व्याज र घरभाडा छुट देऊ

लकडाउनका कारण धराशयी भएको औद्योगिक, व्यवसायिक क्षेत्रले सरकारसँग राहत माग गरेको छ । बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसका कारण उद्योगी, व्यवसायीहरुमा पर्न गएको प्रभावका सम्बन्धमा सरकारसँग राहत प्याकेज माग गरेको हो ।


‘बन्द भएका उद्योगहरु र व्यवसायिक फर्महरुलाई बन्दाबन्दी (लकडाउन)को समयमा हुन आउने २०७६ चैत्र महिना देखि २०७७ अषाढ मसान्तसम्म बैंक ब्याज मिनाहा गर्न, ऋण लिएका उद्योगी, व्यवसायीहरुलाई कम्तीमा पनि तिस प्रतिशत (३०%) पुर्नकर्जा व्यवस्था गर्न र किस्ताको रुपमा चल्ने ऋणलाई व्यवसायीको माग अनुसार पुर्न तालिकिकरण गर्नुपर्ने’, माग गर्ने निर्णय बैठकले गरेको हो ।

संघका महासचिव चिरञ्जीवि ओलीले बैठकले साना व्यवसायीहरुलाई आर्थिक वर्ष २०७६।०७७ को आयकरमा पच्चास प्रतिशत (५०%), स्थानीय निकायले लिने व्यवसायिक करमा पच्चास प्रतिशत (५०%) र घर बहाल करमा शत प्रतिशत (१००%) छुट दिनुपर्ने माग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

विद्युत कार्यालयले उद्योगहरुमा डिमाण्ड शुल्क वापत लिने शुल्कमा शत प्रतिशत (१००%) र आम नागरिकको हकमा पच्चास प्रतिशत (५०%) मिनाहा गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय बैठकले गरेको महासचिव ओलीले जानकारी दिए ।

अत्यावश्यकीय र उत्पादनमुलक उद्योगहरु छिटो भन्दा छिटो सञ्चालन गराउन सरकारको तर्पmबाट सहज वातावरण मिलाउनुपर्ने महासचिव ओलीले जानकारी दिए । ‘उद्योगी, व्यवसायीहरुले त्यसका लागि आवश्यक सतर्कता अपनाउने, उद्योग, व्यवसायहरुमा रहेका कर्मचारीहरुको तलबको व्यवस्थापनका लागि सम्बन्धित उद्योगी, व्यवसायीहरुको तर्पmबाट पचास प्रतिशत (५०%) र बाँकी पच्चास प्रतिशत (५०%) सरकारको तर्पmबाट अनुदान दिन माग गर्ने निर्णय गरिएको हो’, उनले भने ।

खुल्ला सिमाका कारण कोरोना भाइरस भित्रिन सक्ने उच्च जोखिम यथावत भएको हुँदा कृषि उत्पादन र अन्य स्वदेशी उत्पादनलाई बढावा दिने गरि सम्बन्धित निकायहरुले उत्पादन, बजारीकरण, ढुवानी र आपूर्ति व्यवस्थालाई सहज बनाउदै लैजानुपर्ने र हालकै अवस्थामा सिमा नाका अझ कडाईका साथ बन्द गर्नका लागि दबाव दिने निर्णय भएको उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घरधनीसँग घरभाडा मिनाहा गर्न आग्रह गर्दै संघले कठिन परिस्थितिमा घरभाडा छुट गर्ने घरधनीप्रति आभार समेत व्यक्त गरेको छ ।

संघको बैठकले बजारमा यदाकदा बजारमूल्य भन्दा अतिरिक्त दरमा बस्तुहरु बिक्री गरेका गुनासाहरु आइ रहेको हुँदा सम्पूर्ण उद्योगी, व्यवसायीलाई अधिकतम खुद्रा मूल्य भन्दा बढीमा बिक्री वितरण नगर्नु, नगराउन आग्रह गरेको छ । ‘कहि, कतै, कसैले गरेको प्रमाणित भएको पाइएमा सम्बन्धित निकायबाट हुने कारवाहीप्रति हाम्रो पूर्ण समर्थन रहने छ’, महासचिव ओलीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया