिल्लामा अर्ब बढीको नदीजन्य पदार्थ अवैध रुपमा तस्करीका लागि थुपारिएको प्रशासनको अनुमान

बाँकेका भैरहेको नदीजन्य पदार्थमाथिको ब्रह्मलुट रोक्न जिल्ला प्रशासन कार्यालय बाँकेले सक्रियता बढाउँदै लगेको छ । नदीजन्य पदार्थको ठेक्का नलगाउने तर करोडौं राजश्वको नोक्सानी हुनेगरी अवैध तस्करी मौलाएपछि प्रशासनले त्यसलाई अंकुश लगाउन सक्रियतापूर्वक लागेको हो ।


नदीजन्य पदार्थको अवैध ओसार पोसारलाई अंकुश लगाउँदै मापदण्ड विपरितका क्रसर उद्योगलाई बन्द गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले थुपारेर राखिएका नदीजन्य पदार्थको अनुगमन गरि त्यसको सुरक्षाका लागि पहल थालेको हो ।


बाँकेमा अर्ब बढीको नदीजन्य पदार्थ तस्कारीका लागि थुपारेर राखिएको अनुमान बाँके प्रशासनको रहेको छ । ‘नदीमा ब्रह्मलुट रहेको पाइएको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले भने, ‘अवैध गतिविधि विरुद्ध प्रशासन खरो रुपमा उत्रने छ ।’
प्रजिअ कुरुम्वाङको नेतृत्वको सुरक्षा अधिकारीहरुको टोलीले बाँकेका विभिन्न ठाउँहरुको अनुगमन गरी नदीजन्य पदार्थको अवस्था समेत अध्ययन गरिरहेको छ । ‘नदीहरु पुगेर हेरेका छौं कुन अवस्थामा रहेको छ’, उनले भने, ‘नदीमा निश्चित लुट मच्याइएको छ भन्ने स्पष्ट देख्न सकिन्छ ।’


प्रजिअ कुरुम्वाङले प्राकृतिक स्रोसाधन माथि तस्करहरुको नियन्त्रण अन्त्य गरेर छाड्ने बताएका छन् । उनले त्यसका लागि सहयायेग गर्न सार्वजनिक आव्हान समेत गरेका छन् । ‘बाँकेका नदीहरुमा तस्करहरुको साम्राज्यको चाँडै अन्त्य गरिनेछ’, प्रजिअ कुरुम्वाङले भने ।
प्रजिअ कुरुम्वाङले खोलाका छेउमा तस्करीका लागि करोडौं रुपैयाँको नदीजन्य पदार्थ थुपारेर राखिएको फेला पारिसकेको बताएका छन् । ‘नदीको दायाँ, बायाँ ढुंगा गिट्टी जम्मा गरी तस्करी हुने गरेको देखिन्छ’, उनले भने, ‘त्यसलाई कुनै पनि हालतमा अब नियन्त्रणमा लिइनेछ ।’


राप्तीसोनारी मुगुवा खोलामा मात्रै १ लाख घटनमिटर ढुंगा, गिट्टी तस्करीका लागि जम्मा गरेको पाइएको प्रजिअ कुरुम्वाले जानकारी दिएका छन् । त्यहाँ करिब २ करोडको नदीजन्य पदार्थ थुपारिएको अनुमान रहेको छ । त्यस्तै, डुडुवाका जंगलमा लुकाएर राखिएको २० लाख घनमिटर नदीजन्य पदार्थ पनि प्रशासनले फेला पारेको छ । ‘नदीजन्य पदार्थ डनको कब्जामा रहेछ, उनीहरुको अनुसन्धान, खोजी र कारवाही गरिनेछ’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया