आर्थिक विधेयक २०७७ ले गरेको कर सम्बन्धी संसोधनहरु :
आयकर दरहरुमा कुनै परिवर्तन गरिएको छैन । आयकर छुट हुने सीमा वृद्धि गरी एकल प्राकृतिक व्यक्तिका लागि रु. चार लाख र दम्पत्तिका लागि रु. चार लाख पचास हजार पुर्याइएको छ ।
करको दायरमा आउनेलाई शुल्क तथा ब्याज मिनहा दिने
कुनै व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आय आर्जन गरेको तर त्यसमा लाग्ने कर नबुझाएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आ.व. २०७४।७५ र २०७५।७६ को आय विवरण र सोमा लाग्ने कर २०७७ फाल्गुन मसान्तभित्र बुझाएमा सो बापत लाग्ने शुल्क तथा ब्याज मिनहा गरिएको छ र आ.व. २०७४।७५ भन्दा आघिका आय वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन ।
थप दस्तुर, शुल्क ,ब्याज तथा जरिबाना मिनहा दिइने
स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने वाषिक पचास लाख सम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले विगतमा आ.व. २०७३।७४, २०७४।७५ र २०७५।७६ को आय विवरण ,सोमा लाग्ने कर र सोमा लाग्ने ब्याजको पच्चिस प्रतिशत २०७७ फाल्गुन मसान्तभित्र बुझाएमा आ.व. २०७३।७४ भन्दा आघिका आय वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन ।
स्थायी लेखा नम्बर लिई आ.व. २०७३।७४ वा सो भन्दा अघिका आय विवरण पेश नगर्ने वाषिक पचास लाख भन्दा बढीको कारोबार गर्ने प्राकृतिक व्यक्ति वा निकाये आय विवरण ,सोमा लाग्ने कर र सोमा लाग्ने ब्याजको पच्चिस प्रतिशत २०७७ फाल्गुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज बुझाउनु पर्ने छैन ।
मु.अ. करमा दर्ता भई २०७५ साल असार मसान्तसम्मको मु.अ. कर विवरण पेश नगरेका करदाताले कर विवरण, सोमा लाग्ने कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशत रकम २०७७ फाल्गुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिबाना, थप दस्तुर तथा बाँकी ब्याज मिन्हा हुनेछ । यदि यो अधिभित्र कर विवरण पेश गरिएन र २०७३ असार मसान्तसम्मको कर विवरण पेश नगर्ने करदाताको दर्ता स्वतः खारेज हुनेछ ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई लाग्ने कर, शुल्क तथा ब्याज मिनहा सम्बन्धी विशेष व्यस्था
जलस्रोत ऐन २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आ.व. २०७५।७६ सम्मको कारोबारमा आन्तरिक राजस्व कार्यालयबाट कर निर्धारण भई बक्यौता रहेको कर, शुल्क तथा ब्याज र आ.व. २०७६।७७ र सो भन्दा अघिका आय वर्षहरुमा संस्थाले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने कर मध्ये तिर्न बाँकी कर, शुल्क तथा ब्याज मिनहा हुनेछ ।
शुल्क, थप दस्तुर तथा जरिबाना मिन्हा सम्बन्धी विशेष व्यस्था
आयकर ऐन २०५८, मु.अ. कर ऐन, २०५२ र अन्तः शुल्क ऐन २०५८ बमोजिम २०७५ असार मसान्तभित्र भएको कर निर्धारणमा चित्त नबुझी प्रशासकीय पुनरावलोकन, राजस्व न्यायधिकरण वा अदालतमा विचारधीन रहेका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको आयकर, मु.अ. कर र सोमा लागेको २०७७ फाल्गुन मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिबाना मिनहा हुनेछ ।
कोभिड १९ को संक्रमणबाट प्रभावित कारोबारमा करछ्रुट सहुलियत
वार्षिक २० लाख सम्मको कारोबार वा दुई लाख सम्म आय भएको कर दातालाई आय वर्ष २०७६।७७ मा लाग्ने करमा ७५ प्रतिशत छुट हुनेछ । त्यस्तै कारोबारको आधारमा कर बुझाउने वार्षिक २० लाख देखि पचास लाख सम्मको कारोबार भएका करदातालाई लाग्ने करमा ५० प्रतिशत छुट हुनेछ । र वार्षिक एक करोड सम्मको कारोबार गर्ने करदातालाई लाग्ने करमा २५ प्रतिशत छुट हुनेछ ।
होटल, ट्राभेलिंग वा यातायात सेवाको वार्षिक एक करोड भन्दा बढी कारोबार गर्ने व्यक्तिलाई लाग्ने करमा २० प्रतिशत छुट हुनेछ ।
कोरोना कोषमा योग्दान कर छुट हुने
कुनै व्यक्तिले नेपाल आयवर्ष २०७६।७७ मा नेपाल सरकार, प्रदेश वा स्थानीय तहले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योग्दान गरेको रकम करयोग्य आयबाट घटाउन पाउनेछ ।
ज्याला खर्च कट्टी सम्बन्धी व्यवस्था
आर्थिक ऐन २०७६ अनुसार स्थायी लेखा नम्बर नलिएका कर्मचारी तथा कामदारलाई भुक्तानी गरेको पारिश्रमिक तथा ज्याला खर्च कट्टी गर्न नपाउने व्यस्था गरेको थियो । यसमा आर्थिक विधेयक २०७७ ले आय वर्ष २०७६।७७ मा पटके प्रकृतिको रुपमा तीन हजार सम्मको ज्यालाको भुक्तानी स्थायी लेखा नम्बर नलिएका कामदारलाई गर्दा खर्च दाबी गर्न पाउने व्यस्था गरेको छ ।
बिना प्यानको बीजक
आर्थिक ऐन २०७६ अनुसार स्थायी लेखा नम्बर उल्लेख नभएको एक हजार भन्दा बढी मुल्यको बीजक बापतको खर्च कट्टी गर्न नपाउने व्यस्था गरेको थियो । यसमा यस आर्थिक विधेयकले आय वर्ष २०७६।७७ मा व्यवसाकि कारोबार नगर्ने प्राकृतिक व्यक्तिसंगै सोझै गरिने कृषिजन्य, वनजन्य, पशुजन्य र अन्य घरायसी वस्तुको खरिद तथा स्थायी लेखा नम्बर उल्लेख नभएको दुई हजार सम्मको बीजक बापतको खर्च कट्टी गर्न पाउने व्यस्था गरेको छ ।
अग्रिम कर कट्टी
आर्थिक विधेयक २०७७ ले ढुवानी सेवा तथा ढुवानी साधन भाडामा दिए बापतको भुक्तानी रकममा २.५ प्रतिशत का दरले (भ्याटमा दर्ता नभएमा) र १.५ प्रतिशत का दरले (भ्याटमा दर्ता भएमा) कर कट्टी गर्ने व्यस्था गरेको छ ।
अग्रिम कर असुल गर्ने
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई परीक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बासिन्दा बंैक वा वित्तीय संस्थाले त्यस्तो परीक्षा शुल्क बापतको रकममा विदेशी मुद्राको सटही सुविधा दिएको बखत पन्ध्र प्रतिशतका दरले अग्रिम कर असुल गर्नेछ ।
सहकारी संस्थाको करको दर
आय वर्ष २०७६।७७ मा वित्तिय कारोबार गर्ने सहकारी संस्थालाई नगरपालिका क्षेत्रभित्र ५ प्रतिशत उपमहानगरपालिका क्षेत्रभित्र ७ प्रतिशत र महानगरपालिका क्षेत्रभित्र भए १० प्रतिशत मात्र कर लाग्नेछ ।
आर्थिक विधेयक २०७७ ले कवाडी तथा पत्रुको व्यवसाय , नगरपालिका क्षेत्र भित्र कारोबार गर्ने शैक्षक परामर्श तथा लेखा र लेखापरीक्षण सम्बन्धी सेवालाई मु.अ. कर मा अनिवार्य दर्ता हुने व्यवसायबाट हटाएको छ । त्यस्तै कुनैपनि क्षेत्र भित्र प्रदान गर्ने कानुनी परामर्श सेवालाई मु.अ. कर मा अनिवार्य दर्ता हुने व्यवसायबाट हटाइएको छ ।
औषधि उद्योगलाई खरिदमा तिरेको कर फिर्ता हुने
औषधि उद्योगले औषधि उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिंग मटेरियल स्वदेशी उद्योगबाट खरिद गरेमा उक्त खरिदमा तिरेको कर चौमासिक रुपमा फिर्ता पाउन निवेदन दिन सक्छ ।
बाण्डेड वेयरहाउसको व्यस्था
आफ्नो उत्पादनको २० प्रतिशत भन्दा बढी निर्यात गर्ने व्यक्तिलाई सबै प्रकारका कच्चा पदार्थको आयातमा बाण्डेड वेयरहाउसको सुविधा उपलब्ध हुनेछ । सहकारी उद्योगले पैठारी गर्ने ढुवानी साधनमा ५० प्रतिशत छुट दिइएको छ । ( लेखा परीक्षक खान अडानका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हुन्)









