कोरोना संक्रमण विरुद्ध दशगजाको चित्रण
भारत संग प्रत्यक्ष सिमाना जोडिएको भारतमा रोजगारी गरि घर फर्कने मजदूरको अवैध प्रवेशका कारण नरैनापुर क्षेत्रमा कोरोना संक्रमणको जोखिम उच्च रहेको अधिकारीहरुले बताएका छन् ।
भारतका विभिन्न राज्यमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गरि नेपाल सरकारले भारतबाट कुनैपनि ब्यक्ति प्रवेश गर्न नपाउने निर्देशन दिएपनि गत साता भारत महाराष्ट, झाँसी, कानपुर, दिल्ली र पंजाबबाट लुकीछिपी २१ जना कामदार नरैनापुर फर्किएका छन् ।
भारत श्रावस्ती जिल्ला भिन्गा स्थित क्वारेन्टीनले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका वडा नं. १ सुईया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गराएको थियो । मजदूर फर्किएको सूचना प्राप्त हुने वित्तिकै उनीहरुलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टीनमा राखिएको थियो, नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहले भने, तर सशस्त्र प्रहरीले ती २१ जनालाई लगेर दशगजामा राखेको छ ।
‘नेपाल प्रवेश गर्न नदिने निर्देशन विपरीत लुकीछिपी प्रवेश गरेको पाइएकोले उनीहरुलाई क्वारेन्टीनमा राख्न मिलेन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज विरेन्द्र बहादुर जिसीले भने, ‘हामीलाई प्रवेश गर्न नदिने निर्देशन छ ।’
भारतको विभिन्न राज्यबाट नेपाल फर्कने क्रम अहिले तीब्र छ । भारतबाट आएर दशगजाबाट लुकीछिपी आफ्नो गाउँघर पुग्न खोज्ने युवाहरुलाई प्रहरीले दशगजामै छेक्ने गरेको छ । कामदारका परिवारले उनीहरुलाई क्वारेन्टीन राख्न अनुरोध गरेपनि प्रहरीले सो अनुसार निर्देशन नभएकोले राख्न नमिल्ने बताउँदै आएको छ ।
‘मुख्य विषय त प्रवेश गर्नै नमिल्ने हो’, दैनिक नेपालगन्ज संग सशस्त्र प्रहरी इन्चार्ज जिसीले भने, ‘प्रवेश गर्न नदिने भनेपछि क्वारेन्टीनमा राख्न दिने प्रश्न नै आउँदैन । यद्यपि यसअघि देखि नै नरैनापुर गाउँपालिकाले भारतबाट आएका कामदारलाई क्वारेन्टीनमा राखेर ब्यवस्थापन गर्दै आएको छ ।’
‘भारतले लखेट्ने र नेपालले पस्न नदिने दशगजाको दैनिक चित्रण यही छ’, नेपाली काँग्रेस क्षेत्र नं. १ का बरिष्ठ नेता रामचन्द्र मौर्य भन्छन्, ‘गाउँ फर्किरहेका युवाहरु नेपाली नागरिक भएका कारण उनीहरुको ब्यवस्थापनको जिम्मा सरकारले लिनु पर्छ, पन्छिन मिल्दैन ।’
राज्यविहीन अवस्थामा कुनैपनि नागरिक बाँच्न सक्दैन नेता मौर्यले भने, ‘यद्यपि संक्रमणको जोखिमलाई मध्यनजर उनीहरुलाई भोकै मार्न मिल्दैन । ‘सरकारलाई आफ्नो निर्देशनमा पुनर्विचार आवश्यक देखिएको छ’, उनले भने, ‘भारतले खाना नदिने, नेपालले आउन नदिने यो त त्यसै मृत्युको मुखमा पुर्याउने काम भइरहेको छ ।’
५ नं. प्रदेश सरकारले मंगलवार नै एक सूचना जारी गरि सबै स्थानीय तहमा भारतबाट आउने कामदारलाई लक्षित गरि उनीहरुको ब्यवस्थापनका लागि थप क्वारेन्टीन निर्माण गर्न निर्देशन दिएको छ । ‘केन्द्र सरकारले कुनैपनि ब्यक्ति प्रवेश गर्न नपाउने गरि सूचना जारी गरेको छ, यो आपसमा विवादित देखियो’, नरैनापुरका प्रमुख भन्छन्, ‘हामी ब्यवस्थापनका लागि तयार छौं तर प्रहरीले सिमाबाट प्रवेश गर्न दिएको छैन ।’
सिमा क्षेत्रमा अहिले पनि एकसय बढि कामदार अलपत्र अवस्थामा छन् । ‘भारतले दशगजा सम्म आउन दिने, नेपाल प्रहरीले प्रवेश छेक्ने सिलसिला अहिलेको दिनचर्या छ’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने, ‘यस हिसाबले मानवीय संवेदना विपरीत काम भइरहेको छ ।’
गतसाता नै नरैनापुर क्षेत्रबाट ५६ जना धर्मगुरुको स्वाब संकलन गरि जाँच गरिएकोमा सबैको रिपोर्ट निगेटिव आएको छ । ‘भारतबाट आउने कामदारका कारण जोखिम हुन सक्ने भन्दै सुरक्षा ब्यवस्था कडा बनाइएको हो’, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले भने, ‘अहिलेको अवस्थामा रिस्क लिन सक्ने चान्स छैन ।’
बुधवार राति नरैनापुर गाउँपालिका वडा नं.५ स्थित ३ जना कामदार पसेको सूचना प्राप्त हुने वित्तिकै उनीहरुलाई प्रहरीले फेरि भारत तर्फ नै फिर्ता पठाएको छ । ब्यवस्थापन विहिन अवस्थामा यसरी आफन्त लखेटिएपछि स्थानीय स्तरमा आक्रोश पनि बढ्दै गएको पाइएको छ ।