
भारतमा भएको सिपाही विद्रोहको नेपाल कनेक्सन नयाँ मुलुकको प्राप्तिपछि अन्त्य हुन पुग्यो । सिपाही विद्रोहको अन्त्यतिरको महत्वपूर्ण लडाई बाँके ( तत्कालिन बाँकी) को राप्ती किनारमा भएको थियो । ब्रिटिश भारतका दस्तावेजहरुमा बाँकेको बारेमा यो भन्दा बढी उल्लेख भएन । नेपालको इतिहासमा त बाँकेलाई सधंै नयाँ मुलुककै रुपमा अध्ययन गरियो । बाँकेको इतिहासको खोजी गर्नेहरुले नेपाल अंग्रेज युद्ध अघिसम्म पुग्न नै आवश्यक ठानेनन् । भारतको प्रसिद्ध तिर्थस्थल बनारस, सारनाथ अनि नेपालको कपिलवस्तु र लुम्बिनीबाट राप्ती हँुदै सुर्खेतको बाटो तिब्बतको मानसरोबर पुग्ने प्राचिन मार्गमा बौद्धकालिन अवशेष रहन सक्ने कुरामा पुरातात्विक र ऐतिहासिक खोज अनुसन्धान नै नहँुदा बाँकेका थुप्रै सम्भावनाहरु थाहै नपाइ लोप भएर गैरहेका छन् । यी सम्भावनाहरु मध्ये एक हो–बाँकेमा प्राचिन बौद्ध नगर श्रावस्तीको उपस्थिति ।
बुद्धको बारेमा सामान्य जानकारी राख्नेहरुको लागि श्रावस्ती नौलो नाम हैन । उत्तर भारतका बौद्धकालिन ६ वटा ठुला शहरहरु मध्ये श्रावस्ती एक भएको बौद्ध साहित्यहरुमा उल्लेख भएको पाइन्छ । विष्णु पुराणका अनुसार यो शहर राजा श्रावस्तीले निर्माण गराएका थिए । इशापूर्व छैटौ शताब्दी देखि इशाको छैठांै शताब्दीसम्म श्रावस्ती कोशल राज्यको राजधानी रहेको थियो । यो ठाउँमा गौतम बुद्धले २४ चतुर्मास बिताएको विश्वास गरिन्छ । प्राचिन चिनिया यात्रीहरु फाहियान र हुयन साँङ्गले श्रावस्तिको भ्रमण गरेका थिए र उनीहरुले त्यहाँबाट कपिलवस्तु र लुम्बिनी भ्रमण गरि श्रावस्ती र यी स्थानको दिशा र दुरी समेत आफ्नो यात्रा वृतान्तमा उल्लेख गरका छन् । श्रावस्ती बौद्ध र जैन दुवै धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । श्रावस्तीको ऐतिहासिक पक्षको चर्चा अहिले यति मात्र गरांै ।
बाह्रौ शताब्दीसम्म बौद्ध धर्मको प्रमुख केन्द्रका साथै प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको श्रावस्ती कालान्तरमा ओझेलमा पर्दै गयो र भग्नावशेषमा परिणत भएर मानिसहरुको सम्झनाबाट लोप भयो । भारतमा अंग्रेजी शासन स्थापित भएपछि बौद्ध स्थलहरुको खोजी गर्न थालियो । यसै क्रममा जनरल कनिंघमले ( जसलाई फादर अफ इन्डियन आर्कियोलोजी भनिन्छ) फाहियानको यात्रा वृतान्तको आधारमा कपिलवस्तु र श्रावस्तीको खोजी शुरु गरे । सन् १८६३ को जनवरीबाट राप्ती नदीको दक्षिणमा अवस्थित सहेत महेत भन्ने स्थानमा उनले उत्खनन् गरे र त्यहाँ प्राचिन चिनिया यात्रीले देखेको भनिएको श्रावस्ती उल्लेखित स्तम्भ भेटिएको भन्दै त्यहि ठाउँ श्रावस्ती भएको ठहर गरे ( आर्कियोलोजिकल सर्भे अफ इन्डिया भोल्युम १, १८७१ पृष्ठ ३३०) । त्यसयता त्यहि ठाउँलाई श्रावस्ती मान्न थालियो र त्यहि स्थानमा नै उत्खनन्, जिर्णोद्वार लगायतका कामहरु गरियो । अहिले श्रावस्ती भारतका प्रसिद्ध बौद्ध स्थलहरुको रुपमा विकसित भएको छ र वर्षेनी लाखौ बौद्धमार्गीहरू त्यहाँ जाने गरेका छन् ।
हुयन साङ्गको यात्रा वृतान्त अनुसार श्रावस्तीको क्षेत्रफल ४ हजार लि. ( प्राचिन चिनिया लम्बाई एकाई) अर्थात ६६७ माइल रहेको थियो । घाघरा र हिमालको विचमा रहेको भनिएको सो क्षेत्रले अहिलेको नेपालको भूभाग पनि समेट्छ । यसैलाई आधार बनाएर केहि पुरातत्वविद्हरुले राप्ती नदीको छेउछाउ बाँके जिल्लामा पनि श्रावस्ती हुनुपर्छ भनेर खोज गरेको भेटिन्छ । श्रावस्ती बाँके जिल्लामा पर्छ भनेर उल्लेख गर्ने व्यक्ति विन्सेट ए.स्मिथ हुन् । उनले सन् १८९६ मा कनिंघमको खोजमा आशंका व्यक्त गर्दै सहेत महेतको ६० माइल पश्चिम–उत्तरमा श्रावस्ती हुनुपर्छ भन्ने कुरा व्यक्त गरेका थिए (च्झबष्लक लभबच पबकष्ब ष्ल तजभ न्यचबपजउगच, ज्ञडढट उबनभ द्ध ) त्यसको २ वर्ष पछि उनले नेपालगन्ज रोड रेलवे स्टेशन देखि १५ माइल उत्तरपूर्व नेपालमा राप्ती नदीको किनारमा श्रावस्ती हुनुपर्छ भन्ने विचार व्यक्त गरेका थिए ।
स्मिथले सहेत महेतमा नभई नेपालगन्जको छेउछाउ नै श्रावस्ती हुनुपर्छ भन्ने कुरा चिनिया यात्रीहरुले यात्रा वृतान्तमा उल्लेख गरेको दुरी र दिशाको आधारमा लेखेका थिए । द जर्नल अफ रोयल एशियाटिक सोसाइटी १९०० मा उनले श्रावस्तीको बारेमा लामो अनुसन्धनात्मक लेख लेखेर कनिंघमको ठोकुवामा शंका गरेका थिए । फाहियानले १३ योजन दक्षिण पूर्वमा कपिलवस्तु रहेको उल्लेख गरेका थिए भने हुयन सांगले ५०० लि ( १२ योजन अर्थात ८३.५ माइल) दक्षिण पूर्वमा कपिलवस्तु रहेको उल्लेख गरेका छन् । यी दुवै चिनिया यात्रीहरुले उल्लेख गरेको दुरी लगभग उस्तै छ । यसैको आधारमा स्मिथले श्रावस्ती ८४ देखि ९० माइलको दुरीमा नेपालगन्ज देखि पूर्वोत्तर राप्ती नदीको किनारमा हुनुपर्ने ठहर गर्दै अर्का पुरातात्वविद् डा.भोस्टलाई लिएर उक्त ठाउँमा गएका थिए । उनले त्यहाँ दुइवटा स्तुप र थुप्रै भग्नावशेषहरु भेटेको र स्थानीयले त्यो ठाउँको वरपर धेरै भग्नावशेषहरु भएको बताएपनि जान नभ्याएको कुरा जर्नलमा उल्लेख गरेका छन् (पृष्ठ ६) । सहेत महेत कपिलवस्तु देखि ५५ माइल दक्षिण पश्चिममा रहेकोले कनिंघमले उल्लेख गरेको सहेत महेत श्रावस्ती हुन नसक्ने उनको भनाइ छ । हयन सांगको वर्णनमा तथागत बुद्ध जेतवन आउदा अन्धकुटिमा रहेका ५०० जना अन्धा भक्तहरुले विलौना गरेको र त्यहि समयमा नजिकैको पहाडबाट चिसो हावा चलेर त्यहाँ रहेका सबैको दृष्टि फर्किएको कुरा उल्लेख भएकोले पनि श्रावस्ती पहाडको नजिकै हुनुपर्ने, जुन सहेत महेतमा नभएको स्मिथले उल्लेख गरेका छन् ( पृष्ठ २१) । स्मिथको अनुमानमा पुरातात्वविद् फुहररले बहराइच जिल्लामा पर्ने चर्दा भन्ने स्थानबाट १५ माइल उत्तर–पुर्व नेपालमा राप्ती नदीको पश्चिम किनारामा मटेहिया भन्ने ठाउँमा श्रावस्तीका पुरातात्विक अवशेष रहेको उल्लेख गरेपनि उनले सहेत महेत नै श्रावस्ती भनेको कुरा मोनोग्राफ अफ बुद्ध शाक्यमुनी बर्थप्लेस ईन नेपाल तराइ(१८९७) को पृष्ठ ३५ मा उल्लेख गरेका छन् । यी अध्ययनहरुको आधारमा वर्तमान समयको पुरेनी, बालापुर क्षेत्र प्राचिन श्रावस्ती भएको अनुमान गर्न सकिन्छ ।
नेपालगन्जवासी प्राज्ञ सनत रेग्मीले सद्भावको शहर नेपालगन्ज नामक पुस्तकमा “…जे स्मिथले चन्द्र समशेरको पालामा कम्दी बालापुरमा ढिस्कोको उत्खनन् गराई बौद्धकालिन नगरीको पत्ता लगाए । सो नगरी श्रावस्ती हुन सक्ने अनुमान लगाए । पछि सहेत महेतको उत्खननमा भारततर्फ श्रावस्तीको पत्ता लागेपछि त्यसलाई पुष्टि गर्न जे स्मिथले नेपालमा पाएको बौद्धकालिन नगरी श्रावस्ती होइन भनियो …“ भन्ने उल्लेख हुनुले अहिलेसम्म इतिहासको खोजी नभएपनि सचेत नागरिकले मनले भएपनि श्रावस्ती खोजीरहेको महसुस गर्न सकिन्छ ।
एउटा सहज प्रश्न उठ्छ –हालको श्रावस्तीमा स्तम्भ कसरि भेटियो त ? सोझो शंका कनिंघमतर्फ नै तेर्सिन्छ । सन् १८६२ को जनवरीमा कनिंघमलाई सर्भेयर नियुक्त गरिएको थियो र उनलाई काम गरेर देखाउनु पर्ने थियो । बाँके जिल्ला भर्खर नेपाललाई दिएको बेलामा त्यो क्षेत्रमा सीमा छुट्याउने काम भएको थिएन र नेपालको प्रशासनिक उपस्थिति पनि दह्रो थिएन । त्यहि मौकाको फाइदा उठाउदै राप्ती किनारबाट स्तम्भ र अन्य पुरातात्विक वस्तुहरु सहेत महेतमा लगेर त्यहाँ भेटिएको रिपोर्ट तयार हुन् सक्छ ।
