‘विकास निर्माण निर्बाध’

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले विकास निर्माणलाई कुनै पनि हालतमा नरोक्न सरोकारवालाहरुसँग नियमित छलफल अघि बढाएका हुन्


लकडाउन खुकुलो हुँदै गर्दा जिल्लाका विकास निर्माणका आयोजनाहरुलाई निरन्तरता दिन पहल थालिएको छ । त्यसक्रममा शुक्रबार जिल्लामा रहेका विकास निर्माण सम्बन्धी सरकारी कार्यालय, स्थानीय तह, सुरक्षा अधिकारी, प्रमुख दल सम्मिलित सर्वदलीय, सर्वपक्षीय छलफल आयोजना गरियो । छलफलमा सहभागी जनप्रतिनिधिहरुले विकास निर्माणलाई निरन्तरता दिने कुरामा आफुहरु सकारात्मक भएको धारणा राखे ।


उनीहरुले विकास निर्माणमा आवश्यक जनशक्तिको आवागमन, ढुवानी लगायतका काममा कुनै किसिमको अवरोध नपुर्याउन प्रहरी, प्रशासनसँग अनुरोध गरेका थिए । बैठकमा सहभागी ठूला परियोजनाका प्रमुखहरुले लकडाउनका कारण उत्पन्न समस्याले चालु आर्थिक बर्षमा योजनाहरुले अपेक्षित गति लिन नसकेको गुनासो गरे ।


छलफलमा सहभागी निर्माण व्यवसायीहरुले नदीजन्य पदार्थको सहज उपलब्धता अभावले खासगरी सडक निर्माण कार्यलाई अगाडि बढाउन नसकिएको दाबी गरे । उनीहरुले सरकारी अंकुशकै कारण लक्षित समयमा योजना पूरा गर्न नसकेको दाबी गरे । जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा भएको छलफलमा सहभागी स्थानीय तहका प्रतिनिधिले लकडाउन खुकुलो भएसँगै उच्च स्वास्थ्य सतर्कताका साथ विकास निर्माणका रोकिएको सबै काम सुचारु गर्न जोड दिए । त्यसका लागि नदीजन्य पदार्थ उत्खनन्मा उत्पन्न गरिएको बाधा खुलाउन प्रशासनले हस्तक्षेप गर्नुपर्ने सुझाव पनि दिएका छन् ।


डुडुवा र जानकी बाहेक सबै तहका प्रमुखहरु उपलब्ध भएको बैठकमा राजनीतिक प्रमुखहरुले कोरोना कहरका कारण रोकिएको विकास निर्माण अब अगाडि बढाउने कुरामा सबैको भूमिका सकारात्मक हुनुपर्ने धारणा राखेका थिए ।


निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेक बहादुर खड्काले निर्माण सामाग्री अभावले नै ठेक्काहरु पूर्व निर्धारित समयमा पूरा हुन गाह्रो भएको तर्क प्रस्तुत गरेका थिए । ‘नियतवश रोकिने नदीजन्य पदार्थको उत्खनन्मा स्थानीय प्रशासनले हस्तक्षेप गरेर अगाडि बढ्नुपर्छ’, नेकपा बाँकेका सचिव अशोक कोइरालाले भने ।


खासगरी राप्तीसोनारी गाउँपालिकाले नियतवश नदीजन्य पदार्थको ठेक्का पट्टामा इमान्दारिता नदेखाएको आशंका धेरैको थियो । राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुकै उपस्थितिमा कतिपय तहका प्रमुख तथा विकास निर्माण सम्बद्ध सरकारी निकायका प्रमुखहरुले विकासका राष्ट्रिय योजनामा समेत राप्तीसोनारीले नदीजन्य उत्खनन्मा राजश्व तिरेर समेत ढुंगा, गिट्टी, बालुवा ल्याउन अवरोध गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।


खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति आफ्नो पालिका भित्र विकास निर्माणका कामलाई निर्बाध ढंगले अगाडि बढाइएको जानकारी दिए । उनले कतिपय ठेकेदारहरु लकडाउनको बहानामा सम्पर्कविहीन भएको भन्दै स्थानीय प्रशासनले त्यस्ता ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।


‘जिल्लामा विकास निर्माण सुचारु गराउनका लागि जनप्रतिनिधि र निर्माण सम्बद्धहरु बीच छलफल आयोजना गरिएको हो’, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भने, ‘समस्याहरुबारे निरन्तर छलफल गरी समाधानका लागि प्रशासनले पहल गर्नेछ ।’


प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जिल्लामा नदीजन्य पदार्थको अभावलाई सम्बोधन गर्नका लागि राप्तीसोनारी गाउँपालिकालाई राप्तीनदीबाट निकासी सुचारु गर्न आग्रह गरेको बताएका छन् । ‘पारदर्शी हिसाबले निकासी सहज बनाउनका लागि पालिकाका अध्यक्षसँग आग्रह गरिएको छ’, प्रजिअ कुरुम्वाङले भने, ‘त्यसका लागि प्रशासनले फिल्डमा प्रहरी खटाएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया