बाँके : कृषि एम्बुलेन्सबाटै घरघर तरकारी

बाँके र बर्दियामा सुरु भएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीच निःशुल्क ढुवानी गरिदिन थालेको छ ।

जोखिमपूर्ण भारतीय तरकारीमा निर्भर बाँके, बर्दियाबासीका लागि स्थानीय उत्पादनको उपयोग गर्न प्रदेश सरकारले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकारले प्रदेश सहकारी संघ मार्फत १२ वटै जिल्लामा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । ‘बाँके र बर्दियामा शुक्रबारबाट कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ’, प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘नवलपरासी, रुपन्देही र दाङमा अघिल्लो दिनदेखि नै सञ्चालन भैसकेको छ ।’ जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष समेत रहेका सुवेदीले जिल्ला स्तरमा रहेका सहकारी संघले आवश्यक समन्वय गर्ने कृषि एम्बुलेन्स सञ्चालनका लागि कृषकसँगको सहजीकरण सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले गर्नेछन् ।

बाँके, बर्दियाका लागि तीन वटा कृषि एम्बुलेन्स सञ्चालनमा आउँदैछन् । पहिलो दिन एउटा एम्बुलेन्सले बर्दियाको बालापुरबाट १ हजार ५३ केजी टमाटर, २ सय ४५ केजी खुर्सानी र ६४ केजी फर्सी ढुवानी गरेको छ ।

यसरी उत्पादकबाट सोझै उपभोक्ता कहाँ तरकारी पुर्याउँदा निकै सहुलियत दरमा बिक्री गरिन्छ । ‘ढुवानी खर्च लाग्दैन त्यसैले किसानसँग किनेकै दरमा बिक्री गरिएको छ’, सहकारी संघका अध्यक्ष सुवेदीले भने, ‘शुक्रबार १५ रुपैयाँ केजीको टमाटर खरिद मूल्यमै उपभोक्तालाई उपलब्ध गराइएको छ ।’ उनका अनुसार, बजारमा २५\३० रुपैयाँ किलो टमाटर बिक्री हुँदै आएको छ ।
‘बजारमा ६० रुपैयाँ प्रतिकेजी बिक्री भैरहेको फर्सी कृषि एम्बुलेन्स मार्फत २५ रुपैयाँ केजीमा बिक्री गरिएको छ’, अध्यक्ष सुवेदीका अनुसार, एक सय रुपैयाँमा ५ केजी काँक्रा बिक्री गरिंदैछ । सामाजिक दुरी कायम गरेर बिक्री गर्न समस्या भएपछि प्याकेजिङ गरेर वितरणको व्यवस्था गर्न लागिएको जिल्ला सहकारी संघले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार, प्रदेश सरकारले सहकारीलाई अनुदानमा उपलब्ध गराएको गाडीलाई नै कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिएको छ । ‘त्यसबाहेक आवश्यकताका आधारमा सरकारी गाडी कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिनेछ’, ज्ञान केन्द्र प्रमुख सागर ढकालले दैनिक नेपालगन्जसँग भने, ‘बाँकेमा भेटनरी र बर्दियामा ज्ञान केन्द्रले ढुवानीमा लाग्दाको इन्धन खर्च बेहोर्ने व्यवस्था छ ।’ सहकारीका गाडीलाई भने सम्बन्धित सहकारीले नै इन्धन खर्च व्यहोर्ने व्यवस्था मिलाइएको जिल्ला सहकारी संघका अध्यक्ष सुवेदीले जानकारी दिए ।
उत्पादन र बजार बीचको पुलको रुपमा कृषि एम्बुलेन्स सञ्चालनको अवधारणाले दुवै पक्षलाई फाइदा पुगेको छ । ‘किसानहरु आफ्नो उत्पादन बिक्री भएकोमा खुसी छन्’, कृषि ज्ञान केन्द्रका ढकालले उपभोक्ता पनि बासी भारतीय जोखिमउन्मुख तरकारी खाने बाध्यताबाट मुक्त त भएका छन् नै सहुलियतमा समेत उपलब्ध हुँदा सन्तुष्ट भएको बताए ।

ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार, बाँके र बर्दियाको उत्पादनले तरकारी आत्मनिर्भर उन्मुख छ । ‘आलु, प्याज बाहेकका उत्पादनहरुमा हामी धेरै अगाडि बढिसकेका छौं’, ढकालले भने, ‘त्यो पनि अपुग भएमा नारायणघाट तिरबाट आउने व्यवस्था मिलाइएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया