सीमित सेवा प्रवाह गर्दै बैंक

तपार्इंलाई बैंकिङ्ग कारोबार गर्नु छ ? छ भने पूर्व जानकारी लिएर मात्र बाहिर निस्कनु पर्ने देखिन्छ । ३६ दिनदेखिको निरन्तर लकडाउन बीच बैंक तथा वित्तीय संस्थाहरुले सीमित सेवा प्रवाह गरिरहेका छन् ।

‘सक्दो सजिलो गरी जनतालाई सेवा प्रवाह गर्नुस् भन्ने हाम्रो निर्देशन छ’, नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्ति प्रसाद सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘कहीँ कतैबाट सेवा प्रवाहमा गुनासो आएमा राष्ट्र बैंकले सहजीकरण गरिरहेको छ ।’

नेपालगन्जमा रहेका २८ वटै कमर्सियल बैंकले नियमित सेवा प्रवाह गरिरहेको राष्ट्र बैंकको दाबी छ । ‘सम्बन्धित बैंकका केन्द्रबाट आ–आफ्ना ब्रान्चलाई निर्देशित सेडुअल बनाएका छन्’, राष्ट्र बैंकका निर्देशक सापकोटा भन्छन्, ‘त्यही अनुसार बैंकहरुले सीमित सेवा प्रवाह गरिरहेको जानकारी हामीलाई छ ।’

राष्ट्र बैंकका अनुसार, स्थलगत अनुगमन निरीक्षण गर्न नसकिएपनि लकडाउन बीच भने निरन्तर सहजीकरणको काम कार्यालयबाटै भैरहेको छ । ‘यस्तो बेला डिजिटल बैंकिङ्ग सिष्टमलाई अझ बढी प्रमोट गर्नुपर्छ भन्ने कुरामा फोकस छ’, साइन रेसुङ्गा बैंकका क्षेत्रीय प्रमुख तेज रावलले राष्ट्र बैंकबाट प्राप्त निर्देशन र सहजीकरणका आधारमा बैंकको केन्द्रीय योजनाबाटै सेवा प्रवाह भैरहेको जानकारी दिंदै भने ।

नेपालगन्जमा रहेका सबै जसो बैंकले आफ्नो केन्द्रले बनाएको योजनामा सेवाग्राहीलाई आवश्यक परेका बेला सेवा प्रवाह गरिरहेका छन् । ‘हामी १० देखि १ बजेसम्म निरन्तर सेवा प्रवाह गरेका छौं’, स्ट्याण्डर्ड चाटर्ड बैंकका नेपालगन्ज शाखा प्रमुख हरमेश सोनीले भने, ‘सोमबार, बुधबार र शुक्रबार हाम्रो शाखा मार्फत सेवा दिएका छौं ।’ उनका अनुसार, नेपालगन्जका बैंकहरुले कसैले सातामा २ दिन त कसैले ३ दिन सीमित सेवा प्रवाह गरिरहेका छन् । ‘तर, कसैलाई आपत परिहाल्यो भने बैंकमा पुगेर गार्ड मार्फत सम्बन्धित शाखा प्रमुखलाई सम्पर्क गर्यो भने कुनै पनि दिन सेवा प्रवाह होस् भन्नेमा हामी सचेत छौं’, बैंकर्स क्लब नेपालगन्जका संयोजक समेत रहेका सोनीले दैनिक नेपालगन्जसँग भने ।

साइन रेसुङ्गाले दैनिक कार्यालय सञ्चालन गरेपनि दुई दिनमा एक दिन दुई घण्टाका लागि नगद कारोबारका लागि सेवा प्रवाह गरिरहेको छ । ‘बाँकेमा रहेका तीन वटा शाखा पालैपालो खुल्ने व्यवस्था मिलाइएको छ’, साइन रेसुङ्गाका क्षेत्रीय प्रमुख रावलले भने, ‘बर्दियामा रहेका सात वटै शाखा पनि सञ्चालनलाई नियमित व्यवस्थापन मिलाइएको छ ।

नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकले साताको ६ दिन नै दैनिक २ घण्टा नगद कारोबार सेवा प्रवाह गरिरहेको जनाएको छ । ‘शनिबार बाहेक दैनिक ११ बजेदेखि १ बजेसम्म नियमित कारोबार गरिरहेका छौं’, बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले दैनिक नेपालगन्जसँग भने, ‘आवश्यक सामाजिक दुरी र सेनिटाइजरको प्रयोग गरेर उच्च सतर्कताका साथ सेवा प्रवाह गरिरहेका छौं ।’

रावतका अनुसार, बैंकको फेसबुक पेज, वेभसाइट लगायतका आवश्यक प्रविधिको प्रयोग गरी प्रशासनिक कामका लागि केन्द्रीय कार्यालय नेपालगन्जलाई सातै दिन र अन्य कार्यालयहरु आधारभूत बैंकिङ्ग सेवा सञ्चालनका लागि बार मिलाइएको छ । ‘कुनै समस्या नपरोस् भन्ने कुरामा हामी सचेत छौं’, प्रमुख कार्यकारी अधिकृत रावतले भने ।

प्रतिक्रिया

प्रतिक्रिया