बाल सुधार गृहलाई बजेट अभाव हुँदा व्यवस्थित हुन सकेको छैन । बालसुधार गृहमा रहेका बालकहरुकलाई स्वच्छ खानेपानी लगायत भौतिक संरचनाको समस्या रहेको छ । यसअघि सुधार गृहका लागि बजेट दिन भनिएपछि अन्यत्रै दिइएपछि पूर्वाधार निर्माणमा समस्या भएको हो ।
संसद बिकास कोषबाट छुट्याएको रकम बाल सुधार गृहलाई उपलब्ध नभएपछि भौतिक पूर्वाधार निर्माण नभएको हो । अधिकारकर्मीहरुको टोली बाल सुधार गृह पुग्दा बजेट भएर पनि भौतिक प्रगति नभएको सम्बन्धमा चासो राख्दा सुधार गृहका लागि सांसद विकास कोषबाट दिने भनिएको ३९ लाख रुपैयाँ अन्तै दिइएको खुलेको हो ।
पूर्वमन्त्री मोहम्द ईस्तियाक राईले बाँकेमा रहेको जयेन्दू बाल सुधार गृहलाई दिने भनेको बजेट उपलब्ध नभएपछि पूर्वाधारको काम अघि नबढेको पाइएको अधिकारकर्मी बसन्त गौतमले जानकारी दिएका छन् । संसद विकास कोष मार्फत ३९ लाख रूपैयाँ उक्त गृहलाई प्रदान गर्ने निर्णय भई उपभोक्ता समिति समेत गठन भइसकेको थियो ।
सांसद विकास कोषबाट प्राप्त हुने बजेटबाट बाल सुधार गृहको भान्साका लागि छाप्रो निर्माण गर्ने, प्रतिक्षालय बनाउने, तारवार गर्ने, विद्युतीकरणका लागि जेनेरेटर राख्ने, खानेपानीका लागि मोटर जडान गर्ने लगायतका योजना अघि सारिएको थियो ।
अघिकारकर्मीको टोलीले गरेको अनुगमनका क्रममा संसद बिकास कोषबाट छुट्याएको रकम अनुसार काम नभएको भनी प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले योजना प्रगती बारे सोधखोज गरे पछि बासुधार गृहका लागि छुट्याएको बजेट काटिएको जानकारीमा आएको अधिवक्ता वसन्त गौतमले बताए । बालबालिकाका लागि खर्च अत्याश्यक रहेको बजेट अन्यन्त्रै अन्यत्रै लग्नु दुखद् पक्ष भएको गौतमले बताएका छन् ।
छाला रोगको शिविर
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा शनिबार स्वास्थ्य शिविर गरिएको छ । शिविरबाट ७३ जना बालकले उपचार पाएका छन् । क्षमता भन्दा बढी बस्नु पर्दा सुधार गृहका बालकहरुलाई छाला रोगको संक्रमण फैलिएको हो ।
बागेश्वरी टेलिभिजनको आयोजना र स्वास्थ्य पेजको सहकार्य तथा डुडुवा गाउँपालिका र अधिकारकर्मी अधिवक्ता वसन्त गौतमको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो । बाल सुधार गृहमा अहिले एक सय एक जना बालक बस्दै आएका छन् । केहि समय पहिले गरेको अनुगमनबाट बालकहरुमा छालाको समस्या देखिए पछि उपचारको पहल थालिएको थियो ।
केही समयदेखि उक्त सुधार गृहमा रहेकाहरुलाई छालासम्बन्धी समस्याले सताएको जानकारी पाएपछि शिविरको आयोजना गरिएको बागेश्वरी टेलिभिजनका अध्यक्ष लक्ष्मी नारायण शाहले बताएका छन् ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट छाला, कुष्ठ , यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. बद्री चापागाईंले सुधार गृहमा रहेका ७३ बालक तथा किशोरहरूको जाँच तथा उपचार गरेका थिए । साथै उक्त शिविरमा निशुल्क औषधी वितरण गरिएको थियो । धेरैजसोलाई लुतो, दाद र वयस्क सम्बन्धी छालाको समस्या पाइएको डा. चापागाईंले बताए ।
उक्त शिविरमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख ओम बहादुर राना , बागेश्वरी टेलिभिजनका अध्यक्ष लक्ष्मी नारायण शाह, डुडुवा गाउँपालिका वडा नं ६ का अध्यक्ष मोहन मिश्र, नेपालगन्ज वडा नं १३ का अध्यक्ष विरेन्द्र बहादुर शाह, अधिकारकर्मी अधिवक्ता वसन्त गौतम, प्रभात कुमार ठकुरी, सरस्वती मल्ल, जग्गा दाता जेके सिंह, बाल सुधार गृहका प्रमुख बिमला काउचामगर लगायतको उपस्थिति थियो ।
त्यस्तै कार्यक्रमकै बीच अधिकारकर्मी प्रभात सिंह ठकुरीले बाल सुधार गृहका लागि पानी तान्ने मोटर सहयोग गरेका थिए भने रेडक्रसले विभिन्न खेलकुदका समाग्रीहरु प्रदान गरेको थियो । बालकहरुलाई आवश्यकता अनुसार औषधी उपलब्ध गराइएको र पुन फलो अप शिविर राखिने छ ।











