लकडाउनको प्रभाव : घट्यो पेट्रोलियम पदार्थको आयात र खपत

स्टक पर्याप्त छ ः निगम

देबेन्द्र राज पौडेल

मुलुक गत चैत्र ११ गतेदेखि लकडाउनमा रहेको छ । लकडाउनका बेला अत्यावश्यक मालसामान तथा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने तर्फ पनि सरकारले काम गरिरहेको छ । त्यसैले लकडाउन अवधीमा अत्यावश्यक रहेको पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको कमी हुन नदिन सरकारले पेट्रोलियम पदार्थको आयात निर्बाध गरिरहेको छ । आयल निगम पेट्रोलियम पदार्थको आयात आवश्यकता अनुसार गरिरहेको छ ।


आयल निगमको नेपालगन्ज डिपोले आवश्यकता अनुसार इन्धन भारतबाट ल्याइरहेको डिपोका प्रमुख, प्रवन्धक नवविनोद पोखरेलले जानकारी दिएका छन् । ‘कोरोनाका कारण चुनौति छ, तर पनि जोखिम मोलेर अत्यावश्यक भएकाले पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेका छौं’, उनले भने, ‘यद्यपि सवारी साधन नचलेकाले माग भने घटेको छ ।’ प्रबन्धक पोखरेलले हालको परिस्थितिमा आवश्यक रहेको परिणाममा स्टक पर्याप्त रहेको बताएका छन् ।


गत बर्षको तुलनामा यो बर्ष लकडाउनमा मागमा कमीआए पछि पेट्रोलियम पदार्थको आयातमा ह्वात्तै कमी आएको छ । डिपोका प्रमुख पोखरेलका अनुसार, गत बर्ष चैत्र १२ देखि बैशाख ५ गतेसम्म गतबर्ष २५ लाख लिटर पेटोल आएको थियो । तर, यस बर्ष सोही अवधीमा पेट्रोलिम पदार्थको मागमा कमी आएपछि आयात २ लाख २० हजार लिटर मात्रै भएको छ । यो गत बर्षको तुलनामा ८.८० प्रतिशत मात्रै हो ।


त्यस्तै, गत बर्ष चैत्र १२ देखि बैशाख ५ गतेसम्म डिजेल १ करोड ३० लाख ५२ हजार नेपालगन्ज डिपोमा आएको थियो । यस बर्ष सोही अवधीमा १९ लाख २४ हजार आयात भएको छ । जुन गत बर्षको सोही अवधीको तुलनामा १४.७५ प्रतिशत मात्र हो ।


गत बर्ष चैत्र १२ देखि बैशाख ५ गतेसम्म एलपीजी ग्याँस २ हजार १ सय ३९ मेट्रिक टन आयात भएको थियो । यस बर्ष सोही अवधीमा ग्याँस १ हजार ६ सय मेट्रिन आयात भएको छ । यो तथ्यांकले गतबर्षको तुलनामा आयातमा कमी भएको देखिन्छ ।


नेपालगन्ज डिपोले बाँके, बर्दिया, दाङ, सल्यान, प्युठान, रुकुम, रोल्पा, जुम्ला, सुर्खेत, दैलेख, जाजरकोट जिल्लामा इन्धन आपूर्ति गर्दै आएको छ । त्यसका लागि निगमले १ सय २० वटा आधिकारिक डिलर नियुक्त गरेको छ ।

चालक र सहचालकलाई समस्या

सुरक्षाको उपाय अपनाएका छौं ः डिपो प्रमुख

नेपाल पेट्रोलियम पदार्थमा भारतको भरोसामा रहेको छ । पेट्रोलियम पदार्थको लिन भारत जानुको विकल्प छैन । भारतमा कोरोनाको संक्रमण बढ्दो छ । त्यसैले भारत जाने, आउनेलाई यहाँ सहजै समाजमा स्वीकार गर्न सक्ने अवस्था छैन । स्थानीय तहले भारतबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरेको छ ।


पेट्रोलियम पदार्थ लिन भारत जाने र आउने चालक, सहचालकले समाजमा समस्या झेल्नु परिरहेको छ । ‘स्थानीय व्यक्तिहरुले भारतबाट आउनेलाई घरमा बस्न नहुने भन्दै अवरोध गर्छन्, उनीहरुका लागि अर्को व्यवस्था छैन’, नेपाल आयल निगम नेपालगन्ज डिपोका प्रमुख, प्रवन्धक नवविनोद पोखरेलले भने, ‘यसले गर्दा चालक, सहचालकलाई असहज भैरहेको छ ।’
भारत पेट्रोलियम लिन आउने, जानेलाई घरमा बस्न समस्या हुन थालेपछि डिपोले जिल्ला प्रशासन कार्यालय बाँकेमा वडा, स्थानीय अगुवा र प्रशासन प्रमुख सँग समेत छलफल गरिसकेको छ । भारत जाने आउने चालक, सहचालकलाई छुट्टै व्यवस्था छैन, घरमा पनि बस्न नदिने हो भने उनीहरु ढुवानी गर्न भारत जान मान्दैनन्’, पेट्रोलियम पदार्थ ढुवानीको चुनौतिबारे डिपोका प्रमुख, प्रवन्धक पोखरेलले भने । नेपालबाट डिपोमा इन्धन ल्याउनका लागि चालक र सहचालक १ सय ५० जना कार्यरत छन् । उनीहरुलाई भारत नजानका लागि समाज र परिवार दुवैको दबाब रहेको छ ।


पेट्रोलियम पदार्थको ढुवानी व्यवस्था मिलाउन पोखरेल आफै भन्सार पुग्ने गरेका छन् । ‘आयातमा दुवै देशको भन्सारमा समस्या छैन’, उनले भने, ‘अभाव सिर्जना नहोस् भन्नेमा हामी लागि रहेका छौं ।’


चालक र सहचालकले सहज वातावरणको सिर्जना गर्न माग गरेका छन् । जोखिम मोलर काम गर्दा अप्ठ्यारो परिस्थिति सिर्जना गरिए काम गर्न नसक्ने उनीहरुले बताउँदै आएका छन् ।
डिपो प्रमुख पोरखेलले हरसम्भव सुरक्षाको उपाय अपनाएको बताएका छन् । उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको बैठकमा अत्यावश्यक इन्धन आपूर्तिका लागि अवरोध नगर्ने सहमति भएको जानकारी दिंदै भारत जाने कर्मचारीलाई सुरक्षित रुपमा पठाउने सहमति भएको बताए ।


‘कोरोना सन्त्रासको भय कमि गर्न चालक तथा सहचालकहरुलाई मास्क, सेनेटाईजर, गोल्वस र संभवभए सम्म पिपिई समेत उपलव्ध गराई गाडि लोड लिन भारत पठाउने सहमति भएको छ’, नेपालगन्ज डिपोका प्रमुख, प्रवन्धक पोखरेलले भने, ‘व्यवसायीहरुले चालकहरुलाई आवश्यकता अनुसार सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा वस्ने वातावरण मिलाउने र डिपो वरपर सुरक्षा निकायसंग समन्वय गरी ट्यांकर आवतजावतको समय मिलाउने विषयमा सहमति भएको हो ।’

यस्तो छ, त्रिवर्षीय तथ्यांक
समाचारदाता
दैनिक नेपालगन्ज
पश्चिम क्षेत्रमा पेट्रोलियम पदार्थको माग ह्वात्तै वृद्धि भएको छ । तीन बर्षको तथ्यांकले पेट्रोलियम तथा एलपिजी ग्याँसको माग बढेको देखिन्छ । सडकमा सञ्जालमा वृद्धि भएसँगै यातायातका साधन पनि वृद्धि भएका छन् । त्यसले पेट्रोलियम पदार्थको माग बढेको नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमुख नवविनोद पोखरेलले जानकारी दिएका छन् । यद्यपि, खाना पकाउन बढी प्रयोग हुने मट्टितेलको मागको वृद्धिदरमा कमी आएको छ भने ग्याँसको माग बढ्दै गएको नेपालगन्ज डिपोको तथ्यांकले देखाएको छ ।

निगमको नेपालगन्ज स्थित डिपाले आ.व. २०७३÷०७४ मा ३० हजार ५ सय १२ केएल पेट्रोल आयात गरेको थियो । गत आर्थिक बर्ष २०७५÷०७६ मा माग बढेपछि डिपोले ३८ हजार ४ सय ९२ केएल पेट्रोल आयात गरेको डिपोका प्रमुख पोखरेलले जानकारी दिएका छन् । आ.व. २०७४÷०७५ मा डिपोले ३१ हजार ८ सय ६४ केएल पेट्रोल आयात गरेको थियो ।
त्यस्तै डिजेलको आयातमा पनि वृद्धि भएको छ । डिपोले आ.व. २०७३÷०७४ मा १ लाख ४१ हजार ५ सय केएल डिजल आयात गरेको थियो । त्यसपछिका बर्षमा आयात बढेर आ.व. २०७४÷०७५ मा १ लाख ६३ हजार ६ सय ३६, आ.व. २०७५÷२०७६ मा १ लाख ६५ हजार ९ सय ४७ पुगेको छ ।
‘अन्य इन्धनको तुलनामा पेट्रोल र ग्याँसको माग उच्च छ’, नेपालगन्ज डिपो प्रमुख पोखरेलले भने । उनले खाना पकाउन मट्टितेलको सट्टा ग्याँसको प्रयोग बढेकाले ग्याँसको माग बढेको बताएका छन् । उनले पेट्रोलबाट चल्ने सवारी साधन तथा सडक सञ्जालको वृद्धिका कारण पेट्रोलको माग पनि उच्च हुँदै गएको बताए ।
डिपोले आ.व. २०७३÷०७४ मा १ हजार ६ सय ८० केएल मट्टितेल आयात गरेको छ । जुन आर्थिक बर्ष २०७४÷०७५ मा १ हजार ८ सय ८० र आ.व. २०७५÷२०७६ मा १ हजार ९ सय ३७ रहेको छ । डिपोबाट हवाई इन्धन एटिएफको बिक्री पनि तीन बर्षको तथ्यांकले ह्वात्तै बढेको देखाएको छ । आ.व. २०७३÷०७४ मा एटिएफ ६ हजार १ सय, आ.व. २०७४÷०७५ मा ८ हजार ४ सय तथा आ.व. २०७५÷०७६ मा ७ हजार ७ सय ९२ केएल एटिएफ डिपाले आयात गरेको तथ्यांक रहेको छ ।
एलपिजी ग्याँसको आयात तीन बर्षमा १२ केएल वृद्धि भएको छ । आ.व. २०७३र०७४ मा २२ हजार ८ सय १७ केएल आयात गरेको डिपोले २०७४र०७५ मा २८ हजार ७ सय ४० र आ.व. २०७५÷०७६ मा ३४ हजार ४ सय ८५ केएल एलपीजी आयात गरेको छ । डिपो प्रमुख पोखरेलले चालु आ.व.को पाँच महिनामा ग्याँसको मागको वृद्धिदर १२ प्रतिशतले बढेको जानकारी दिएका छन् ।
निगमको नेपालगन्ज डिपोमा पेट्रोल, डिजेल, मट्टिटेल, हवाई इन्धन तथा एलपीजी ग्याँस स्टोरेजका लागि १० वटा ट्यांकी रहेका छन् । पेट्रोलको २ सय १० स्टोरेजका लागि तीन वटा ट्यांकी, २ हजार २ सय ८० केएल गिजलका लागि ३ वटा ट्यांकी, ७ सय ६० केएल मट्टितेलका लागि एक वटा ट्यांक, हवाई इन्धन २ सय ८० केएल स्टोरेजका लागि ४ वटा ट्यांकी रहेका छन् ।
लकडाउनका कारण उक्त बढ्दो तथ्यांकको असर भने चालु आ.व.मा देखिने प्रमुख पोखरेल बताउँछन् । ‘इन्धन खपत गर्ने यातायातका साधन ठप्प भएपछि मागमा कमी आएको छ’, गत बर्षदेखि बढ्दो क्रममा रहेको तथ्यांकमा यस बर्ष कमी आउन सक्ने उल्लेख गर्दै उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया