भारतले लकडाउन खुुकुलो गर्दै फर्किन चाहनेहरुका लागि रेल सेवा समेत सञ्चालनमा ल्याएपछि नेपालीहरु बाँकेका विभिन्न नाका हुँदै फर्किन थालेका छन् । त्यसक्रममा मंगलबार मात्रै डुडुवा नाकाबाट २९ जना नेपाली फर्किएका छन् । उनीहरु वडा नं. ३ हलबलडोलीका नेपाली हुन् । भारतका विभिन्न ठाउँमा मजदुरीका लागि गएका उनीहरु सीमानामा पुगेपछि आफन्तहरु पुगेर ल्याएका थिए । उनीहरुलाई वडा नं. ३ स्थित श्रीमावि डुडुवामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको डुडुवा गाउँपालिका नेकपा अध्यक्ष सकिल खानले जानकारी दिएका छन् ।
त्यस्तै, नरैनापुर गाउँपालिकासँग जोडिएको भारतीय नाकाबाट ठूलो संख्यामा नेपालीहरु फर्किएका छन् । नरैनापुर–४ का उनीहरु मुम्बई, कानपुर र दिल्लीबाट फर्किएका हुन् । उनीहरुलाई पनि स्थानीय क्वारेन्टाइनमा राख्न लागिएको बताइएको छ । ‘मंगलबार सयौंको संख्यामा भित्रिएका नेपालीलाई स्थानीय विद्यालयमा क्वारेन्टाइन गरेर राख्ने काम भैरहेको देखिन्छ’, स्थानीय समेत रहेका पत्रकार विनय दीक्षितले भने, ‘अबेरसम्म पनि भारतबाट नेपाली आउने क्रम जारी देखिन्छ ।’
भारतको नानपारा र बहराइचका क्वारेन्टाइन रहेका ५ सय बढी नेपालीलाई फर्काउन भारतीय अधिकारीहरुले बाँके प्रशासनसँग औपचारिक रुपमै पहल गरिरहेको छ । ‘हामी नेपालीलाई कसरी ल्याउने भन्ने केन्द्रको निर्णय पर्खिरहेका छौं’, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने ।












