बाँकेको नरैनापुर गाउँपालिकामा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठले वन अतिक्रमण गरी नरैनापुर गाउँपालिका वडा नं. १ मा बनाइएका १३ वटा घर, टहरा भत्काइएको जानकारी दिएका छन् ।
‘लकडाउनको मौका छोपी वन अतिक्रमण भएको सूचना पाएपछि कारवाही गरेका हौं’, डिभिजन वन अधिकृत श्रेष्ठले भने, ‘असहज परिस्थितिको मौका छोपी वन कब्जा गरी खेतीपानी गर्ने, घर बनाएर बस्ने गरेको पाइएपछि अतिक्रमण हटाइएको हो ।’
डिभिजन वन कार्यालय बाँकेले अतिक्रमण गर्ने ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । ‘नियन्त्रणमा लिइएकालाई अनुसन्धान गरी कानुन बमोजिम कारवाही गरिनेछ’, डिभिजन वन अधिकृत श्रेष्ठले भने ।
अतिक्रमण गर्नेहरु अन्य ठाउँमा स्थायी बसोबास गर्ने र कब्जाको उद्देश्यले वन क्षेत्रमा घर बनाइएको पाइएको डिभिजन वनले जानकारी दिएको छ । वनले गत महिना राप्तीसोनारी गाउँपालिकाको ३० हेक्टर क्षेत्रमा सुरु भएको अतिक्रमण खाली गराएको थियो । जसमा ४ जनालाई नियन्त्रणमा लिई मुद्दा चलाएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले कुनै पनि बहानामा वन क्षेत्र अतिक्रमण हुन नदिने बताएका छन् । डिभिजन वन अधिकृत श्रेष्ठले जिल्लाका अन्य ठाउँमा पनि वन क्षेत्रमा अतिक्रमणको अवस्था अध्ययन गरी खाली गर्नका लागि पहल गरिने बताएका छन् । बर्षौदेखि अतिक्रमण गरी बसेकाहरुका बारेमा भने अध्ययन गरी वन क्षेत्र खाली गर्न हरसम्भव प्रयास गर्ने बताए ।
बाँकेमा सामुदायिक वनमा समेत व्यापक अतिक्रमण भएको छ । सामुदायिक वनमा भएको अतिक्रमण खाली गर्न समेत सूचना जारी भएको बताउँदै डिभिजन वन अधिकृत श्रेष्ठले त्यसका लागि वन डिभिजनले सघाउने बताए ।