नेपालगन्ज : पुरै टोल क्वारेन्टाइनमा

प्रत्येकको चेकजाँच नभएसम्म बाहिर ननिस्कन पहल लिएका छौं

दैनिक ‘पुरै टोल सुनसान छ, बाहिर प्रहरी तैनाथ छ’, नेपालगन्जका पूर्व नगर उपप्रमुख समेत रहेका नेपालगन्ज–८ का स्थानीयबासी समसुद्दिन सिद्दिकीले शुक्रबार साँझ दैनिक नेपालगन्जसँग भने, ‘टोलका सबैतिर आवागमन पूर्ण रुपमा बन्द गराइएको छ ।’

कोरोना भाइरसको संक्रमण देखिएका अन्सारी मस्जिदका सहायक ६० बर्षीय व्यक्ति टोलका विभिन्न घरमा ट्युसनका लागि नियमित जाने गरेका कारण उनी जाने घरहरु पहिचान नभएसम्मका लागि टोल पुरै स्तब्ध छ । ‘डिएसपी रोडदेखि जोलाहनपूर्वासम्म उनी नियमित आउजाउ गर्ने हुँदा निकै तनावको अवस्था छ’, स्थानीय व्यक्ति भन्छन्, ‘पुरै टोल र कक्षाका विद्यार्थीहरुको घरघरमा व्यक्तिको चेकजाँच नभएसम्म ढुक्क हुने अवस्था छैन ।’

पूर्व नगर उपप्रमुख सिद्दिकी नेपालगन्ज–८ जोलाहनपूर्वा स्थित महेन्द्र पार्क पछाडि रहेको अन्सारी मस्जिदका अध्यक्ष हुन् । मदरसा इरबगिया फैलुल उलुम समेत सञ्चालनमा रहेको मस्जिदमा बालबालिकालाई धार्मिक शिक्षा दिइन्थ्यो । संक्रमणमा परेका धर्मगुरु मस्जिदमा अजान गराउनेदेखि विद्यार्थीहरुलाई शैक्षिक ज्ञानका लागि ट्युसन सञ्चालन गर्थे । ‘कसरी पुरै टोललाई सुरक्षित गर्न सकिन्छ भन्नेमा स्थानीयबासीहरु लागेका छन्’, सिद्दिकीले भने ।

स्थानीय युवाहरुले नेपालगन्ज वडा नं. ८ खासगरी जोलाहनपूर्वा प्रवेशका चारै नाकालाई विभिन्न बार लगाएर प्रवेश निषेध गरेका छन् । प्रहरी गस्तीसँगै युवाहरुको सचेत अवरोधले त्यस क्षेत्रमा आवागमन बन्द रहेको छ । उनीहरुले टोललाई नै ‘सेनिटाइज गर्ने’ योजना बनाएको स्थानीयबासीलाई उद्धृत गर्दै रहिस साईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया