जनआन्दोलनका क्रममा नेपालगन्जको मुटु त्रिभुवनचोकमा रहेको राजा त्रिभुवनको शालिक तोडफोड भयो । शालिक तोडफोड भएपछि त्यसमा राष्ट्रिय झण्डा राखियो । गत बर्ष नेपालगन्ज उद्योग वाणिज्य संघले चोक कुरुप भएको भन्दै आफ्नै पहलमा स्तम्भ बनाउने र त्यसमा राष्ट्रिय झण्डा राख्नका लागि पहल गर्यो । उपमहानगरपालिकाकै अनुमति संघले नयाँ स्तम्भ बनाउनका लागि पुरानो स्तम्भ भत्काउन लाग्दा स्थानीय स्तरमा इतिहास मेट्न खोजेको भन्दै विरोध सुरु भयो । उपमहानगरपालिका संघलाई चोक बनाउन दिने निर्णयबाट पछि हटेपछि चोक सौन्र्दयीकरण काम रोकियो ।
त्यतिखेर संघले बजेटको जोहो गरेर स्तम्भ बनाउन लाग्दा स्थानीय स्तरमा सहमति जुटाउन अग्रसर नभएको उपमहानगरले आफैले चौकको सौन्र्दयीकरण गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको निर्णय सँग फेरि त्रिभुवन चोक बहसमा आएको छ । उपमहानगरपालिकाले चोकको नामाकरणको सन्दर्भमा सर्वदलीय सहमति र सार्वजनिक सुनुवाईमार्फत गर्ने निर्णय गरेको छ । हाल सौन्र्दयीकरण भनेपनि पछि चोकको नामका लागि सार्वजनिक सुनुवाईको निर्णय भएपछि इतिहास मेटाउन नहुने धारणाहरु सार्वजनिक हुन थालेका छन् ।
चोकको नाम सार्वजनिक सुनुवाईबाट राख्ने भनेपछि अब त्रिभुवनको शालिक भने नराखिने निश्चित भएको छ । स्तम्भमा राष्ट्रिय झण्डा र नक्सा राखेर संरक्षण गर्ने निर्णय सर्वदलीय तथा सर्वपक्षीय बैठकले गरिसकेको छ ।
‘धेरै दिनदेखि नेपालगन्जमा त्रिभुवन चौक र बिरेन्द्र चौकमा सात दलको आन्दोलनको बेलामा भत्काइको शालिकलाई लिएर बादबिबाद चलिरहेको छ । तर, निष्कर्ष निस्कन सकेको छैन, कसैले मधेशी शहिदको नाममा राजनीति गर्दैछन् भने कसैले राजाको नाममा राजनीति गर्दैछन्’, त्रिभुवन चोकबारे धारणा राख्दै ललित रौनियारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सवाल उठ्छ शहिद कस्तालाई मान्ने ?’ रौनियारले वास्तविक रुपमा शहिद भनेको देश र जनताको अधिकारको लागि हुने आन्दोलनमा प्रमुख भूमिका खेल्दै राज्य पक्ष वा बिद्रोही पक्षबाट आफ्नो जिवन गुमाएकोलाई शहिद मान्नु पर्ने धारणा राखेका छन् । ‘तर, हामी कहाँ शहिदको परिभाषा नै बदलियो, हर्ट अटेक हुने पनि शहिद, दमको बिरामीले मृत्यु हुने पनि शहिद, राजनैतिक आस्थाको आधारमा हत्या गरिएको पनि शहिद, आन्दोलनको क्रममा ढुँगा मुढा गर्ने पनि शहिद भनेपछि शहिदको नाममा पनि राजनीति भइरहेको छ र राज्यले पनि यसमा अडान लिने ठाउँछैन किनभने गलत परम्पराको सुरुवात राज्यले नै गरेको छ,’ रौनियारले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘अब कुरो आउँछ शालिकको ईतिहासको, ईतिहास भनेको ईतिहास हो चाहे गलत होस या सहि, त्रिभुवन चोक र बिरेन्द्र चोकले नेपालगजन्को ईतिहासमा आफुलाई जोडिसकेको छ’, रौनियारले चोकको नाम बदल्न नहुने धारणा राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसकारण शालिक भएको ठाउँमा शालिक नै राखौ र बिभिन्न आस्थाको नाममा र आन्दोलनको क्रममा राज्य पक्षबाट होस वा बिद्रोही पक्षबाट होस हत्या गरिएकाहरुको सम्झनामा महेन्द्र पार्कलाई शहिद मेमोरियल पार्कको रुपमा बिकास र सौन्दर्यकरण गरौ र यो विवादलाई समाधान गरौ यसरी गर्दा सबैको भावनाको सम्मान रहन्छ ।’
रौनियारकै भनाईमा सहमति जनाउँदै युवराज काफ्ले लेख्छन्, ‘इतिहास मेटाएर मेटिदैन, जुनजुन स्थानमा जस जसका नाममा शालिकहरु छन् तिनकै नाममा संरक्षण र सम्बद्र्धन गर्नु राम्रो हुन्छ ।’
‘राजनैतिक दलहरुले आफ्नो पूर्वाग्रह परित्याग गरी पूर्व नामित त्रिभुवन र वीरेन्द्रको शालिक राखी इतिहासलाई अक्षुण्ण राख्नु पर्दछ । नभए भोलिको पुस्ताले कसैलाई बाँकी राख्नेवाला छैन’, चोकलाई पूर्ववत् राख्नुपर्ने धारणा राख्दै राजितराम पाठक रौनियारकै भनाइमा सहमति राख्दै लेख्छन् ।
चोकका विषयमा फरक धारणा आइरहँदा चोक निर्माण हुँदा पहिलेजस्तै विरोध सुरु हुनसक्ने बताउँछन् रामेश्वर शर्मा । ‘इतिहासलाई बदल्ने होइन त्यसको संरक्षण गरेर राख्नुपर्छ’, उनी भन्छन् ।
पत्रकार मेघराज ओली पनि इतिहास भावि पुस्ताको अध्ययन र अवलोकन लागि सुरक्षित राख्नुपर्ने धारणा राख्छन् । ‘पुरानो इतिहासको जरोकिलो उखेलेर नयाँ इतिहास रच्छु भन्ने मुर्खता नगरौ ! इतिहास कालो होस् अथवा सेतो जनताको लागि त्यो राष्ट्रिय सम्पत्ति हो’, ओलीले त्रिभुवन चोकबारे धारणा राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजोकाले इतिहास नष्ट गरे भन्दैमा आजकाले पनि त्यही मार्ग अंगाल्ने हो भने भोलि तिम्रो इतिहास पनि नष्ट नहोला भन्ने कुनै ग्यारेन्टी छैन ।’ उनी भन्छन्, ‘सक्छौ इतिहास रच सक्दैनौं इतिहास ध्वस्त नबनाउ ! बिचारको हिसाबले म लोकतान्त्रिक बिचार राख्ने मान्छे हुँ तर, इतिहास जोगाउनु पर्छ भन्ने मान्यता राख्ने लोकतन्त्रवादी हुँ ध्वस्त बनाउने लोकतन्त्रवादी होइन ।’ उनले त्रिभुवन चोकमा नेपालको नक्सा र हाम्रो शान राष्ट्रिय झन्डा राख्ने कुरामा बिमती राख्न नसकिने उल्लेख गर्दै भनेका छन्, ‘अब नक्सा र झन्डा सहितको त्रिभुवन चोक नै कायम गर्न सके नयाँ पन सहित हिजोको इतिहासको झल्को पनि नमेट्ने काम हुनसक्छ । त्यसले नगरपालिकाको इज्जत होच्याउने होइन अझ जनताको नजरमा इज्जत जोगाउने छ ?’