विगत केही वर्ष देखि नेपाली राजनितीमा देखा परेका विचारशुन्यता, अन्यौलता र नैतिकतामा आएको ह्रासका कारण मुलुक दिन दुना रात चौगुना भने जस्तै विश्व समुदाय सामु निर्वस्त्र हँुदै गयो । किनभने एकातिर देशको सम्मान र श्रीवृद्धिमा लाग्नु पर्ने सरकार र सरकार सञ्चालन गर्ने राजनीतिक दल, प्रमुख प्रतिपक्ष वा अन्य दलका अधिकांश उपल्लो तह देखि दोस्रो वा तेस्रो दर्जासम्मका नेता वा कार्यकर्ताहरु कुनै न कुनै रुपमा गैरकानुनी, कमाउ धन्दामा रहेको अवस्था एकातिर छ भने अर्का तिर स्थायी सरकार भनिने कर्मचारीतन्त्र पनि उनैको पदचिन्न पछ्याउँदै पछ्याउँदै हिडेको गुनासो दुःख कष्ट सहेर बाँच्न बाध्य आम नागरिकको छ ।
यति मात्र कहाँ होर, देशमा क्रियाशिल गैरसरकारी संघसस्थाहरु समेत आआफ्नो पेशा प्रति जिम्मेवार रहेको पाइँदैन । यस्तै यस्तै नैतिकतामा अएको ह्रास शुन्यताको परिमाण स्वरुप आज देशको हरेक क्षेत्रमा लुट र घुसको कहरले आमजनता दुःखी छ । आउँदा दिनमा पनि उल्लेखित यी र यस्तै सामाजिक गतिविधि नै नेपाल र नेपालीको परिचय बन्ने त हैन भन्ने चिन्ता नागरिक माझ हरेको मैले बुझेको छु ।
आज मुलुक पुनः चौतर्फी घेराबन्दीमा छ । यति बेलै हाम्रो नेतृत्वले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिको सहि र समयानुकुल आँकलन गर्ने क्षमता प्रदर्शन गर्न जरुरी छ । प्रशस्त ऐतिहासिक सबुत प्रमाण हँुदाहँुदै पनि भारतद्वारा अतिक्रमित आफ्नै देशको भुभाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई आफ्नो भनेर दाबी गर्नुको साटो परायाको हो भन्न सक्ने सांसदहरु अनि तीनका अभिव्यक्तिहरुलाई लाचार भएर सुन्न सक्ने हाम्रा अन्य सांसदहरुले पनि समयमै सोच्न र सच्चिन आवश्यक छ । सरिता गिरी र अमरेश मात्रको के कुरा यी त यस्तै यस्तै सोच राख्ने सांसदहरुका प्रतिनिधि पात्र मात्र हुन् ।
यस्ता अनगिन्ति व्यक्तिहरु देशका विभिन्न जिम्मेवार ओहदामा पुगेका हुन सक्छन् । जसको पदिय प्रतिबद्धता बारे समयमा नै चनाखो भएर लेखाजोखा गर्नु आजको आवश्यकता हो । अन्यथा संसद भाडभैलो गर्ने ठाउँका रुपमा मात्र परिणात भयो भने आश्चार्य मान्नु पर्ने छैन । किनभने नेपाल भित्र हुने गरेका हरेक राजनीतिक परिवर्तनका पछाडी लुकेका घिन लाग्दा वाह्य खेलेहरु र त्यसलाई निर्णयमा पुर्याउन मद्दत गर्ने विकाउ पात्रहरु बारे अब यो पुस्ता चनाखो हुनु जरुरी छ । त्यस माथि पनि भर्खरै नेपालले भारत द्वारा अतिक्रमित आफ्नै भुभाग नेपालको हो भन्ने कुरा भारत सामु उठाउँदा भारतीय संचारमाध्याम द्वारा व्यक्त दुरासय पूर्ण एवम् अमर्यादित अभिव्यक्तिले नेपाली समाजलाई समयमै सजग र चनाखो हुन प्रेरित गरेको हुनु पर्दछ । यहि सानो समयमा आफ्ना व्यक्तिगत स्वार्थका लागि नैतिकता र आत्मसम्मान समेत धरौटीमा राखेर विविध देशका राजदुताबास धाउने राष्ट्रिय दलका नेता तथा दलाली गर्न पल्लेका प्राध्यापक, कर्मचारी, व्यापारी, शिक्षक आदीहरुको अपारदर्र्शी क्रियाकलापका सम्बन्धमा पनि यो पुस्ताले निकै जानकारी प्राप्त गर्यो ।
यसका अतिरिक्त बिना कुनै रोजगारी र व्यवसाय, राजधानीमा सुखपूर्वक जीवन बिताई रहेका केही युवाहरुका व्यवहारहरुलाई पनि यो पुस्ताले निहाल्ने अवसर प्राप्त गर्यो भने उनीहरु बाट सशंकित अनि सतर्क हुन पनि सिकेको हुनु पर्छ भन्ने मेरो बुझाई छ । अन्यथा यस प्रकारका प्रवृत्तिहरु देशभित्र अझै हावी हुने सम्भावना रहि रहने छ । किनभने भारत एवम् पश्चिमाहरु नेपाललाई सम्वृद्ध भएको हेर्न चाहदैनन् भन्ने कुरोको पृष्टि विगतले गरिसकेको छ । हाल देशको हरेक क्षेत्रमा बेथिति व्याप्त छ । फलस्वरुप राज्य सञ्चालनमा देखा परेको बर्तमान बेथितिले मुलुक झन पछि झन् संकटमा फस्ने सम्भावना बारे गम्भिर भएर सोच्ने बेला आएको छ । आजको यो काहाली लाग्दो परिस्थितिमा मुलुकका सबै अंंगहरुमा चौतर्फी आक्रमण हँुदा पनि यस बारे गम्भिर भएर सोच्ने कुनै विश्वस्त निकाय बाँकी छ जस्तो मलाई लाग्दैन । देशमा बिद्यमान सबै खाले बिसंगती र विकृतीहरुको समाधान खोज्ने थलो भनेकै संसद हो तर बिडम्वना आज त्यो संसद विदेशीलाई आफ्ना राष्ट्रिय महत्वका सुचनाहरु प्रवाह गर्ने ठाउँ बन्दै गएको देखिन्छ । अनि सुराकीहरु पाल्ने पोस्ने र हुर्काउने थलोका रुपमा परिणत हँुदै गएको पीडा समेत आजको पुस्तालाई छ भने अर्को तिर कुत्सित मनसाय बोकेर सरकारका विभिन्न निकायहरुमा प्रवेश गर्नेहरुको संख्या पनि अकल्पनिय हुन सक्ने सम्भावना छ । जसबारे सोच्दा जीउनै जिरिङ्ग हुन्छ ।
आजको परिस्थिति सिर्जना हुनु संकिर्ण सोच र व्यवहारको परिणाम आज हामी भाग्दै छौ । बेला बेलामा नेपालीलाई उत्तेजित पार्ने व्यवहार देखाएर वा अभिव्यक्ति दिएर सधै भरि नेपाललाई अल्झाई राख्ने भारतको अघोषित नीति धेरै पुरानो हो । भारतको यस प्रकारको नियत नेपाली सत्तासिनहरुले बुझे वा बुझेर पनि पनि बुझ पचाए त्यसैको परिमाण आज भारत सित अनगीन्ति समस्याहरु देखा परेका हुन् । निःशन्देह, भारत १ अर्ब ३० करोड जनसंख्या भएको उदयमान आर्थिक शक्ति हो । तर त्यहाँको बौद्धिक गरिबी आर्थिक गरिबी भन्दा अझ डरलाग्दो छ । जसको कारणले आज उसका छिमेकी देश – पाकिस्तान बंगलादेश, माल्दिप्स एवम् श्रीलंंका संग शत्रुतापूर्ण व्यवहार नभए पनि मैत्रीपूर्ण पनि रहेको पाइदैन । त्यसैले बेला आइसकेको छ अब हाम्रो नेतृत्व पंक्ति सम्हालिनुु र सुध्रिनु पर्ने खाँचो छ । भारत संग नेपालका साधारण एवम् जटिल बिषयमा असहमति र थुप्रै गुनासाहरु हरेका छन् । जसको समाधान पनि खासै जटिल छैन । तर ती समस्याहरुको सम्बोधन गर्न भारत १०४७ देखि नै अनिच्छुक रहि आएको पाइन्छ र त उसले विविध बाहाना तेर्साएर दुई पक्षिय बार्तामा बस्न आनाकानी गरिरहेको छ ।
अर्का तिर नेपालको सरकार र राष्ट्रिय दलहरुका पनि आआफ्नै कमजोरी र सिमाहरु रहेका छन् जसले गर्दा यस प्रकारका भारतीय रवैयाको नेपालले समयमा प्रतिवाद गर्न नसक्दा विगतबाट थाति रहेका बिषयहरु दिन दिनै जटिल हुँदै जाने गरेको देखिन्छ । अब त अति नै भो यी र यस्तै खाले प्रवृत्तिहरुको पटाक्षेप हुन अनिवार्य छ । यस्तै यस्तै विगतका घटना बाट सिकेर हाल सिंगो नेपाली संसदले नेपाल र नेपालीको स्वाभिमान एवम् आत्मसम्मान ख्याल गर्दै दुई तिहाई भन्दा बढी मतले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर प्रकासित गरेको नेपालको निशान छाप सर्वसहमतिले स्वीकृत गरि अपूर्व राष्ट्रिय एकताको प्रदशन गर्यो २०७७÷०२÷३१) । जसले कुनै पनि विषयमा भारतसंग डिल गर्ने उच्च मनोबल प्रदान गर्यो । अतः आउँदा दिनहरुमा भारतीय सरकार र त्यसका प्रतिनिधिहरुसंग व्यवहार गर्दा विगतदेखि हँुदै आएका सकारात्मक र नकारात्मक व्यवहारलाई हृदयमङ्गम गरि थाँतिरहेका दुई पक्षिय समस्याहरुका मैत्रीपूर्ण समाधान तिर दुबै देश अग्रसर हुन आवश्यक छ ।












