बाँकेमा स्वास्थ्य सम्बन्धित सुरक्षा सामाग्री माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रबार सर्वदलीय, सर्वपक्षीय उपस्थितिमा भएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले सुरक्षा सामाग्री माग गर्ने निर्णय गरेको हो ।
बैठकले सीमाबाट भित्रिने नेपालीहरुको आरडीटी, पिसिआर परीक्षण, क्वारेन्टाइनमा रहेका नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य शंकास्पद व्यक्तिहरुको लागि स्वास्थ्य सामाग्री माग गरेको हो ।
बैठकले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर छाउनीसँग क्वारेन्टाइनमा रहेका शंकास्पद व्यक्तिहरुको परीक्षणका लागि भिटिएम र आरडीटी क्रमशः ६ सय र १ हजार थान माग गरेको हो । त्यस्तै, स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरुका लागि २ सय थान पिपिइ, २ हजार थान माक्स र २ हजार थान ग्लोब्स माग गरिएको छ ।
पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न चालक/सहचालक तथा कर्मचारीहरुका लागि २ सय थान पिपिइ, ४ सय थान माक्स र ५ सय थान ग्लोब्स माग गरिएको छ । सुरक्षाकर्मीहरुका लागि पनि सुरक्षाका लागि १ सय थान पिपिइ, २ हजार थान माक्स र २ हजार थान ग्लोब्स सेट माग गरिएको छ ।
कोभिडको जोखिम नियन्त्रणका लागि खटिएको सुरक्षा समिति, डिडिएमसी, डिसीएमसी तथा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुका लागि ५ सय थान माक्स र ४ सय सेट ग्लोब्स माग गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।