बाँकेको बिकट गाउँ नरैनापुर स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भौतिक संरचनाको हिसावले हेर्दा भब्य भवन छ तर त्यहाँ झण्डै २ बर्ष देखि चिकित्सक छैनन । चिकित्सक मात्रै होईन स्टाप नर्स, एचए र ल्याव एसिस्टेन्टको पद पनि खाली छ । जसका कारण त्यस क्षेत्रका जनताहरु गुणस्तरिय स्वास्थ्य सेवा पाउनबाट बन्चित छन् । बिजुरी र आवश्यक जनशक्तिका साथै ल्याव र एक्सरेको सुबिधा नहुदा चेकजाँच गर्नु पर्ने बिरामीहरु नेपालगंज र भारत जान बाँध्य छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा भब्य भवन भए पनि आवश्यक जनशक्ति र औषधीको अभाव भएको पाईएको अनुगमनमा पुगेका अधिकारकर्मी वसन्त गौतमले बताए । चेतनाको अभावमा भारतिय नक्कली झोले डाक्टरबाट स्थानियवासी पीडित छन् । सर्वसाधारणले सरकारी स्वास्थ्यकर्मीलाई भन्दा कथित झोले डाक्टरलाई बिश्वास गर्ने प्रबत्ति समस्याको रुपमा रहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले नै बताउने गरेका छन् । स्मरणिय छ केही पहिना पनि भारतिय झोले डाक्टरले सुई लगाई दिएका एक ब्यक्तिको मृत्यु भएको थियो ।

स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार डाक्टर लगायतका स्वास्थकर्मी नहुदा स्वास्थ्य सेवामा असर परेको भन्दै उच्च अदालत नेपालगंज रिट समेत दायर भएको थियो । अदालतले डाक्टर लगायतको दरबन्दी पुरा गर्न २०७४ चैत्र १४ गते आदेश दिएको भए पनि उक्त स्वास्थ्य केन्द्रमा २०७५ भदै देखि कुनै डाक्टर गएका छैनन । दरबन्दी अनुसारको पदपुर्ति गर्न राप्तीपारिका जनतालाई स्वास्थ्यको अधिकारबाट बन्चित नगर्नु र साथै स्वास्थ्य सुशासन कायम गर्नु भनी बिपक्षीहरुको नाममा आदेश भएता पनि कार्यान्वयन नभएको मुद्धामा बहश गरेका अधिवक्ता बिश्वजित तिवारीले जानकारी दिए । अदालतको आदेश भए पश्चात ५\६ महिनाको लागी उक्त स्वास्थ्य केन्द्रमा डाक्टर गए पनि त्यस पछि कुनै डाक्टर नगएको तिवारीले बताए ।
प्राथमिक स्वास्थ्य चौकीमा डाक्टर, स्टार्फ नर्स, एचए र ल्याव एसिस्टेन्ट को दरबन्दी खाली भए पनि हाल एच.ए. लगायत १० जना स्टाफले जनतालाई नियमित सेवा दिईरहेको अहेव राधाकृष्ण चौधरी जानकारी दिए । २ स्थायी र २ जना करारमा रहेका अनमीले वर्थिङ्गसेन्टर संचालन गरि सुत्केरी सेवा दिईरहेको अहेव माधव अधिकारीले बताए ।
चेतनाको अभावमा औषधीको जथाभावी प्रयोग गर्ने र गाउँमा भारत तर्फबाट आएका झोले डाक्टरले इन्जेक्सन दिने गरेको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले अधिकारकर्मीलाई जानकारी गराएका थिए । स्वास्थ्य केन्द्रमा ५८ प्रकारका औषधी हुनु पर्ने भए पनि हाल ३०\३५ थरि औषधी मात्रै भएको स्वास्थ्यकर्मीले बताए ।
यस क्षेत्रमा नागरिकमा छालाको रोगको समस्या बढी देखिने गरेको छ । गाउँका एक जनाले स्वास्थ्य केन्द्रबाट कुनै रोगको औषधी लगेको देखेका छिमेकीले आवश्यक नभए पनि औषधी माग्न आउने गरेको स्वास्थ्यकर्मीले सुनाए ।
बर्तमान कोरोना संक्रमणको समयमा पनि दिनमा झण्डै ८०\९० जना स्वास्थ्य केन्द्रमा आउने गरेका कारण असुरक्षा र आवश्यक सुरक्षा सामाग्री बिनै पनि स्वास्थ्य सेवा दिईरहेको स्वास्थ्यकर्मीले अधिकारकर्मीको टोलीलाई बताएका थिए । स्वास्थ्य केन्द्रमा बिजुली छैन जसका कारण भएको एक्सरे प्रयोगमा आउन सकेको छैन ।
कोरोनाको कहरमा मानव अधिकारको अवस्था बारे बुझन नेपालगंजबाट अधिकारकर्मीको टोली उक्त स्थानमा पुगेको थियो । टोलीमा अधिकारकर्मीहरु वसन्त गौतम, प्रह्लाद बहादुर कार्की, सुरेश कुमार गौतम, बिश्वजित तिवारी र रबिन्द्र कर्ण सम्लग्न थिए । कोरोना बिरुद्धको अभियानमा स्थानिय तहले चालेका कदम, राहत बितरण प्रणाली त्यसमा लक्षित बर्गको पहुँच, क्यारेन्टिनको अवस्था, स्वास्थ्य सेवा, ग्रामिण बस्तीका नागरिकले राहत प्राप्त गरे नगरेको अवस्थाका बारेमा तथ्य संकलन गर्न अधिकारकर्मीको टोली बाँकेको बिकट क्षेत्र नरैनापुर पुगेको थियो ।








