सडकमा कस्ले भन्यो डाक्टरलाई हत्यारा ?
उपचारका क्रममा एक महिलाको ज्यान गएपछि चिकित्सकविरुद्ध सडकमा नाराबाजी र अस्पतालमा तोडफोड मच्चाउनेलाई पहिचान गरि कडा कारबाही गर्न नेपाल चिकित्सक संघको अल्टिमेटम । डाक्टरहरुको गुनासो, दण्डहीनताले असुरक्षा
स्थानीय एक अस्पतालमा उपचारका क्रममा विरामीको मृत्यु भएपछिको घटनाक्रमलाई लिएर चिकित्सकहरुले गम्भीर चिन्ता गरेका छन् । कोरोना कहरमा ज्यान जोखिममा पारेर सेवा गरिरहेका चिकित्सकविरुद्ध जथाभावी टिप्पणी गर्ने, पर्चा पम्प्लेटिंग र नाराबाजी गरि मानमर्दन गरेको भन्दै चिकित्सकहरुले गम्भीर चिन्ता प्रकट गरेका हुन् ।
नेपालगन्जका सडकमा भएको चिकित्सक विरुद्धको मानमर्दनको घटनाक्रमविरुद्ध नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । विरामीको उपचारका क्रममा भएको मृत्यु प्रकरणमा विरामीका आफन्तद्वारा भएको प्रदर्शनले आफ्नो मानमर्दन भएको भन्दै वरिष्ठ चिकित्सकहरुले चिन्ता गरेपछि संघले शुक्रवार पत्रकार सम्मेलननै गरेर प्रदर्शनमा उत्रिने व्यक्तिहरुको पहिचान गरि कारबाही माग गरेको हो ।
चार दिनअघि वेष्टर्न अस्पतालमा उपचारका क्रममा एकजना विरामीको मृत्यु भएको थियो । उक्त घटनामा मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीको कारण विरामीको ज्यान गएको आरोप लगाएका छन् । जुन कुरालाई चिकित्सक संघले न्यायिक छानविनको विषय भएकाले आउने निर्णयलाई स्वीकार गर्ने भन्दै त्यसअघि गरिने अराजक गतिविधिको निन्दा गरेको छ । प्रदर्शनमा विरामीको मृत्युको बिषयलाई लिएर उपचारमा संलग्न चिकित्सकलाई हत्याराको संज्ञा दिएपछि संघ आन्दोलित भएको हो । ‘आपत्तिजनक प्रदर्शनकारीलाई पहिचान गरि कडा कारबाही गरिनुपर्छ’, पत्रकार सम्मेलनमा चिकित्सक संघ नेपालगन्जका अध्यक्ष डा. विनोद कर्णले भने ।
गत असार १६ गते उपचारका क्रममा बर्दिया राजापुर–१० कि ४१ बर्षीया नारायणीकुमारी बोहराको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर पीडित परिवारका नाममा एउटा समूहले चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै विहीबार नेपालगन्जमा नारावाजी, अस्पतालमा धर्ना लगायतका दबाबमा चिकित्सकविरुद्ध अपमानजनक नाराबाजी गरिएको आरोप लगाइएको छ । यसले ज्यान जोखिममा राखेर काम गरिरहेका चिकित्सकको अपमान मात्रै होइन, निरुत्साहित बनाएको छ, संघका पूर्व अध्यक्ष डा. श्याम सुन्दर यादवले पत्रकारहरुसँग भने, दण्डहीनताले बढेको अराजकताले चिकित्सकहरु असरक्षित हुने अवस्थाको पुनरावृत्ति भयो ।
आफन्तको माग अनुसारनै घटना छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको नेतृत्वमा समिति बनाइएको छ । ‘समिति बनेपछिपनि हामीमाथि जानलेवा धम्की दिइएको छ’, वेष्टर्न अस्पतालका प्रवन्ध निर्देशक डा. राहुल थापाले पत्रकार सम्मेलनमा भने,‘ प्रहरीले नजोगाएको भए हामीलाईनै आक्रमणको निशाना बनाइएको थियो ।’ ‘चित्तनबुझे कानुन बमोजिम न्यायको बाटो रोज्नुको सट्टा समग्र चिकित्सकलाई नै अपमानित र हतोत्साही गर्ने गरी नारावाजी गर्नु दुर्भाग्यपूर्ण हो’, संघका अध्यक्ष डा. कर्णले भने ।
संघका अध्यक्ष डा. कर्ण र सचिव डा. पियुष कुमार कनोडियाले शुक्रवारनै संयुक्त विज्ञप्ति जारी गरि अराजक गतिविधिमा संलग्नहरुको परिचान गरि कानुन बमोजिम कारबाहीका लागि ४८ घण्टे अल्टिमेटम दिएका छन् । संघका पूर्व अध्यक्ष डा. यादव, डा. एम किदवाई, भेरी अस्पताल नेपालगन्जका प्रमुख डा.प्रकाश थापा, डा. संकेत रिसाल, डा. विनोद थापा, डा. कल्पना थापा, डा. निर्मल ज्ञवाली लगायतका वरिष्ठ चिकित्सकहरुको सहभागितामा भएको पत्रकार सम्मेलनमा संघले भनेको छ, ‘कारबाही नगरिए कडा कदम चाल्न बाध्य हुनेछौं ।’
चिकित्सकको काममा चित्त नबुझे कानुनी तथा न्यायिक उपचारमा जाने व्यवस्था विपरित हुने अराजक हर्कतले सहज उपचारमा बाधा उत्पन्न गर्ने भन्दै पत्रकार सम्मेलनमा सहभागी वरिष्ठ चिकित्सकहरुले सरकारलाई यस्ता अराजकता नियन्त्रण गर्न सुझाव दिए । चिकित्सक ज्यान जोगाउनका लागि हो, उनीहरुले भने सयौं उपचारका सफल घटनामा हुने एकाध दुर्घटनालाई लिएर गरिने यसखालका प्रदर्शनले सिंगो चिकित्साजगतमा निराशा उत्पन्न हुने उनीहरुको भनाइ थियो । उनीहरुले निष्पक्ष छानविनका लागि गठित समितिको ध्यानाकर्षण पनि गराएका छन् ।
संघले बाँकेका प्रमुख जिल्ला अधिकार राम बहादुर कुरुम्वाङग लगायतलाई भेटेर विकसित घटनाक्रममा आफ्नो धारणा राखेको छ । उपचारमा संलग्न चिकित्सक, डा. कल्पना थापाले निष्पक्ष छानविनको निर्णय आफुलाई मान्य हुने भन्दै त्यसअघि गरिएका लान्छनाले आफुलाई स्तब्ध बनाएको बताइन् । चिकित्सक पेशामा २० वर्षदेखि कयौंको ज्यान जोगाएको मैले आज यो अवस्थाको सामना गर्नुपर्ने ? भावुक हुँदै डा. थापाले भनिन् । उनले बोहोराको उपचारका सबै विधि, अवस्था र ज्यान जानुको कारण बारे पत्रकारहरुमाझ जानकारी दिंदै भनिन्, ‘मेरो कुनै कमीकमजोरी वा लापरवाहीले ज्यान गएको भन्ने आरोपमा कुनै सत्यता छैन, प्यासेन्टको ज्यान जोगाउन नसक्दा सम्बन्धित चिकित्सकलाई कम्ति पीडा हुँदैन ।’
छानविन समितिद्वारा कार्य सुरु
उपचारका क्रममा अस्पतालको लापरवाहीका कारण बर्दियाकी नारायणी कुमारी बोहरा मृत्यु भएको भन्ने घटनाका सम्बन्धमा गठित छानविन समितिद्वारा कार्य प्रारम्भ गरेको छ । यस क्रममा बिहीवार बसेको समितिको पहिलो बैठकले दुई पक्षसंग घटनाका बारेमा सत्यतथ्य बुझ्ने निर्णय गरेको थियो । यस क्रममा पहिले चरणमा समितिले उपचारमा संलग्न वेष्र्टन अस्पतालका चिकित्सकसंग घटना बारे छलफल गरि घटनाको बारेमा लिखित जानकारी मागेको थियो ।
दोश्रो चरणमा समितिले पीडितपक्षसंग उजुरीका बिषयमा छलफल गरि घटनाबारे तथ्य संकलन गरेको समितिका सदस्य अधिवक्ता वसन्त गौतमले बताए ।
अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै मृतकका श्रीमानले कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएको थिए । जिल्ला प्रशासन कार्यालय बाँकेले सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिका सदस्यमा भेरी अस्पतालका डा. उर्मिला रिजाल र उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतम रहेका छन् । समितिमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका डा. प्रकाश नागलाई थप गरिएको छ ।
बर्दिया राजापुर नगरपालिका–१० कोठियाघाट बस्ने ४१ बर्षिय नारायणी कुमारी बोहरा पाठेघरमा मासु पलाई समस्या भएकोले उपचारका लागि नेपालगन्ज स्थित वेष्र्टन अस्पतालमा आएको र उपचारका क्रममा अस्पतालले लापरवाहीमा गरेका कारण बिरामीको मृत्यु भएको भन्दै निजका पति मोहन कुमार बुढाथोकीले आवश्यक अनुसन्धान गरि कारवाही गरि पाउँ भनी प्रशासनमा निवेदन दर्ता गराएका थिए ।