प्रदेश सरकारको बजेटमा बाँकेका के के योजना परे ?
बाँकेमा खासगरी दुई वटा गौरवका योजना छन् । एउटा केन्द्रीय सरकारबाट प्रदेश मातहत ल्याएर नौबस्ताको औद्योगिक क्षेत्र सञ्चालन गर्ने भन्यो त्यो हाम्रा लागि गौरवको योजना हो । अर्को प्रदेश विश्वविद्यालय । प्रदेश विश्व विद्यालयका बारेमा बजेटमैं राखेर कार्यान्वयन गर्ने काम भएको छ । खासगरी प्रदेशकै ठूलो कार्यक्रम हो त्यो । त्यो बाँके र खजुराका लागि गौरवको कुरा हो । बाँके र बर्दियालाई केन्द्रमा पारेर खजुरामा प्रदेश स्तरीय विश्वविद्यालय बनाउने कार्यक्रम आएको छ । त्यसलाई सफल पार्न सबै तहबाट एकजुट भएर लाग्नुपर्छ ।
बाँकेले दशकौंदेखि विश्वविद्यालय माग्दै आयो अहिले प्राप्त गर्यो । अब कसरी अगाडि बढ्छ ?
सार्वजनिक पदमा नहुँदा मलाई पनि नेताहरुले बिगारे भन्ने लाग्थ्यो । तर, अहिले म पदमा गैसकेपछि हेरें । राजनीतिक नेतृत्वमा भएको कमी भनेको दृढतापूर्वक आफ्ना विषय अगाडि बढाउन नसक्ने हो । तर, सबै चिज बिगार्ने चाहीँ प्रशासनिक तह नै रहेछ । ब्यूरोकेसी नै रहेछ । एउटा निर्णय हुन्छ, त्यसको कार्यान्वयन गर्न प्रशासनिक तहलाई दिनुपर्यो । तर, उसले यताबाट उता घुमाउने, टिप्पणी लेख्ने सदर गर्न यता र उता घुमाउने काम गर्छन् । त्यस विषयलाई हामीले प्रदेशमा यो विषय जोडदार उठाएका छौं । अहिले प्रदेशको मुख्यमन्त्रीले पनि बजेट वक्तव्यमा पनि त्यो विषय राख्नुभएको छ । हिजो जे गरेको छ, त्यसलाई दायाँ बायाँ गर्न नहुने भन्ने कन्सेप्ट बदल्नु पर्छ भन्ने ढंगले मुख्यमन्त्री पनि एगे्रसिभ नै भएर आउनु भएको छ ।
नौबस्ताको औद्योगिक क्षेत्रको काम त्यस्तै अलमल र राजनीतिको घेरामा अल्झिएको किन हो ?
नौबस्ताको औद्योगिक क्षेत्रको विषयमा अलिकति राजनीति बढी भएको छ । यो ठिक कुरा हो । हामीमा एउटा सोंच के देखियो भने, जिल्लाको भविष्य के हुन्छ भनेर नहेर्ने । हामीले एउटा राम्रो आयोजना आउँदा जिल्लाको भविष्य राम्रो हुन्छ, सुन्दर हुन्छ भनेर हेर्नु पर्ने हो नि, रोजगारी आउँछ भनेर हेर्नुपर्ने ठाउँमा व्यक्तिगत रुपमा घाटानाफा हेरिन्छ । तरपनि औद्योगिक क्षेत्र सञ्चालन गरेर नै छाडिन्छ । कोरोनाका कारण भएको लकडाउनले अलिकति ढिलाई त भएको छ । तर, जति चलखेल भएपनि औद्योगिक क्षेत्र चल्छ ।
नेपालगन्जमा विश्वविद्यालय माग गरिएको दशक बितिसकेको छ । भौतिक पूर्वाधार पनि थियो । प्रादेशिक विश्वविद्यालय नेपालगन्जमा सम्भव थिएन ?
हामीले जग्गाको कारणले गर्दा खजुरामा प्रादेशिक विश्वविद्यालय राख्ने भनिएको हो । सबैमा मेरो अनुरोध के हो भने यसमा अब राजनीति गर्ने होइन । सबै मिलेर यो कार्यक्रमलाई सफल पार्ने हो जसले जिल्लाको भविष्य सफल हुन्छ । यो असफल भए जिल्ला नै असफल हुन्छ । हामीले समग्र रुपमा जिल्लाबासी एक हुनुपर्छ । यदाकदा विभिन्न चलखेल हुन्छन्, हिजो पनि भए, अब पनि हुन्छ, त्यो एकखालको प्रवृत्ति हो मान्छेको छ । तर, त्यस्तो सोंचाई र प्रवृत्तिको पछाडि लाग्ने भन्दा सफल बनाउन लाग्नुपर्छ ।
तपाई प्रदेशसभामा बाँकेको प्रतिनिधि । सँगै ठूलो र सत्तारुढ पार्टीको जिल्ला नेतृत्वमा हुनुहुन्छ । बजेटको न्यायोचित वितरण र सन्तुलित विकासको सुनिश्चितता कसरी सम्भव छ ?
त्यो सम्भव छ । अहिले हामीले राप्तीपारी नरैनापुरमा राम्रो अस्पताल खोल्ने भनेका छौं । त्यो जिल्लाको सन्तुलित हुने सोचेर नै त्यो योजना ल्याएका हौं । त्यहाँ अस्पताल खुलेपछि त्यहाँका जनताले स्वास्थ्य सुविधा त्यही ल्याउँछन् । औद्योगिक क्षेत्र बैजनाथमा हुनेछ । त्यस्तै, प्रदेश विश्वविद्यालय खजुरा भयो । भोलि अर्को योजना आउँदा अर्को ठाउँमा जान्छ । हामीले समग्र जिल्लालाई नै हेर्ने हो । हामीले राजनीतिक पूर्वाग्रह नराखेर समग्र जिल्लाको विकास गर्नुपर्छ भन्ने हाम्रो सोंच हो ।
कर्मचारी तन्त्रमा खोट देख्दै हुनुहुन्थ्यो । राज्य पुनर्संरचना भयो, ब्यूरोक्रेसीको पुनर्संरचना पनि हुनुपर्छ भन्ने लाग्यो ?
हामीले गर्नुपर्ने के रहेछ भने ब्यरोक्रेसीमा पनि पुनर्संरचना गर्नुपर्ने रहेछ । राजनीतिक रुपले त्यही गल्ती भएछ । राजनीतिक परिवर्तनले मात्र सबै हुँदो रहेनछ । ब्यरोक्रेसीमा पुरानै संरचना छ । अहिलेको ब्यूरोक्रेसीले जनताको मनोभावनालाई समाउँदैन । जनताको परिवर्तनको सोंच र राजनीतिले ल्याउन खोजेको परिवर्तनलाई अहिलेको ब्यूरोक्रेसीले पूरा गर्दैन । ब्यूरोक्रेसीको पुनर्संरचना नगर्नु अहिलेको ठूलो कमजोरी हो । गणतन्त्रले राखेको उद्देश्य, संविधानको मर्म पूरा गर्न ब्यूरोक्रेसीको पुनर्संरचना अनिवार्य छ ।
हामीले त्यसका लागि छलफलका सुरुवात गरेका छौं । ब्यूरोक्रेसीका कारणले नै धेरै योजनाहरु कार्यान्वयन हुन सकेनन् भन्ने कुरामा मुख्यमन्त्री पनि कन्भिन्स हुनुहुन्छ । हाम्रो कुरा के हो भने सडकमा जनताको पक्षमा आवाज उठाएर स्थापित भएका मान्छे । तर, सडकमा हुँदा असाध्यै क्रान्तिकारी हुने, सांसद भएपछि सुधारवादी जस्तो हुने, सरकारमैं पुगेपछि मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री भएपछि अर्को दिशातिर लहसिने जुन परम्परा छ त्यसलाई हामीले तोड्नु पर्छ ।
म त्यसलाई तोड्न सक्छु । मेरो दैनिक जीवन परिवर्तित छैन । हाम्रो समाज स्वार्थी छ । परिवार पनि स्वार्थी छ । कहाँ बाट पैसा आयो कसैले सोध्दैनन् । आफुले खान पाउनु पर्छ, मोजमस्ती गर्न पाउनु पर्छ भन्ने सोंच पूरा गर्न बदमासी गर्नुपर्छ । त्यो सच्याउनु पर्छ । त्यसलाई सच्याउन आफैबाट सुरु गर्नुपर्छ ।
प्रदेश नामाकरण स्थायी राजधानी कहिले ?
आँट गर्ने पहिले कुरा हो । कतिपय विषय सबैसँग सहमति गरेर गर्छु भन्नु सम्भव हुँदैन । प्रदेश राजधानी सबैले आफ्नो जिल्लामा होस् भन्ने चाहना हुन्छ । बुटवलले बुटवल, बाँकेले बाँकेमा राजधानी आओस् भन्ने चाहना हुन्छ । मैले सुरु देखि नै भनेको छु प्रदेशका १२ वटा जिल्लामा पायक पर्ने ठाउँमा हुनुपर्छ भनेको छ । त्यसो नभए हामी स्वीकार्दैनौं भनेका छौं । त्यसबारेमा मुख्यमन्त्रीसँग पनि विचार राखिसकेको छु । सर्वसम्मत रुपमा राजधानी सहमति हुँदैन । पायक पर्ने ठाउँमा लैजानु पर्छ । अथवा प्रक्रियामा लैजानु पर्छ ।
प्रदेश विश्वविद्यालय बाँकेमा आयो, यससँग राजधानीको सवाल जोडिन्छ ?
प्रदेश विश्वविद्यालय राजधानीसँग जोडिएको विषय होइन । यो सन्तुलित विकासको कुरा हो । सौभाग्य नै भनौं प्रदेश विश्वविद्यालय र औद्योगिक क्षेत्र पनि मेरै निर्वाचन पर्यो । यो संयोग मात्र
हो । बाँके र बर्दियाको राजनीतिक महत्व प्रदेश ५ ले बुझ्नु पर्छ । यसको राजनीतिक महत्व चानचुने छैन । अहिले पनि मेरो कुरा भनेको बाँके र बर्दियाको विशिष्ट योगदान छ, कोही भन्दा कमजोर छैन, अरुलाई कमजोर छौं भनेका पनि छैनौं । तर, राजधानीका लागि सम्झौता हुँदैन ।
संवाद जस्ताको तस्तै, सुन्नुस् (तलको लिंकमा)