रिजल्ट कुर्दै ९ हजार बढी विद्यार्थी

बाँकेमा रहेका ८ स्थानीय तहमा ८ कक्षाको परीक्षा फागुनको अन्तिम साता परीक्षा सुरु भएको थियो । लकडाउनका कारण एक महिना बितिसक्दा पनि अझै परीक्षाफल प्रकाशित हुन सकेको छैन

बाँकेमा रहेका आठ स्थानीय तहमा कक्षा आठको परीक्षा फागुन २८ र २९ गते सञ्चालन भएको थियो । कक्षा आठको परीक्षा चैत्र ९ गतेसम्म सबै स्थानीय तहमा सकियो । तर, कारोनाको जोखिमका कारण चैत्र ११ गतेदेखि मुलुक लकडाउनमा गएपछि परीक्षाफल प्रकाशन अवरोध सिर्जना भयो । सुरुमा सात दिन लकडाउन गरिएकाले कपि चेकजाँच नै ढिलो हुन गयो । यद्यपि, लकडाउन लम्बिएपछि विभिन्न स्थानीय तहले कपि जाँच गरेर रिजल्टको तयारी गरिरहेका छन् भने कतिपय बैशाख ११ गते कुर्दैछन् ।


बाँकेका आठ वटै स्थानीय तहमा ९ हजार बढी कक्षा आठका विद्यार्थीले परीक्षा दिएका छन् । अहिले लकडाउनमा अवस्थामा उनीहरु आफ्नो परीक्षाफल कुरिरहेका छन् । जिल्ला शिक्षा समन्वय कार्यालयका प्रमुख राम सुरेश यादवले स्थानीय तहलाई समयमै परीक्षाफल प्रकाशन गर्नका लागि सुझाव दिएको बताएका छन् । ‘माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको भएकाले उहाँहरुको जिम्मेवारीको काम हो’, उनले भने ।


खजुरा गाउँपालिकाकाले कक्षा ८ को परीक्षाफल बैशाख १४ गते सम्म निकाल्ने तयारी गरेको छ । गाउँपालिकाका विद्यालय निरीक्षक खगेन्द्र मल्लले लेजर र मार्कसिट बनाउने काम भैरहेको जानकारी दिएका छन् । ‘लेजर तयार भएपछि परीक्षाफल प्रकाशित गर्नेछौं’, निरीक्षक मल्लले भने । खजुरामा १ हजार २ सय ६ विद्यार्थीले कक्षा आठको परीक्षा दिएका थिए । खजुरा गाउँपालिकामा चैत्र ३ गते परीक्षा सकिएको थियो ।


नेपालगन्ज उपमहानगरपालिकाले बैशाख २० गतेसम्म परीक्षाफल प्रकाशन गर्ने बताएको छ । नेपालगन्जमा २ हजार ७ सय ८ विद्यार्थीले परीक्षा दिएका थिए । ‘बैशाख १५ को लक्ष्य हो तर, ढिलोमा २० गतेसम्म प्रकाशन गरिनेछ’, नगर शिक्षा अधिकारी गोरख बहादुर थापाले भने । नेपालगन्जमा फागुन २९ गतेबाट कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो ।


कोहलपुर नगरपालिकाले कक्षा ८ को परीक्षाफल तयार गरेर बसेको शिक्षा शाखाका प्रमुख अनन्तकुमार पौडेल बताउँछन् । ‘परीक्षाफल प्रकाशनका लागि समस्या छैन तर लकडाउनको अवस्था रहेकाले अहिले नै प्रकाशित गर्ने निर्णय नगरिएको हो’, नगर शिक्षा अधिकारी अनन्त कुमार पौडेलले भने । कोहलपुर नगरपालिका २ हजार ३ सय ६८ मध्ये २ हजार ३ सय ५३ विद्यार्थीले परीक्षा दिएका थिए । कोहलपुरमा फागुन २८ गते परीक्षा सञ्चालन भएको थियो ।


नरैनापुर गाउँपालिकाले कक्षा ८ को पेपर नै जाँच गरेको छैन । पालिकाले लकडाउनका कारण शिक्षकहरु कपि जाँचका लागि उपस्थित हुन नसकेपछि परीक्षाफल तत्काल प्रकाशनको सम्भावना नरहेको शिक्षा शाखाका कृष्ण कुमार थारुले जानकारी दिए । ‘लकडाउनमा ढिलाई भएपछि हामीले कपि जाँच सुरु गर्छौ’, शाखाका थारुले भने । नरैनापुरमा चैत्र ६ गते सकिएको थियो । नरैनापुरमा १ सय ८६ विद्यार्थीले परीक्षा दिएका थिए । ‘परीक्षार्थी न्यून रहेकाले लकडाउन खुलेको ४÷५ दिनभित्रै परीक्षाफल निकाल्ने छौं’, शिक्षा शाखाका थारुले भने ।