दोश्रो कुरा, राप्ती नदीले धार परिवर्तन गर्न थालेपछि बाह्रौ शताब्दीमा नै स्तम्भलाई मानिसहरुले सहेत महेत पु¥याएको र मानिस समेत ठाँउ सरेर गएपछि यो ठाँउ भग्नावशेष भएको हुन सक्छ । अर्को अनुमान के गर्न सकिन्छ भने चिनिया यात्रीहरुले देखेको स्तम्भ र अन्य संरचना बाँके जिल्लामा नै माटोमा पुरिएर रहेको हुन सक्छ, जसको अहिलेसम्म उत्खनन् हुन् सकेको छैन । चिनियाँ यात्रीहरुले वर्णन गरेको कपिलवस्तु र हालको श्रावस्ती विचको दुरी र दिशा मेल नखाएकोले बाँकेको राप्ती छेउछाउका क्षेत्रहरुको उत्खनन् नगर्दासम्म प्राचिन श्रावस्ती यहिँ भएको अनुमान गर्ने आधारहरु यीनै हुन् ।
कुनै समय तिब्बतदेखि गङ्गासम्म फैलिएको खस राज्यका राजाहरुले बौद्ध धर्म पालना गरेको पाइन्छ । खस राजा क्राचल्लका छोरा अशोक चल्लका तीनवटा शिलालेख बोधगयामा पाइएका छन् । जसमध्ये लक्षमण सेन सम्बत ७४ बैशाखमा कँुदिएको एक शिलालेखमा उनलाई ”सपादलक्षसिपरी खसदेशराजाधिराज“ उल्लेख गरिएको छ । उनले बोधगयामा बुद्ध बिहार, बुध्द प्रतिमा र बौद्ध मन्दिर निर्माण गराएका थिए । लुम्बिनीको अशोक स्तम्भ र कपिलवस्तुको निगालिसागरमा रहेको अशोक स्तम्भमा खस राजा रिपू मल्लको नाम र मिति समेत उल्लेख गरिएको छ । श्रावस्तीमा भएको स्तम्भका लेखाईहरु पनि त्यहि आसपासमा लेखिएको पुरातात्वविद्हरुले उल्लेख गरेका छन् । प्राचिन समयमा भारतको वनारसदेखि तिब्बतको मानसरोबर जाने बाटो राप्तीको किनार किनारै बाँके आएर सुर्खेत उपत्यका हुँदै जाने भएको र चुरेको घाँेच हँुदै कपिलवस्तु, लुम्बिनी र कुशी नगर जान सकिने भएकोले यी दुबैको पायक पर्ने ठाउँमा बाँके जिल्लामा श्रावस्ती हुने आधारहरु छन् । खस राज्यको पतन संगै बाँकेको किनारमा रहेको श्रावस्ती स्मृतिबाट समेत हराएको मौकामा केहि गरेर देखाउने होडमा लागेका ब्रिटिस पुरातत्वविद्हरुले भारतमा श्रावस्ती तयार गर्नु अचम्मको कुरा रहेन । धेरै ब्रिटिश र भारतीय पुरातत्वविदहरुले सहेत महेतलाई श्रावस्ती भनेपनि ऐतिहासिक तथ्यहरु र केहि अध्ययनहरुले बाँके जिल्लामा श्रावस्ती रहेको हुनसक्ने संकेत गरेका छन् ।
यति संकेत पाउँदा पाउँदै पनि सम्भावित स्थानको पुरातात्विक खोज अहिलेसम्म नगरिनु दुखको कुरा हो । ब्रिटिश र भारतीयहरुले भारतमा श्रावस्ती पर्छ भनेर यकिन गरिसके भनेर चुप लागेर बस्नु आवश्यक छैन । बाँकेको राप्ती पश्चिम किनारामा लुकेको प्राचिन इतिहासको खोजी गर्न ढिला गर्नु हुँदैन । रामग्रामदेखि कपिलवस्तुसम्म फैलिएको बुद्ध सर्किटमा बाँके पनि जोडियो भने नेपालको लागि गर्वको कुरा हुनेछ । यदि बाकेमा श्रावस्ती हैन भन्ने प्रमाणहरु भेटिएछन् भने पनि सनत रेग्मीले देख्नुभएको, स्मिथले खन्न नपाएको बालापुरको ढिस्काहरुको इतिहास त थाहा पाइनेछ ।











