को हुन् कोरोना संक्रमित ९ जना

नेपालगन्जमा आइतबार ९ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि कोरोना भाइरसको संक्रमणबाट जोगाउन लकडाउन गरिएको ३८ औं दिन नेपालगन्जमा संक्रमण देखिएको थियो । नेपालगन्ज ८ स्थित जोलाहनपुरवास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पठाउने व्यक्ति) मा संक्रमण पुष्टि भएको हो ।


पोजेटिभ रिपोर्ट आएपछि उनलाई खजुरा स्थित आइसोलेसन अस्पतालमा भर्ना गरिएको छ । ६० बर्षका उनी एक महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनबाट भिडभाडमा निस्किएका थिए । भारतस्थित आफन्त भेटेर आएका उनलाई क्वारेन्टाइनमा राखिएपनि झण्डै ६ सय जनाको हुलमुल एक्कासी निस्किएको मौकामा उनी पनि घर गएका हुन् ।


मोअज्जीनलाई कोरोना देखिएपछि पुरै टोललाई शिल गरेर शनिबार ९० जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाब परीक्षणका क्रममा आइतबार थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।


कोरोना संक्रमित उनकै परिवारका सदस्य हुन् वा टोलका बासिन्दा हुन् भन्ने खुलिसकेको छैन । आइसोलेसन अस्पताल खजुराका प्रमुख डा. प्रकाश थापाले पोजेटिभ भेटिएका ९ जनाको पहिचान गरी आइसोलेसन अस्पताल लैजाने तयारी भैरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया