प्रदेश मन्त्री पत्रकारबीच भर्चुअल संवाद
प्रदेश सरकारले लकाउनको अवस्था लम्बिंदै गएमा अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक बजेट बनाउने भएको छ । प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले लकडाउनको अवस्था यतिलामो जाला भन्नेमा विश्वस्त नहँुदा तयारीमा ढिलाई भएको भन्दै यस्तो अवस्थामा पनि कसरी प्रत्येक बालबालिकालाई शिक्षाको अधिकार सुनिश्चित गर्ने भन्नेमा सरकार अध्ययनमा रहेको बताए ।
मन्त्री बरालसँग शिक्षा पत्रकार समूहले ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा प्रदेश ५ सरकारको तयारी’ बारे शुक्रवार दिउसो आयोजना गरेको भर्चुअल प्रेस मिट कार्यक्रममा उनले इन्टरनेटको क्षमता र सेवा विस्तारका लागि सेवा प्रदायकहरुसँग कुरा भइरहेको समेत जानकारी दिए ।
प्रदेश सरकारले रोकिएका परीक्षा सञ्चालनका लागि आवश्यक प्रयास गरिरहेको जानकारी दिंदै मन्त्री बरालले परीक्षा दिइसकेका कक्षाको नतिजा छिट्टै प्रकाशित गर्नपनि निर्देशन दिइसकेको बताए । कक्षा ९ सम्मको बार्षिक परिक्षाको नतिजा तुरुन्त प्रकाशित गर्नका लागि स्थानीय तहलाई अनुरोध गरिसकेको मन्त्री बरालको भनाइ छ । नतिजापछि पाठ्यपुस्तक छपाई र ढुवानी गरी विद्यार्थीको हातमा पुर्याउने कामलाई प्रदेश सरकारले तिब्रता दिने बताए ।
एसइइ, कक्षा ११ र १२ को परिक्षाको बिषयमा विभिन्न मोडेलहरुमा कुराकानी अघि बढिरहेको जानकारी दिंदै मन्त्री बरालले आन्तरिक मूल्यांकन, विद्यालयले लिने गरेको त्रैमासिक परिक्षा, मुख्य अनिवार्य बिषयको मात्रै सानो समुहमा परिक्षा लिने जस्ता मोडेलहरुमा कुरा भइरहेको बताए ।
सामाजिक विकास मन्त्रालयका अनुसार, प्रदेश ५ मा करिब ४ हजार ७ सय सामुदायिक र १ हजार १ सय संस्थागत निजी विद्यालय संचालनमा छन् । ती विद्यालयमा झण्डै ११ लाख विद्यार्थी अध्ययनरत छन् ।
शिक्षा पत्रकार समूहले कोरोना भाइरसका कारण मुलुक लक डाउनमा रहेका बेला शिक्षाका समसामयिक बिषयबस्तुमा सरोकारवाला र सञ्चारकर्मी वीच सम्बाद गराउन ‘भर्चुअल प्रेस मिट’ सुरु गरेको अध्यक्ष तुला अधिकारीले जानकारी दिए । पहिलो ‘भर्चुअल प्रेस मिट’मा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, उपसचिव थानेश्वर ज्ञवाली, काठमाण्डौ, बुटवल, दाङ र नेपालगन्जका झण्डै दुई दर्जन पत्रकारहरु सहभागी भएका थिए । सहभागी पत्रकारहरुले कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भई थुप्रै अभिभावकले आफ्ना बालबालिकालाई निजीबाट सामुदायिक विद्यालयमा सार्ने संभावना रहेको, अनलाइन कक्षामा निरक्षर तथा विपन्न वर्गका बालबालिकाको पहुँच पुग्न कठिन हुने भएकाले शिक्षकहरु जो जहाँ छन् त्यहीं वरपरका बालबालिकालाई पढाउनु उपयुक्त हुने सुझाव दिए ।
बाँकेमा रेडियो स्कूल
वांकेमा ‘रेडियो स्कूल कक्षा’ सञ्चालन गरिने भएको छ । त्यसका लागि सबै स्थानीय तहबीच समझदारी बनिसकेको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए । स्कुल तहको पाठ्यक्रम अनुसार नियमित कक्षा चल्ने कुरामा अनिश्चितता रहेकाले बांके जिल्लाका केही स्थानीय तहले शिक्षामा काम गर्ने संघ संस्थाको समन्वयमा रेडियो स्कूल सञ्चालन गर्न लागेका हुन् ।
पहिलो चरणमा नेपालगन्ज, खजुरा, जानकी र बैजनाथले विभिन्न गैरसरकारी संस्थासँगको आर्थिक साझेदारी रेडियो स्कूल शुरु गर्न लागिएको जानकारी दिंदै खजुराका शिक्षा अधिकारी खगेन्द्र मल्लले क्रमशः अरु पालिकाहरुसँग पनि कुराकानी गरि जिल्ला भरिका विद्यार्थीहरुलाई जोड्दै लगिने बताए ।
नेपालगन्जको कृष्णसार एफएम ९४ मेगाहर्जबाट प्रशारण हुने ‘रेडियो स्कूल’ नमूना कक्षा सञ्चालनका लागि साझेदारी गरिएको छ । रेडियोका स्टेशन प्रमुख तुला अधिकारीका अनुसार, कृष्णसार एफएम ९४ मेगाहर्ज, रेडियोको आफ्नै अनलाइन ww.krishnasaronline.com.np र कृष्णसार एफएमको फेसबुक पेजबाट एकै साथ दिउंसो ३ देखि ५ वजेसम्म सातामा ५ दिन नियमित कक्षा सञ्चालन हुनेछन् । दिउंसो ३ वजे कक्षा ५ सम्मको र ३ वजेर ४० मिनेटमा कक्षा ६, ७ र ८ को आधारभूत तहका कक्षा संचालन हुनेछन् । यस्तै अपरान्ह ४ वजेर २० मिनेटदेखि ५ बजेसम्म कक्षा ९ र १० को मावि तहका मुख्य विषयका कक्षाहरु आइतबारदेखि विहिवारसम्म सञ्चालन हुनेछन् ।