नेपालगन्ज उपमहानगरपालिकाले त्रिभुवन चोकमा स्तम्भ बनाएर राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । आइतबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले चोकमा स्तम्भ बनाएर राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको हो ।
उपमहानगरको निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा त्यसको विरोध सुरु भएको छ । यसअघि नेपालगन्ज उद्योग वाणिज्य संघले स्तम्भ निर्माणका लागि हाल शालिक राखेको स्तम्भ भत्काउन लाग्दा विरोध भएपछि रोकिएको थियो । उपमहानगरपालिकाकै अनुमति लिएर संघले स्तम्भ बनाउन खोजेपछि उपमहानगर आफै पछि हट्दा काम रोकिएको थियो ।
अहिले त्रिभुवन चोकको स्तम्भ रहेको ठाउँलाई सचेतनामूलक तथा उपमहानगरपालिकाका विभिन्न सूचना लेखिएका ब्यानरले ढाकिएको छ । चोकका विषयमा तीन थरी धारणा आएपछि काम सहजै अघि बढ्न नसक्ने अनुमान गर्न सकिन्छ । राष्ट्रिय झण्डा राख्ने, सहिदको नाममा चोक नामाकरण गरी शालिक राख्नुपर्ने र इतिहास नमेटाउनका लागि पूर्ववत् त्रिभुवनको शालिक पुनः राखिनु पर्नेमा स्थानीयबासीको धारणा बाझिएको छ ।