कोरोना कहरमा स्थानीय सरकार

बाँकेका स्थानीय तहमा सधै चर्चाको केन्द्रमा रहने खजुरा गाउँपालिका कोरोना संक्रमणको सन्त्रासपछि पनि उत्तिकै सक्रिय छ । आइसोलेसन अस्पताल निर्माणदेखि भारतीय तरकारी निषेध गर्दै स्थानीय उत्पादनको बजार खोज्न सक्रिय खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिसँग पछिल्लो एक महिनाको विकसित अवस्था र पालिकाले गरिरहेको काम कारबाहीबारे नजिकबाट जान्न चाहेर दैनिक नेपालगन्जका लागि सम्यक संवाद गरिएको छ ।


मंगलवार पत्रकार झलक गैरेसँग संवादमा जोडिनु अघिमात्र राष्ट्रिय महासंघको केन्द्रीय सचिवालय सदस्यका हैसियतले भिडियो कन्फ्रेन्समार्फत बैठकमा रहेका कक्षपतिले भने, कोरोनाले स्थानीय सरकारलाई जनतासँग थप उत्तरदायी र जिम्मेवार बन्ने अवसर उपलब्ध गराएको छ । भेरी अस्पतालमा बनेको कोरोना परीक्षण ल्याबका व्यवस्थापन समिति सदस्य समेत रहेका कक्षपतिले समग्रमा स्वास्थ्य क्षेत्रलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राख्न अवसर दिएको धारणा राखे । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिसँगको विशेष संवाद आजको अंकमा

स्थानीय सरकारको प्रमुखको जिम्मेवारीमा यतिबेला दिनचर्या कसरी बितिरहेको छ ?
साँच्चै भन्नुपर्दा विहानदेखि साँझसम्म कोभिड १९ कै विरुद्धमा कुदिराखेका छौं । राहतका कुरा पनि जोडिएको छ । हामीले सुरुदेखि नै वडा र गाउँपालिका स्तरीय टास्क फोर्स स्थापना गर्नेदेखि लिएर गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविका परिचालन, आठ वटै स्वास्थ्य क्लिनिकहरु मार्फत फिभर क्लिनिक सञ्चालन गर्ने, क्वारेन्टाइनमा हेल्थ डेस्क सञ्चालन गरी सुरक्षित ढंगले क्वारेन्टाइन सञ्चालन गर्नेदेखि लिएर, प्रदेश नं. ५ कै कोराना विशेष आइसोलेसन अस्पताल खजुरामा स्थापना गर्ने काम, कोरोना परीक्षण ल्याब भेरी अस्पतालमा बनेको छ, त्यसको व्यवस्थापन समितिको सदस्यको हैसियतले आइसोलेसन अस्पताल र भेरीको कोरोना परीक्षणको तयारीका लागि हामी निरन्तर लागि रह्यौं ।


विहानदेखि साँझसम्म जनताको बीचमा जाने, गाउँमा लकडाउनको अवस्था हेर्ने, सीमा क्षेत्रमा निगरानी गर्ने, क्वारेन्टाइनको अनुगमन, स्वास्थ्य स्वयंसेविकाहरुको रिपोर्ट हेर्न लगायतका काम गाउँपालिकाले गरेको छ ।

यसबीच बोर्ड बैठक बसे कि बसेनन् ? कसरी चल्दैछ, पालिका ?


लकडाउन अवधीमा गाउँपालिकाको विशेष बैठक चार पटक बसिसकेको छ । पहिलो बैठकबाट नै हामीले क्वारेन्टाइन बनाउन सुरु गर्यौं । सुरुमा २५ बेडको व्यवस्थित वाईफाई, भोलेन्टियर सहितको क्वारेन्टाइन बनायौं । २५ बेडको क्वारेन्टाइन अहिले ५३ बेडको रहेको छ । त्यतिमात्रै नभएर वडा नं. ४ मा १५ बेडको क्वारेन्टाइन बनायौं ।


प्रत्येक वडामा भोलेन्टियर टिम बनाएका छौं । टास्क फोर्स, र्यापिड फोर्स बनाएका छौं । जनप्रतिनिधिहरु आआफ्नो वडामा खटिनु भएको छ । उहाँहरुले रिक्स मोलेर अगाडि बढेको अवस्था हो ।


हामी जनप्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेका छौं । प्रत्येक वडाको रिपोर्ट हामी लिइरहेका छौं । प्रत्येक वडाको आधारभूत स्वास्थ्य चौकीमा के भैरहेको व्यवस्थापन गरेका छौं । फिभर क्लिनिक सञ्चालन गरेका छौं । स्वास्थ्य स्वयंसेविकाहरुले खजुराका ११ हजार घरधुरीमा पुग्नु भएको छ । उहाँहरुले प्रत्येक घरको परिवार संख्या, अवस्था, क्वारेन्टाइनमा बसेको छ छैन, विदेशबाट आएका छन्, छैनन्, स्वास्थ्य कस्तो छ, रिपोर्ट आधारभूत स्वास्थ्य चौकी मार्फत गाउँपालिकाले लिइरहेको छ । हरेक दिनको रिपोर्ट प्रदेश र संघलाई पठाउने काम भैरहेको छ ।

कोरोना सन्त्राससँगै स्थानीय तहलाई जनता प्रति अझ जिम्मेवार बनाएको हो ?


म गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सचिवालय सदस्य पनि हो । ४ सय ६० वटा गाउँपालिकाको नेतृत्व हाम्रो महासंघले गर्दछ । त्यसैले उपलब्ध साथीहरुको सहभागीमा भिडियो कन्फ्रेन्स गरेर गाउँपालिकाहरुको अवस्था बुझ्यौं । गाउँपालिकाहरुले कोभिड नियन्त्रणका लागि राम्रो भूमिका खेलिरहेको छ । देशका ७ सय ५३ स्थानीय तह कोभिड विरुद्ध लाग्नु भएको छ । यो चुनौति र जनताका लागि काम गर्ने अवसर पनि हो । गाउँपालिका महासंघले राख्नुपर्ने कुरा संघीय मन्त्रालयका मन्त्रीसँग राख्नुभएको छ । कोभिड १९ का विरुद्ध स्थानीय तह संघ र प्रदेशसँग समन्वयमा अगाडि बढिरहेको छ ।


हिजोसम्म स्थानीय तहलाई नकारात्मक पाटोबाट विश्लेषण गरिन्थ्यो । अहिले ७ सय ५३ स्थानीय तहले त्यसलाई चिरेका छन् । कोभिड १९ को विरुद्धमा महासंघले निर्देशन पनि गरेको छ । देशभरका जनप्रतिनिधि पनि लागेको अवस्था हो ।

खजुराको त भारतसँग सीमा पनि जोडिएको छ । भारतीय क्षेत्रमा संक्रमण फैलँदो छ, कस्तो रानीति बनाउनु भएको छ ?

भारतबाट चोरी नाकाबाट दुई जना व्यक्तिहरु लकडाउन अवधीमा मेरै गाउँपालिकामा छिरेको थाह पाइएपछि नियन्त्रणमा लिएर व्यवस्थापन गरियो । एक जना वडा नं. ६ र अर्को वडा नं. ५ को । उहाँहरु दुवैलाई सुरक्षित ढंगले क्वारेन्टाइनमा पठाएका छौं । १४ दिन पुगिसकेपछि टेष्ट गरेर घर पठाउने छौं । झण्डै ९० जनाको परीक्षण गरेपछि क्वारेन्टाइनबाट घर पठाइसकेको अवस्था हो ।


भारतीय सीमाबाट दुई जना छिरेपछि मैले यहाँ सिडिओ साप, प्रदेशका मुख्यमन्त्री, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षकसँग कुरा गरे । उहाँहरुसँग कुरागरेपछि हाम्रा जनप्रतिनिधिको साथमा सीमामा गएर अनुगमन गर्यौं । सीमामा खटिएको प्रहरी उपरीक्षक र निरीक्षकको कमाण्डको टोलीसँग धेरै छलफल गरियो । त्यसपछि पहिले भन्दा कडा रुपमा ड्यिुटी गरिराख्नु भएको छ । भारतीय सीमाबाट अहिले लुकिछिपी आउनेहरुको संख्या उल्लेख्य रुपमा घटेको छ ।

भारतीय तरकारी निषेध गर्नु भएछ । निषेधपछि उपभोक्ताका लागि वैकल्पिक व्यवस्था कसरी ?
हामीले भारतीय तरकारी निषेध गर्दै माइकिङ्ग गरेका छौं सबै वडामा । खजुरा गाउँपालिका भित्रका जनतालाई चाहिने तरकारी, सागसब्जी हाम्रै गाउँपालिका भित्र उत्पादन हुन्छ, कुनै समस्या छैन । एउटा वडादेखि अर्को वडामा सब्जी बिक्री वितरणका लागि खजुरा गाउँपालिका भित्र रहेका क्रियाशिल सहकारीहरुलाई अनुरोध गरेका छौं । उहाँहरुले व्यवस्थापन गरिरहनु भएको छ । खजुरा गाउँपालिकाभित्र उत्पादन भएर बढी भएका तरकारीहरु प्रदेश सरकारले बढी भएका तरकारी ओसारपोसार गर्नको निमित्त कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ । गाउँपालिकामा उत्पादन भएको बढी तरकारी निकासीका लागि प्रदेश कृषि मन्त्रीसँग समन्वय गर्दैछु । भारतीय तरकारी रोक्दैमा खजुरा गाउँपालिकाका बासिन्दा तरकारी खान नपाउने अवस्थामा हुँदैनन्, किनभने हाम्रो पालिकाभित्र पालिकालाई पुग्ने तरकारीको उत्पादन रहेको छ ।

गाउँपालिका क्षेत्रमा लकडाउनलाई व्यवस्थित कसरी गर्नुभएको छ ?


लकडाउन व्यवस्थित गर्नका निमित्त अत्यावश्यक खाद्यान्नका पसलहरु, तरकारी पसलहरु विहान ८ देखि १० र साँझ २ देखि ४ बजेसम्म खोल्ने व्यवस्था मिलाएका छौं । उक्त समय बाहेक औषधी बाहेकका सबै पसल बन्द गरिनेछ । वडाका नागरिकहरु सचेत हुनुहुन्छ, प्रत्येक वडामा स्वयंसेवक दस्ता हुनुहुन्छ । प्रत्येक वडामा निगरानी गरिहेका छौं । स्वयंसेवकहरुले खजुराबाट बाहिर जान रोक्ने र बाहिरबाट कोही नआओस् भनेर निगरानी गरिरहेका छांै ।

पालिकाभित्रका गरिब र विपन्नको जिविकाको व्यवस्थापन कसरी ?


खजुरामा रहेका बाहिरी जिल्लाका विद्यार्थी घर जान लागेका रहेछन् । हामीले रोक्यौं । उहाँहरुलाई खानाको समस्या रहेछ । वडा नं. २ का उनीहरुलाई सोही वडामा सम्पर्क गरी राहत लिने व्यवस्था मिलायौं ।


खजुरा गाउँपालिका भित्र भोकले एक जनापनि जनता मर्दैनन् । त्यो व्यवस्थापन स्थानीय सरकारले गर्छ, खजुरा गाउँपालिकाले गर्छ । पहिलो चरणमा १ हजार ७ सय २५ लाई राहत वितरण गरेका छौं । राहत वितरण व्यवस्थित तरिकाले गरिएको छ । सामाजिक दुरी कायम गर्दै राहतका लागि १०÷१० जनालाई एक÷एक घण्टाको समय राख्यौं । यति हुँदा हुँदै पनि गुनासो नआएको भने होइन । राहतमा वडाको जिम्मेवारी पनि हो । त्यसैले अब राहत आवश्यक भएकाले सम्पर्क गरे त्यसलाई सर्वदलीय राजनीतिक संयन्त्रले हेर्नेछ । सर्वदलीय राजनीतिक संयन्त्रले भेरीफाइ गरेपछि घरमैं लगेर राहत वितरण गर्ने व्यवस्था मिलाउने छौं ।

वडाका स्वास्थ्य कार्यालयलाई कसरी परिचालन गर्नुभएको छ ?


स्वास्थ्य क्षेत्रका साथीहरुलाई खजुरागाउँपालिकाले २४ सै घण्टा स्ट्याण्डबाई राखेको छ । उहाँहरु अत्यन्त मेहनतका साथ खटिनुभएको छ । उहाँहरुको सुरक्षाका लागि पीपीइ, सेनिटाइजर, मास्कको व्यवस्था पनि गरेका छौं । बजारमा अभावका भएका बेला पनि स्वास्थ्य सम्बन्धी सामाग्री व्यवस्थापन गर्यौं । प्रत्येक वडामा फिभर गनको व्यवस्था गरेका छौं । फिभर क्लिनिकबाट । निकट भविष्यमा पनि कोरोना विरुद्ध सतर्कता अनाउँदै वडा स्थित स्वास्थ्य कार्यालयलाई व्यवस्थित ढंगले लैजानुपर्छ भन्ने हाम्रो सोंच र योजना रहेको छ ।

विकास निर्माण कसरी अगाडि बढ्छ ?


विकास निर्माणका सवालमा प्रदेशका मुख्यमन्त्रसँग गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी तथा गाउँपालिका प्रमुखसँग हामीले भिडियो कन्फ्रेन्स गर्यौं । विकास निर्माणका विषयमा पनि हामीले छलफल गर्यौं । मुख्यमन्त्रीसँग ठूला विकास निर्माणका योजना कसरी अगाडि बढाउने भनेर छलफल गर्यौं । उक्त छलफलमा जुन गाउँपालिकामा विकास निर्माणको काम हुन्छ, सोही गाउँपालिकाका मजदुरहरुको प्रयोग गरेर काम गरेर काम अगाडि बढाइने भएको छ । वैशाख १५ पछि लकडाउन खुकुलो पारेर ठूला योजना जस्तो पुल र सडकका काम अगाडि बढ्ने सम्भावना छ ।

स्वास्थ्य र विकास निर्माणसँगै शिक्षा क्षेत्रमा पनि केही काम भइरहेको छ की ?


कक्षा ८ को रिजल्ट हामी निकाल्दै छौं । एसइइका विद्यार्थीहरुका लागि एफएमबाट तयारी कक्षा सञ्चालन गर्ने सोंच बनाएका छौं । त्यसका लागि बाँकेका अन्य स्थानीय तहसँग पनि समन्वय भैरहेको छ । खजुरा गाउँपालिका मात्रै नभएर सबै गाउँपालिका राष्ट्रिय महासंघको सचिवालय सदस्य भएर सबैसँग समन्वय गरेर महत्वपूर्ण विषयमा एफएमबाट तयारी कक्षा सञ्चालनको समन्वय गर्दैछु ।

अन्त्यमा केही ?


खजुराबासीलाई लकडाउनको पूर्ण रुपमा पालना गर्न अनुरोध छ । गाउँपालिकाले बेला बेलामा प्रकाशन गर्ने सूचनाको कार्यान्वयनमा सघाउन सम्पूर्ण गाउँपालिकाबासीलाई अनुरोध छ । कोभिड १९ को विरुद्ध एकमना एकताका साथ लाग्न अनुरोध गर्दछु । खजुराको क्यान्सर अस्पतालमा बनेको कोरोना विशेष अस्पताल पूर्ण रुपमा तयार भएको छ । ३ बेड भेन्टिलेटर, ६ बेडको आइसियु सुविधा सम्पन्न आइसोलेसन अस्पताल बनेको छ । भेरी अस्पतालमा कोरोना परीक्षण सुरु भएको छ । अब बाँके, बर्दियाका जनता परीक्षणका लागि अन्त जानु पर्दैन ।

प्रतिक्रिया

प्रतिक्रिया