तपाईंको कतिऔं गीत हो ? ठ्याक्कै सम्झना भएन, गन्नैपर्छ । सायद ३५–४० औं, २००८ देखि गाउन थालेको । फेसबुकको मेसेन्जरमा उनी अर्थात् नेपालगन्जका र्यापर डा. अभिषेक अर्जेलले जवाफ दिंदै गए, नेपालगन्ज मात्रै होइन मध्यपश्चिमकै पहिलो र्यापर हुँ ।
नेपालगन्जमा कार्यरत क्षेत्र बनाइरहेका डा.अर्जेलले र्यापका पारखीबीच कोरोना महामारीविरुद्ध एउटा सन्देशमूलक कोरोना गीत ल्याएका छन् । जसको म्युजिक भिडियो यसैसाता उनले आफ्नै यूट्यूब च्यानलमार्फत सार्वजनिक गरेका छन् । त्यसै गीतबारे दैनिक नेपालगन्जसँग कुरा गर्दै थिए, उनै र्यापर अर्थात् डा. अर्जेल ।
गीत सन्देशमूलक छ । आफै चिकित्सक भएरपनि होला उनले गीतमार्फत दिएको सन्देशले धेरैलाई कोरोनाबाट जोगाउन सचेत शिक्षा दिन्छ । कोरोनाविरुद्धको संघर्षमा फ्रन्टलाइनर चिकित्सक, सुरक्षाकर्मीदेखि सरकारसम्मलाई साथ दिन डा. अर्जेलले गाएको गीतको अपील छ । अर्जेलका अनुसार, र्याप शैलीको कारोना गीतका शब्दहरु डा.विवेक राज पराजुलीले रचना गरेका हुन् ।
स्टेजमा गीतसँगै राम्रो प्रस्तुति दिन सिपालु डा.अर्जेलले गाएको कोराना गीतको बिट एनाबोलिक बिट्जले तयार पारेको हो । उनी आफै राम्रो कलाकार पनि हुन् भन्ने पुष्टिका लागि भने स्टेजमै उभ्याउनुपर्छ तर, ए टु र्याप उपनामबाट चिनिने डा. अर्जेलले गीतको म्युजिक भिडियो आकर्षक निर्देशन गरेका छन् । भिडियोको कलर करेक्सन तथा सम्पादन शैलेन्द्र गौतम निर्मोही तथा प्रदिप राजबंशीले गरेका छन् । कोरोना गीतलाई नेपालगन्जस्थित वेभ मल्टिट्रयाक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । शैलेन्द्र गौतम निर्माेही उक्त गीतका रेकर्डिष्ट हुन् । निर्माेहीका कला पनि गीत रेकर्डिंगमा देखिन्छ, नेपालगन्जमैं स्तरिय स्टुडियो छ भन्ने क्षमता उनले देखाएका छन् ।
भिडियोमा श्रीजा रेग्मी, महिन्दर सिंह, प्रशन्न पोखरेल, आशुतोष अज्र्याल, विभोर पोखरेल, बिनोद अग्रहरी, डा.राजेश मण्डल, सन्दीप पोखरेल, मीना क्षेत्री, डा।रवि राज तिमल्सिना, रोजी थपलिया, अस्मिता श्रेष्ठ, हरी बोहोरा, मोनालिसा गौतम, प्रदीप राजवंशी, दीपशिखा श्रेष्ठ शाक्य आदिले अभिनय गरेका छन् ।