बाँके : कोडिभ संक्रमित व्यवस्थापनको सकस ?, अझै अलमल !

बाँकेमा कोरोना पोजेटिभको संख्या ९३ रहेको छ । सोमबार नरैनापुरमा ५९ जना कोरोना संक्रमित भेटिएका थिए । कोरोना पोजेटिभको रिपोर्ट दिउँसो चार बजे स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएपनि त्यसअघि त्यहाँको अवस्थाबारे स्वास्थ्य तथा प्रशासनका अधिकारीहरुलाई थियो । तर, पोजेटिभ विरामी कहाँ राख्ने भन्ने पूर्व तयारी नहुँदा नरैनापुरमा भेटिएका पोजेटिभले क्वारेन्टाइनमै सोमबारको रात बिताए । मंगलबार अबेर रातीसम्म कोभिड संक्रमित सबै बिरामीको व्यवस्थापन हुन सकेको थिएन ।

सोमबार रातीदेखि नै नरैनापुर गाउँपालिकाकै लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितलाई राख्ने तयारी गरियो । स्वास्थ्य केन्द्रमा बिरामी राख्न पूर्वाधार नभएको भन्दै चौतर्फी विरोध भएपछि उनीहरुलाई कोहलपुर र नेपालगन्जमा ल्याएर राख्ने निर्णय बाँके प्रशासनले गरेको थियो । तर, कोहलपुरमा कोभिड संक्रमित राख्न नदिने भन्दै स्थानीय सडकमा उत्रिए भने नरैनापुरमा अफवाह फैलाइएपछि संक्रमितका आफन्तले बिरामी लैजान नदिने भन्दै अवरोध सिर्जना गरे ।


मंगलबार दिउँसोसम्म नरैनापुरका ५९ मध्ये २८ बिरामीलाई खजुरारोडको लायन्स डेन्टल अस्पतालमा राखिएको छ । समुदायको विरोधका कारण मंगलबार अबेरसम्म सबै बिरामीको नेपालगन्ज वा कोहलपुरमा व्यवस्थापन हुन सकेको थिएन । जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले कोहलपुरको कृषि विकास बैंक तालिम केन्द्रमा नरैनापुरका ३४ बिरामीलाई राख्ने निर्णय गरेपनि स्थानीयको विरोध पछि लग्न नसकेको व्यवस्थापनमा खटिएका एक अधिकारीले बताए । नरैनापुरका बाँकी ३४ लाई पनि खजुरारोडको डेन्टल अस्पतालमा ल्याएर राखिएको छ । डेन्टल अस्पतालको क्षमता भन्दा बढी कोरोनाको बिरामी राखिएपनि उनीहरुको अन्यन्त्र व्यवस्थापन हुन सकेको छैन ।


मंगलबार कोभिड संक्रमितको व्यवस्थापनमा देखिएको सकसले भोलिका दिनमा थप अप्ठ्यारो पर्ने देखिन्छ । बाँकेमा अझै सयौंको टेष्टको रिपोर्ट आउन बाँकी रहेको छ । नरैनापुर जस्तो ह्वात्तै संक्रमित देखिने र समुदायले उनीहरुको व्यवस्थापनमा अवरोध गरे थप समस्या आउने व्यवस्थापनमा खटिएका एक स्वास्थ्यकर्मीले बताए । यसअघि खजुरामा क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउँदा समुदायबाट विरोध भएको थियो । यद्यपि, खजुरा गाउँपालिकाले पहल लिएर स्थानीयलाई सम्झाएपछि अस्पतालमा कोभिडका बिरामी राख्न सम्भव भएको थियो ।


बाँकेमा २५ जना कोरोना पोजेटिभ भेटिएपछि उनीहरुको उपचार खजुराको कोरोना विशेष अस्पतालमा भैरहेको छ । त्यहाँ बर्दियाका थप एक जनाको उपचार भैरहेको छ । उपचारमा खटिने स्वास्थ्यकर्मी समेत बस्ने भएकाले खजुरामा तत्काल थप बिरामी राख्ने अवस्था छैन ।
जिल्ला स्थिति कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले थप २ सय बेडको कम्युनिटि आइसोलेसन सेन्टर बनाउनका लागि स्थल पहिचान गर्नका लागि प्रशासन, स्थानीय तह र भेरी अस्पतालका प्रतिनिधि सम्मिलित समिति यसअघि बनाएको थियो । समितिको सिफारिसमा कोहलपुरको कृषि विकास बैंक तालिम केन्द्र, खजुराको कृषि तालिम केन्द्र, नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेज पहिचान गरी प्रयोगको निर्णयका लागि कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर निर्णयका लागि पठाइएको छ । ‘आइसोलेसनका लागि थप स्थानहरुको पहिचान र खोजी कार्य हुँदैछ’, भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले भने ।
जिल्लामा कोभिडको बिरामी बढ्दै गएपछि मंगलबार भएको जिल्ला स्थिति कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले खजुराको क्यान्सर अस्पतालको पुरै बिल्डिङलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्नका लागि निर्णय गर्नका लागि केन्द्रीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । बैठकले कोभिडका विरामीको परीक्षण, उपचार, मृतकको शव व्यवस्थापन लगायतका कार्यको लागि आवश्यक सुरक्षा सामाग्री र किट्स थप व्यवस्थापनका लागि केन्द्रसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया