कोहलपुरमा बजार अनुगमन, ६० हजार जरिवाना

आदेश अटेरी गरि मुल्य सुचि नराख्ने ब्यापारीलाई ६० हजार जरिवाना


संयुक्त बजार अनुगमन समिति र कोहलपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समिति सहितको टोलीले आइतबार कोहलपुरमा बजार अनुगमन गरेको छ ।
बजार अनुगमनका क्रममा कोहलपुर नगरपालिका –११ दशविगाहमा रहेको गुप्तेश्वरी सप्लायर्सलाई अनुगमन टोलीले यस अघि दिएको आदेशको अटेरी गरि सबै उपभोत्ताहरुले देख्ने गरी मुल्यसूची नराखेकोले रु ६० हजार जरिवाना गर्ने निर्णय गरेको बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमिक्त प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।


त्यस्तै कोहलपुर नपा.–११ दशविगाह कै प्रभु कृपा सप्लायर्सबाट जिरा मसिना, मोटा सिल्की र सोना मन्सुली चामलको गुणस्तर शंस्कास्पद रहेको पाए पछि कानून बमोजिम नमुना संकलन गरि प्रयोगशालाको गुणस्तर बिश्लेषण प्रतिवेदन नआउन्जेलसम्मका लागि पसलमा रहेको जिरा मसिना चामल ३ सय बोरा, मोटा सिल्की चामल १ हजार बोरा र सोना मन्सुली लेखिएको ३ बोरा गरि जम्मा १३ सय ३ बोरा चामल बिक्री बितरणका लागी रोक लगाइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी खाद्य निरिक्षक नेत्रा बोगटीले जानकारी दिइन् ।


बजार अनुगमन क्रममा अनुगमन टोलीले गुप्तेश्वरी सप्लायर्सले म्याद नाघेका १५० ग्रामका २७ प्याकेट भुजा, १ केजी तौलका ज्ञान फुड पोडक्र्सको कमैको च्याख्ला ७ प्याकेज, घराना फुड प्रोडक्टबाट उत्पादित १ केजी तौल भएका १९ प्याकेट मैदा लगायतका मुल्य चार हजार ६ सय चौरानब्बे बरावरको सामानहरु अनुगमन टोलीकै सामुन्नेमा सम्बन्धित ब्यापारीलाई नष्ट गर्न लगाइएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।


संयुक्त बजार अनुगमन समितिले लकडाउनको अवधीमा अनुचित ब्यापारिक क्रियाकलाप हुन नपाओस भन्ने उद्देश्यले बजार अनुगमनको कार्यलाई निरन्तरता दिइएको अनुगमनमा संलग्न जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिशचन्द्र शर्माले बताए ।


बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिशचन्द्र शर्मा, बाणिज्य आपूर्ति तथा उपभोत्ता हित कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्याल, खरिदार सुरेशराज पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरिक्षक नेत्रा बोगटी, उपभोत्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य अधिवक्ता बसन्त गौतम, ५ नं प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी, कोहलपुर उद्योग बाणिज्य संघका प्रतिनिधि सिता कार्की , कोहलपुर नगरपालिकाका अधिकृत बिर बहादुर बिक, गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका बोधराज ढकाल, इलाका प्रहरी कार्यालय कोहलपुर प्रसनी खुम बहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया