भारतको विद्युत रोकियो, नेपालतर्फको ‘सिष्टम कोल्याप्स’ हुँदा विद्युत अनियमित
पछिल्ला दिन नेपालगन्जमा विद्युत अनियमित हुँदै गएको छ । लकडाउनका बेला उद्योग, कलकारखाना, पसल, व्यवसाय बन्द छन् । यसले गर्दा विद्युतको खपत कम छ । तर, पनि नेपालगन्जमा विद्युतको आपूर्ति अनियमित रहेको छ । जेठ महिना नेपालगन्जमा अत्याधिक गर्मी हुने महिना हो । तापक्रम ४० डिग्री सेल्सियस नाघिसकेको नेपालगन्जमा घण्टौसम्म पूर्व सूचना विना विद्युत अनियमित भैरहेको छ ।
हाल नेपालमा नेपालकै विद्युतले लोड धान्ने अवस्था रहेको बताइँदै आएको छ । तर, विद्युत नियमित भने छैन । यसका दुई वटा कारण रहेको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखन लला मलिक बताउँछन् । नेपाल तर्फको लाइनमा प्राविधिक समस्या हुँदा नेपालगन्जमा विद्युत अनियमित भैरहेको मलिक बताउँछन् । ‘नेपालकै विद्युत पर्याप्त रहेकाले भारतीय विद्युत ल्याउन केन्द्रबाट नै रोकिएको छ’, मलिकले भने । ‘नेपालको सिष्टम दिनहुँ जसो कोल्याप्स देखिइरहेको छ’, वितरण केन्द्र प्रमुख मलिकले भने, ‘त्यसले गर्दा विद्युत अनियमित हुन गएको हो ।’ ‘अहिलेको अवस्थामा माग अनुसार आपूर्ति गर्ने क्षमता रहेको छ’, उनी भन्छन् ।
वितरण केन्द्र प्रमुख मल्लिकले त्यसबाहेक विद्युत बिस्तार, मर्मत सम्भारका काम गर्न पनि विद्युत अनियमित हुने गरेको जानकारी दिएका छन् । ‘मर्मत तथा यसअघि भएका १३ वटा टेण्डरको कामका लागि पनि लाइन काट्नु पर्ने हुन्छ’, मल्लिकले भने, ‘स्थानीय निकाय, प्रदेश र संघका बाटो फराकिलो गर्ने, नाला व्यवस्थापन गर्ने कार्य हुँदा पनि लाइन सार्नु पर्छ त्यतिखेर निश्चित क्षेत्रको लाइन काट्नु पर्ने हुन्छ ।’
नेपाल तर्फको प्रसारण लाइनबाट लामो समय प्रसारण अनियमित भएको अवस्थामा भारतबाट नेपालगन्जका लागि विद्युत ल्याउने हो भने अहिलेको समस्या केही हदसम्म हल हुने जानकारी दिंदै मल्लिकले भने, ‘तर, त्यसका लागि नेपाल विद्युत प्राधिकरणको अनुमति आवश्यक पर्छ ।’ ‘चैत्र ११ गतेदेखि भारतबाट नेपालगन्जमा विद्युत ल्याइएको छैन’, मल्लिक भन्छन्, ‘चालु आ.व.को साउनदेखि नै भारतीय विद्युतको प्रयोग घट्दै गएको छ ।’
विगतका बर्षमा नेपालगन्जको विद्युत पुरै भारतीय विद्युतको भरोसामा थियो । भारतबाट १०÷११ एमभिए सम्म विद्युत नेपालगन्जका लागि आउँथ्यो । नेपालगन्जमा विद्युतको माग बढ्दै गएपछि नेपाल तर्फबाट पनि विद्युत ल्याउन थालियो । तर, नेपालमा विद्युत उत्पादन बढेपछि पुनः भारतीय विद्युतको प्रयोग घट्दै आएको हो ।
यसैबीच, विद्युतको माग कम भएको समयमा समेत विद्युत अनियमित भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले तत्काल नियमित गर्न नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वमा वितरण केन्द्र पुगेको संघको टोलीले विद्युत नियमित गर्नका लागि ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
संघले प्राधिकरण मार्फत उर्जा मन्त्रालयदेखि केन्द्रीय कार्यालयसम्मको ध्यानार्कषण गराउँदै तत्काल विद्युत नियमित गराउन माग गरेको संघ महासचिव चिरञ्जीवि ओलीले जानकारी दिएका छन् । विद्युतका विषयमा ध्यानार्कषण गराउन बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, महासचिव चिरञ्जीवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंकबहादुर धामी लगायत विद्युत कार्यालय पुगेका थिए । उनीहरुले विद्युत अनियमित हुँदा लकडाउनमा घरमा बसेका नागरिकहरु आक्रान्त भएको बताएका थिए । महासचिव ओलीले विद्युत खपत कम भैरहेको अवस्थामा पनि विद्युत अनियमित भएकाले तत्काल नियमित गर्नका लागि पहल थाल्न आग्रह गरेका थिए । ‘त्यसका लागि संघ कहाँ पुगेर भन्नुपर्छ, के पहल गर्नुपर्छ हामी तयार छौं’, महासचिव ओलीले भने ।