डुडुवा गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जय कुमार कर्णले तत्काल कक्षा ८ परीक्षाफल निकाल्ने तर्फ काम नभएको बताउँछन् । ‘सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था रहेकाले शिक्षक भेला गरेर उत्तरपुस्तिका जाँच गरेका छैनौं’, उनले भने । कक्षा ८ का ३ सय विद्यार्थीले परीक्षा दिएको डुडुवाले बैशाख १५ पछि लकडाउनको अवस्था हेरेर उत्तरपुस्तिकाको जाँच अघि बढाउने बताएको छ ।


जानकी गाउँपालिकामा पनि २ सय ९६ विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । शिक्षा शाखा प्रमुख भलाराम पंगालीले उत्तरपुस्तिका जाँच सुरु भएको बताए । उत्तरपुस्तिका जाँच पछि इन्ट्रि गर्ने, लेजर बनाउने काम गरिने भएकाले रिजल्टका लागि अझै समय लाग्ने पंगालीको भनाइ थियो ।


बैजनाथ गाउँपालिका शिक्षा शाखाका विश्वराज ढकालले उत्तरपुस्तिका जाँची सकेको जानकारी दिएका छन् । ‘इन्ट्रिको काम गरिरहेका छौं’, उनले भने, ‘केही दिनमा परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा हुनेछ ।’ बैजनाथमा १ हजार ४ सय ५९ विद्यार्थीले परीक्षा दिएका थिए ।

प्रहरी कार्यालयमा एइइको प्रश्नपत्र

गत चैत्र ६ गते हुने भनिएको एसइइ परीक्षा रोकिएको छ । परीक्षाको अघिल्लो दिन बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोनाको जोखिमलाई मध्यनजर परीक्षा रोकेको थियो ।

बाँकेमा परीक्षा रोकिएपछि प्रश्नपत्रहरु प्रहरी कार्यालयमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, धनौली प्रहरी चौकी खजुरा, इलाका प्रहरी कार्यालय कोहलपुरमा एसइइ परीक्षाको प्रश्नपत्र राखिएको छ । ‘परीक्षा केन्द्र नजिकमा रहेका प्रहरी कार्यालयमा राखिएका प्रश्नपत्र पनि इलाका र जिल्ला स्तरीय प्रहरी कार्यालयमा फिर्ता ल्याएर राखिएको छ’, जिल्ला शिक्षा समन्वय अधिकारी राम सुरेश यादवले भने ।

बाँकेमा १ सय ७६ वटा विद्यालयका ८ हजार ५ सय ७३ विद्यार्थीलाई परीक्षा दिन ३३ वटा केन्द्र तोकिएको थियो । कोहलपुरमा ११, बैजनाथमा ४, राप्तीसोनारीमा ४, खजुरामा ४, डुडुवामा १ र नेपालगन्जमा ९ परीक्षा केन्द्र जिल्ला शिक्षा समन्वय समितिले तोकेको थियो । जानकी र नरैनापुरमा भने कुनै परीक्षा केन्द्र राखिएको थिएन ।

एसइई परीक्षामा प्रदेश ५ बाट ८१ हजार ४०१ विद्यार्थी रहेका छन् । तीन सय २१ परीक्षा केन्द्रबाट प्राविधिक नियमिततर्फ दुई हजार १३१, साधारण नियमिततर्फ ७६ हजार ६१८ र ग्रेड वृद्धिका दुई हजार ६५२ गरी ८१ हजार ४०१ विद्यार्थीले एसइइ परीक्षामा सहभागी हुन फाराम भरेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

एसइइ दिने विद्यार्थी सबभन्दा बढी रुपन्देहीका १७ हजार ४३० र सबभन्दा कम पूर्वी रुकुमबाट एक हजार ७४ विद्यार्थी रहेका छन् । गत वर्ष प्रदेश ५ बाट ७८ हजार ६५७ परीक्षार्थी सहभागी भएका थिए । सामुदायिकतर्फ एक हजार सात विद्यालयका ६० हजार ५५५ र संस्थागततर्फ ६६१ विद्यालयका २० हजार ८४७ गरी कूल ८१ हजार ४०१ विद्यार्थीले एसइई दिन तयार रहेका छन् । यीमध्ये नौ दृष्टिविहीन, १३ सुस्तश्रवण, दुई शारीरिक अपाङ्गता गरी २४ अपाङ्गता भएका विद्यार्थीले अब हुने एसइईमा सहभागी हुने सामाजिक विकास निर्देशनालयका प्रवक्ता भोजबहादुर केसीले बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघका सदस्य सचिव किस्मत कुमार कक्षपतिले एसइइ परीक्षा रोकिएपछि विद्यार्थीलाई अध्यापनका लागि एफएम रेडियोबाट कक्षा सञ्चालनका लागि समन्वय गरिरहेको बताएका छन् । ‘लकडाउनमा विद्यार्थी घरबाटै अध्ययन गर्न पाउन् भनेर जिल्लाका स्थानीय तहसँग पनि एफएमबाट कक्षा सञ्चालनका लागि समन्वय गरिरहेको छु’, उनले भने ।

एसइइबारे छलफल

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच गत साता बिहीबार छलफल भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भएको भिडियो कन्फरेन्स्मा कक्षा ११ को नियमित भर्ना साउन–भदौ महिनामा हुँदै आएमा तत्काल एसइई परीक्षा नहुँदा आत्तिनुपर्ने स्थिति नभएको तर यसलाई कसरी व्यवस्थित सञ्चालन गर्ने भन्ने विकल्पमा तयारी गर्नुपर्ने सुझावहरु प्राप्त भएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार उक्त अनौपचारिक छलफलमा लकडाउन खुलेको केही हप्तापछि मात्रै परीक्षा सञ्चालन गर्न वा केही अनिवार्य विषयमा परीक्षा लिएर बाँकी ऐच्छिक विषयलाई विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको औषत आधारमा जोडेर ग्रेड निर्धारण गराउन वा सबै विषयलाई विद्यालयले सञ्चालन गरेको पूर्व बोर्ड परीक्षा वा आन्तरिक मूल्याङ्कनलाई आधारमा मानेर ग्रेड दिन सकिने सmुझाहरु दिइएको छ ।

कतिपय प्रदेशका मन्त्रीले सम्बन्धित विद्यालयमै प्रश्नपत्र पठाएर वा पूर्व निर्धा्रित परीक्षा केन्द्रलाई पुनः वितरण गरी डेरामा बस्न जान नपर्ने गरी नजिकमा केन्द्र राखेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिनुभएको थियो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले भने हाल आफ्नो प्रदेशमा कोरोना भाइरसको जोखिम बढिरहेकाले परीक्षाबारे तत्काल सोच्न नसकिने जनाउनुभएको थियो । छलफलमा सहभागी राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले मन्त्रीहरुका सुझाव र आगामी दिनको वस्तुस्थिति हेरेर सरकारसँग समन्वय गरी बोर्डले परीक्षाबारे उचित निर्णय गर्ने राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले कुनै निर्णय भएको छैन । विभिन्न विकल्प आएका छन् । हामी ती सबैको अध्ययन गर्नेछौँ ।’

परीक्षा सञ्चालनका विकल्पबारे विभिन्न विज्ञ र सरोकार भएकाहरुबाट सुझावहरु आइरहेको छ । गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी सञ्चालनका लागि सबै तयारी पूरा भएपनि भाइरसको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ५ गते साँझ निर्णय गरी परीक्षा स्थगन गराएको थियो । सो परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि लकडाउनका कारण स्थगन गरेको थियो । विश्वविद्यालयहरुका परीक्षा पनि स्थगन गरिएका छन् । मन्त्री पोखरेल र प्रदेशमन्त्रीहरुबीच नयाँ शैक्षिक शुरु भएपनि विद्यालय खुल्न सक्ने स्थिति नभएकाले अनलाइन प्रविधिको वैकल्पिक माध्यमबाट कसरी शिक्षण गर्न सकिन्छ भन्नेबारेमा पनि छलफल भएको थियो । प्रदेशगत शैक्षिक र सामाजिक समस्याका बारेमा पनि उहाँहरुबीच विचार विमर्श भएको थियो । उहाँहरुबीच आगामी आर्थिक वर्षको शिक्षाको नीति तथा कार्यक्रबारे पनि छलफल भएको थियो । मन्त्रालयले वैकल्पिक विधिको भर्जुअल शिक्षा सञ्चालनका लागि सुझाव दिन काठमाडौँ विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया