रमजान करीमको बारे सबैलाई थाहा छ यो मुस्लिम समुदायको लागि एउटा पवित्र महिना हो । तर आज दैनिक नेपालगन्जको यस अंकमा धेरैलाई थाहा नभएको कुरा बारे जानकारी प्राप्त हुनेछ । शनिवार देखि मुस्लिम समुदायको पवित्र महिना रमजान शरीफ शुरु भएकोछ । हाम्रो कोशिश छ, यसबारे सबैलाई जानकारी होस् ।
रोजा के हो ?
आम जनमानसमा भएको बुझाइ यो छ कि रोजा भनेको निराहार बस्नु भोकै बस्नु नै रोजा बस्नु हो । तर, हेरौं इस्लामले के भन्छ रोजा बारे । रोजा इस्लामको पांच आधार स्तम्भ मध्ये तेस्रो आधार स्तम्भ हो ।
रोजालाई अरबीमा “सोम“ भनिन्छ सोमको अर्थ हुन्छ “रोकिनु“ वा “बन्द गरिनु“ वा “छोड्नु“ हो । अब रोजा बस्दा रोकिनु पर्छ, बन्द गरिनुपर्छ वा छोड्नुपर्छ । तर, सामान्य बुझाइ हेर्दा खानापानी बन्द गर्नु, खानेकुरा न खानु वा तोकिएको समय सम्म बन्द गर्नु वा केही समयका लागि खाने कार्य छाड्नु नै रोजा हो ।
अब हेरौं इस्लामले रोजालाई कसरी परिभाषित गरेछ अर्थात रोजा बस्नु भनेको के गर्ने र के नगर्ने ? रोजा बस्दा ती सबै कुरा रोक्नु जुन मानिसले आफ्नो लागि गरिरहेका हुन्छन् र ती कार्य गर्नु जुन अल्लाहको लागि गरिन्छ । इस्लाम भन्छ रोजा मात्र मुख र पेटको हँुदैंन, रोजा आँंखाको पनि हुन्छ, जिब्रोको पनि रोजा हुन्छ, कानको पनि रोजा हुन्छ, हातको पनि रोजा हुन्छ, खुट्टा को पनि रोजा हुन्छ, मुटुको पनि रोजा हुन्छ र मगजको पनि रोजा हुन्छ ।
रोजा अर्थात गरिआएका काम अल्लाहको लागि रोकिनु वा छाड्नु वा बन्द गर्नु हो । मुख र पेटको रोजा भनेको खानपिउन छाड्नु हो भनी सबलाई थाहा छ । तर, आंँखाको रोजा भन्नाले नराम्रो दृश्य न हेर्नु, जिब्रोको रोजा भन्नाले आफ्नो बोलि वचनबाट कसैलाई दुःखी नबनाउनु गाली गलौज अपशब्द र झूठ नबोल्नु आदि हो ।
कानको रोजा कसैको कुरा नकाट्ने गीत गाली अपशब्द आदि नसुन्नु हो । चोरी नगर्नु कसैलाई चोट न पुर्याउनु हातको रोजा हो । नराम्रो बाटो नहिड्नु खुट्टाको रोजा हो । कसै बारे गलत धारणा न राख्नु माफ गर्नु मुटुको रोजा हो र कसैलाई हानी नोक्सानी पुर्याउन नराम्रो नसोच्नु मगज अर्थात दिमागको रोजा हो ।
अब बुझ्नु भयो होला कि रोजा बस्दा आफु भित्र रहेका सबै नकारात्मक काम विकार र सोंच आदिलाई रोक्नु छाड्नु वा बन्द गर्नु नै वास्तवमा रोजा हो । साथै वर्ष भरी शरीरमा जम्मा भएको विकारलाई व्यवस्था पन गर्ने कार्य हो रोजा । (अधिकारकर्मी वाहिदी दैनिक नेपालगन्जमा स्तम्भ लेख्छिन् )