आजदेखि रमजान पर्व, ‘घरमैं नमाज र रोजा इफ्तार’

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान आज शनिबार देखि सुरु हुँदैछ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले एकाबिहानै देखि बेलुकासम्म निराहार बस्नु पर्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न अघिल्लो दिन बिहीबार मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ । मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन् ।
यसबर्ष कोरोना संक्रमणका चैत्र ११ देखि मुलुक लकडाउनमा रहेको छ । निरहार व्रत बस्ने इस्लाम धर्मावलम्वीहरु साँझ व्रत खोल्ने (इफ्तार) सामूहिक रुपमा गर्दै आएका छन् ।

रमाजानका बेला नियमित मस्जिदमा गई नमाज पढ्ने इस्लाम धर्मावलम्वीहरुलाई कोरोनाको जोखिम रहेका कारण घरमै नमाज पढ्न धर्मगुरुहरुले अपिल गरेका छन् । रमजानको पूर्व सन्धयामा नेपालगन्जका मुस्लिम धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाज समेत घरमै पढने गरि व्यवस्था मिलाउन र कोरोनाको संक्रमणबाट जोगिन र जोगाउन सार्वजनिक अपिल गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले इस्लाम धर्मावलम्वीहरुलाई कोराना भाइरसको जोखिमबाट बच्न सरकारले लागु गरेको लकडाउन र विश्व स्वास्थ्य संगठन र विज्ञहरुले दिएको सुझावको पूर्ण पालना गर्न अनुरोध गरेको छ । प्रहरीले सबै किसिमका नमाज घरभित्रै गर्न आग्रह गर्दै लकडाउनको अवज्ञा गरे कानुन बमोजिम कारवाही हुने स्मरण समेत गराएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया