रमजान अर्थात, इस्लामिक धर्माबलम्बीहरुको महान पर्वसँग जोडिएको पवित्र महिना । विश्वभरि फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरसले सन्त्रास फैलाइरहँदा नेपालगन्जमा पनि मुलुकसँगै लकडाउन चलेको आज ४९ दिन पुगेको छ । लकडाउनको सन्नाटा चिर्दै ४८ औं दिन दैनिक नेपालगन्ज प्रतिनिधि शाहिदा शाह बाहिदी नेपालगन्ज ७ स्थित एक मुस्लिम धर्मगुरुका घर पुगिन्, जसलाई नेपालगन्जमा कोरोना संक्रमणको पहिलो घटना पुष्टि भएको थियो । त्यसपछि थप १५ हुँदै अहिले २४ जनालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । यतिबेला पनि नेपालगन्ज बजारमा लकडाउनको पालना भन्दा अटेरी गर्नेहरुको संख्या बढिरहेको छ, तर ६० वर्षीय धर्मगुरु जो नेपालगन्ज ८ स्थित एउटा मस्जिदका मोअज्जीन थिए, उनको घरबाहिर भन्दा भित्र पुरै लकडाउन छ ।
डेढ सातादेखि ६० वर्षीय मोअज्जीन खजुरास्थित आइसोलेसन अस्पतालमा अन्य २३ जनासँगै उपचारार्थ भर्ना छन् । उनको घरको अवस्था के होला ? उनका परिवारका सदस्यको स्थिति, मनःस्थिति कस्तो होला ? छिमेकीको व्यवहार र बुझाइले कत्तिको पीडा महसुस भएको होला ? धेरैलाई यो जान्ने उत्सुकता छ । दैनिक नेपालगन्ज यी कुरा जान्न र गलत बुझाइको चिरफार, सही बुझाइको विस्तारका लागि सम्बद्धहरुसँग निरन्तर प्रयासरत छ ।
‘म पुग्दा उहाँको घर पुरै सुनसान थियो, भित्रबाट बन्द घर बाहिर पनि खासै चहलपहल थिएन’, सहकर्मी शाहिदाले अनुभव सुनाउँछिन्, ‘म आफैपनि उहाँहरुको कुरा सुन्न, पीडा महसुस गर्न बेसब्र थिएँ दैनिक नेपालगन्जका लागि सम्पादकको पूर्व योजनामा समय लिएर घर पुग्दाको क्षण शब्दमा बयान गर्न सकिन्न, स्तब्ध बन्द घरमा ६ जना बसिरहनुभएको थियो ।’ वरपर सुनसान थियो । परिवारजनको अनुहारमा सबैको रिपोर्ट निगेटिभ आउँदा एउटा खाले सन्तुष्टि थियो । तर, आँखामा भने अझै कुनै आशा थियो । शायद, त्यो आशा आफ्नो घरमूलीको घर वापसीको होला । तिनै प्रश्नको जवाफ खोज्न बसें मोअज्जीनका परिवारका ६ जना सदस्यकै बीचमा । नजिकबाट कुराकानी गर्दा आएका यथार्थ कुरा उनीसंग लिएको प्रत्यक्ष अन्तरवार्तामा थाहा पाउनु हुनेछ जसले धेरैको मनमा रहेको सवालहरुको जवाफ अवगत हुनेछ ।
श्रीमतिसहित ६ जना सेल्फ क्वारेन्टाइनमा छन् । एकसाता महेन्द्र बहुमुखी क्याम्पसस्थित क्यारेन्टाइनमा बस्दाका अनुभव सुनाउँदा भावविव्हल भएका उनीहरु आफ्नो स्वाबको रिजल्ट नेगेटिभ आउँदा भएको हर्षले उत्साहित देखिए । यसबीच ठुला दुई छोरा र उनीहरुकी ५५ वर्षीया आमा दैनिक नेपालगन्जसँग खुलेर कुरा गरे । रिपोर्ट न आउँदा सम्म दूआ मात्र गरेर बस्यौं । ऐ रब ( हे इश्वर ) रिपोर्ट निगेटिभ आओस् भन्दै पुरै समय रोजा (उपवास) बस्यौं, इबादत (प्रार्थना) गर्यौं, मोअज्जीनकी ५५ वर्षीया श्रीमतिले दैनिक नेपालगन्जसँग भनिन् ।
संक्रमणको हल्लासँगै टोलबासीको तिरष्कार र क्वारेन्टाइनमा बिताएका एक एक पल सम्झिँदा उनीहरु अनुहार दुःखको भाव प्रष्ट थियो । त्यसबीच रिपोर्ट कसरी नेगेटिभ आयो ? यो प्रश्न सोधौं कि नसोधौं लागिराथ्यो । हाम्रो बारे सत्य कुरा समाज सामु पुर्याइदिनुस् ताकि समाजमा फैलिएको भ्रम हटोस्, मोअज्जीनका माइला छोराले दैनिक नेपालगन्जसँग भने । नेगेटिभ रिजल्ट आइसकेपछि हाम्रो खुशीको सीमा नै रहेन, हामी साह्रै खुशी भयौं कि अब सुरक्षित छौं, मोअज्जीनको परिवारसँगको भेटमा भएका कुराकानी र अनभूति सुनाउँदै सहकर्मी शाहिदाले भनिन्, अब म सँग परिवार पुरै खुलिसकेको थियो, अनि प्रश्न शुरु गर्न सजिलो भयो ।
तपाईको परिवारका जेष्ठ सदस्यलाई कोरोना संक्रमणको जानकारी कसरी प्राप्त भयो ?
मुस्लिम आयोगले गरेको निर्देशन अनुसार मस्जिद र मदरसा जिल्ला अनुगमन र स्वाब परिक्षणको क्रममा मेरो पति अन्सारी मस्जिदमा इमाम भएकोले मरकजमा विभिन्न चार मस्जिद मदरसाका पदाधिकारीहरुको परीक्षण हुने ११ जना मध्ये उहाँको पनि चेकजाँच गरिएको रहेछ । पछि रिजल्ट आउँदा उहाँकोमात्र पोजेटिभ आएको चर्चा आयो, उहाँलाई अस्पताल लगियो ।
तपाईको परिवारमा सबैको चेकजाँच भयो, नेगेटिभ देखियो । मोअज्जिन साहबलाई मात्र पोजेटिभ देखियो यसको कुनै कारण ?
मोअज्जिन साहबलाई पहिलै देखि थिएन । उहाँ केही दिन पहिले भारत नानपारा जानुभएको थियो । त्यहाँबाट फर्किंदा क्वारेन्टाइनमा राखिएको थियो । तर त्यहाँ कोही बस्न नमानेर सबैजना पछाडिको पर्खालबाट भागे । ती मध्ये मोअज्जीन साहब पनि रहेछन् । जुन दिन क्वारेन्टाइनबाट भाग्न सफल भएका थिए, हामीलाई लाग्छ उहाँलाई त्यहीं भिडबाट संक्रमण भएको हुनुपर्छ । त्यहाँ क्वारेन्टाइनभित्र रहेको सयौंको भिड थियो, त्यसकारण क्वारेन्टाइनबाट भागेहरुको खोजी गर्नु अति आवश्यक छ । किनकी त्यो भिडले कतिलाई पो यो संक्रमण पुर्याउने खतरा देखिन्छ ।
तपाईंहरु सबैको (परिवार सदस्य) रिजल्ट त नेगेटिभ आयो त । के लाग्छ, कारण के होला ?
डाक्टरहरुको भनाइ अनुसार यो संक्रमण नजिकको सम्पर्कमा आउँंदा मात्र लाग्छ । तर मोअज्जीन साहब धेरैजसो समय मस्जिदमा नै बिताउनु हुन्थ्यो । बच्चाहरु ठुलाठुला भएकोले उनीहरुसंग पनि त्यति नजिकिने अवस्था आइपरेन । घरमा खाना मात्र खान आउनुहुन्थ्यो, बढी समय मस्जिदमा नै बिताउनु हुन्थ्यो । राति सुत्ने पनि मस्जिदमा नै गर्नुहुन्थ्यो । यस कारण परिवारका सदस्यमा सरेन की भन्ने लाग्छ ।
मोअज्जीन साहबको संक्रमण पुष्टि भएपछिको तपाईंहरु प्रतिका धारणा कस्ता रहे ?
उहाँमा पोजेटिभ रिजल्ट आइसकेपछि हाम्रो परिवारलाई हेर्ने दृष्टिकोण नै फरक भइ दियो । समाजमा सबले यसरी व्यवहार गर्न थाले कि हामी मानौं अपराधी हौं । छिमेकीको व्यवहार यस्तो भयो कि विश्व भरी हामीले नै यो महामारी फैलाएका छौं भनी महसूस गराउन थाले । अरु टोलबासीले त हाम्रोलाई नै घृणाको नजरले हेर्न थाले ।
तपाईहरुलाई क्वारेन्टाइन लग्दा र त्यहाँं बस्दाको अनुभव कस्तो रह्यो ?
क्वारेन्टाइन लग्दाको बेला त हामीलाई चारै तिर हेर्ने नजरले अपराधी ठहराई रहेको थियो । अनि क्वारेन्टाइनमा बस्दाको अनुभव के भनौं, अस्पताल क्वारेन्टाइन आदिमा घर जस्तो सुविधा त कहाँं हुन्छ र ? त्यही हो बस्नका लागि अडजेस्ट गर्नुपर्छ । हामीले पनि अडजस्ट गर्यौं ।
तर, तपाईंले अनुभव सुनाउन भन्नु भयो त्यसकारण सत्य कुरा नै गर्छौं । त्यहाँं बस्ने व्यवस्था एकदमै राम्रो थियो कोठा, बेड, तन्ना र झूल (मछ्छरदानी) सब व्यवस्थित थियो । यति हुँदांहँुदैं एउटा कुराले चित्त नै दुखाउन्थ्यो, त्यो हो त्यहाँं गरिने व्यवस्था र हेरिने दृष्टिकोण । हुन सक्छ त्यो डरले होला । तर, हामी आफुलाई त्यहाँं (क्वारेन्टाइन) बस्दा आफुलाई ठुलो अपराधीको रुपमा महसुस गरिरहेका थियौं । किनभने खाना भुर्इंमा राखेर दिइन्थ्यो कोठा बाहिर निस्किने बित्तिकै हप्काएर भित्र पठाइन्थ्यो । जुन कुराले साह्रै चित्त दुखेर आउन्थ्यो ।
तपाईहरुको रिपोर्ट न आउदां सम्म मनमा कस्तो भइरहेथियो अहिले नेगेटिभ आइसकेपछिको अवस्था कस्तो छ ?
रिपोर्ट न आउँदासम्म त दूआ (कामना) मात्र गरेर बस्यौं कि ऐ रब (हे इश्वर) रिपोर्ट नेगेटिभ आओस् पुरा टाइम रोजा (उपवास) बस्यौं, इबादत (प्रार्थना) गर्यौं ।
रिपोर्ट नेगेटिभ आइसकेपछि हाम्रो खुशीको सीमा नै रहेन हामी साह्रै खुशी भयौं कि सुरक्षित छौं भनेर । हामीलाई त नेगेटिभ आइसकेको छ । तर, हामी पुरै देशबासीका लागि दुआ (कामना) गर्छौं कि कसैलाई यो महामारीले न छोओस् जो संक्रमित देखिएका छन्, उनीहरु पनि चाडों निकै भइ आ आफ्नो घर जान सफल होऊन् ।
रिपोर्ट नेगेटिभ आइसकेपछिको समुदायको प्रतिक्रिया कस्तो आएको छ ?
जुन दिन रिपोर्ट नेगेटिभ आयो भनी खबर आयो र हामी घर फर्किंन्छौं भनी तय भयो । त्यो दिन सन्तुष्टि थियो कि, कमसेकम अब यो आरोप त हाम्रो टाउकोबाट हट्छ । घर फर्किंदा समुदायले भव्य स्वागत गर्यो, हामी माथि फूल छरेर अनि रोजा इफ्तारमा मिनरल वाटर आदि घरमै पुर्याए, त्यतिबेला लाग्थ्यो कि हाम्रो समुदाय हाम्रो साथ छ । टोलबासीको अनुहार एक दमै उज्यालो थियो एक किसिमको सन्तुष्टिको भाव झल्किरहेको थियो ।
समुदायलाई के सन्देश दिन चाहनु हुन्छ ?
हामी पुरै परिवारको तर्फबाट समुदायलाई यति मात्र भन्न चाहन्छौं की कोरोना विश्वव्यापी महामारी हो । यो कसैबाट कसैलाई पनि अलिकति लापरवाही गरेमा लाग्न सक्छ । त्यसकारण यसलाई कुनै जाति धर्म र समुदाय विशेषसंग जोड्नु हुँदैंन् । बरु यसबाट बच्न र अरुलाई बचाउन सामाजिक दुरी र लाकडाउनको पालना गर्नुपर्छ ।
हामी हरक्षण दुआ (प्रार्थना) गर्छौं कि यो अछूत रोग कसैलाई नलागोस् । तर, मनमा एउटा जिज्ञासा पनि छ कि एउटै समुदाय विशेषको केस मात्र किन बढी पोजेटिभ देखिरहेको छ । यसको कारण के होला ? किन अरु समुदायका व्यक्ति देखिदैंनन् । एक त एउटै समुदायको रिपोर्ट बढी देखाइरहेछ जसलाई आधार बनाई विभिन्न विखण्डनकारी अराजकतत्वहरु यसलाई कारण बनाएर सिंगो समुदायलाई नै दोष लगाई बदनाम गर्ने गरिरहेछन् । तिनीहरुसंग निवेदन छ कि कृपया यो महामारी हो यसमा राजनीति गरी हाम्रो सहिष्णुतामा आंँच आउने कार्य बन्द गर्नुहोस् । यदि कसैले सामाजिक एकता भंग गर्न प्रयास गर्छ भने उसमाथि प्रशासनले कडा कानूनी कारबाही गरोस् यही भन्न चाहें ।








