नेपाल र भारत दुवै देश लकडाउनको अवस्थामा छ । कोरोना संक्रमणको जोखिम बढेपछि नेपालले चैत्र ११ गतेदेखि देश पूर्ण रुपमा लकडाउन गरेको छ । तर, पनि अत्यावश्यकीय सामाग्रीको आपूर्ति र खरिदका लागि ढिलाई भने दिइएको छ ।
खाद्यान्न आपूर्तिमा नेपाल भारतमा निर्भर रहेको छ । भारतमा कोरोनाको संख्या दैनिक जसो ह्वात्तै बढिरहेका बेला भित्रिने वस्तु मार्फत कोराना नआओस् भन्नेमा चिन्ता र चासो आम नागरिकमा रहेको छ ।
लकडाउनको अवस्थामा पनि भारतमा वैध र अवैध तरिकाले खाद्य सामाग्री भित्रिइरहेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला भारतबाट आउने माल, वस्तु निर्वाध रुपमा भन्सार गरिरहेको बताउँछन् । ‘आएका मालसामानको भन्सार गरिरहेका छौं’, उनले भने, ‘लकडाउन पछि हरियो र सुख्खा तरकारी भित्रिइरहेको छ ।’ उनले हरियो तरकारी रोक्ने भन्ने विषयमा आवाज उठिरहेको उल्लेख गर्दै त्यस अनुसारको निर्देशन भने विभागबाट नआएको बताएका छन् ।
नेपालगन्ज भन्सारबाट मुख्य नाकाबाट भन्सार गरेर र सहायक नाकाहरुबाट अझै तरकारी भित्रिरहेको छ । नेपालगन्ज भन्सारको लकडाउन पछिको तथ्यांक हेर्ने हो भने भनि सुख्खा र हरियो तरकारी आयात भैरहेको पाइन्छ । यद्यपि, लकडाउनको पछिल्ला दिनमा हरियो तरकारी आउने क्रम भने घटेको छ ।
चैत्र ११ गते लकडाउन भएको दिन नेपालगन्ज भन्सार मार्फत टमाटर ४१ हजार ३ सय ७५, आलु १६ हजार, कटहर ३ सय, फर्सी १ सय २५, लौका १ हजार ८ सय ५०, हरियो खुर्सानी १ हजार ८ सय ५०, खुर्सानी ७ सय ५०, करेला, ३ सय ९०, करेला ३ सय ९०, भान्टा २ सय २५, भिन्डी १ सय ९०, सिम्ला १ सय ५०, काँक्रो ३ सय केजी नेपालगन्ज भन्सारबाट भित्रिएको छ ।
नेपालगन्ज भन्सार कार्यालयबाट चैत्र २८ गतेदेखि बैशाख ५ गतेसम्म चना गेडा १ लाख ११ हजार ७ सय ८० केजी, अरहर दाल ४२ हजार १०, चना दाल ९ हजार केजी, मास दाल २१ हजार केजी, आलु ९२ हजार ६ सय ८०, प्याज ६९ हजार ५ सय, राजमा ३७ हजार २० केजी भित्रिएको छ ।
यसअघि सरकारले तरकारीको विषादी चेकजाँच गरेर मात्रै भन्सार हुने व्यवस्था गरेको थियो । त्यसपछि एक सातासम्म हरियो तरकारी विषादी चेकजाँच गरेर मात्रै भित्रियो । तर, सरकारले उक्त निर्णय एकसातामै स्थगित गरेपछि हरियो तरकारी बिना चेकजाँच भित्रिन थालेको हो । विश्वव्यापी कोरोना संक्रमण फैलिरहेका बेला खाद्य सामाग्री मार्फत कोरोना नभित्रियोस् भन्ने चिन्ता अहिले व्यापक रुपमा रहेको छ ।
भारतबाट नेपालगन्ज भन्सार हुँदै भित्रिने तरकारी नेपालका विभिन्न ठाउँमा जाने गरेको छ । नेपालगन्जका सब्जी मण्डीदेखि सहर तथा गाउँगाउँमा ठेलामा भारतीय तरकारी पुग्ने गरेका छन् । जोखिमयुक्त भारतीय तरकारी भित्रिने र नेपाली तरकारी कुहिने अवस्थामा रहेको भन्दै किसानहरुले विरोध समेत गर्दै आएका छन् । ‘भित्रिने मालवस्तु सँगै संक्रमण फैलिन्छ कि भन्ने चिन्ता हो’, स्थानीय रामेश्वर शर्मा भन्छन्, ‘लकडाउनको अवस्थामा थाहै नपाई जोखिम त भित्रिएको छैन भन्नेमा सरकारले ध्यान पुर्याउनु पर्छ ।’
क्वारेन्टाइन कार्यालय नेपालगन्जको तथ्यांकले चामल, दाल, मकै, आलु, प्याज, तोरी, गेडागुडीको क्वारेन्टाइन गरेको देखाउँछ । तर, सबै हरियो तरकारीको विषादी चेकजाँच र क्वारेन्टाइन भएको भने क्वारेन्टाइन कार्यालयको तथ्यांकले देखाएको छैन ।
क्वारेन्टाइन कार्यालय नेपालगन्जका अनुसार, बैशाख १ देखि ५ गतेसम्म १ हजार ८ मेट्रिक टन, मकै ४ सय ९३ मेट्रिक टन, गहुँ १ हजार १ सय ८१ मेट्रिक टन, विभिन्न दाल ३२ मेट्रिक टन, ८४ मेट्रिक टन क्वारेन्टाइन गरिएको छ । तरकारी ९ मेट्रिक टन क्वारेन्टाइन भएको तथ्यांक रहेको छ ।
चिकित्सकहरुले बाहिरबाट घरमा ल्याएका मालसामान प्रयोग अघि त्यसलाई विभिन्न विधिको प्रयोगगरी सुरक्षित बनाउन सल्लाह दिन्छन् । ‘हातमा पञ्जा लगाएर सुरक्षित रूपमा ग्यास ल्याउने, ग्यासलाई घरबाहिर साबुन पानीले सफा गर्ने । ओभानो गरेर स्प्रिट वा डिटोल पानीले सफा गर्ने । त्यसपछि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने । हात राम्रोसँग धुने त छँदैछ’, डा. रविन्द्र पाण्डे सुझाव दिन्छन् ।
दाल, चामललगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने र त्यसलाई नष्ट गर्ने । ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्न उपयुक्त हुने डा. पाण्डे बताउँछन् ।
‘तरकारी तथा फलफूल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफूले साबुनपानीले हात धुने, तरकारी तथा फलफूललाई २० मिनेटदेखि आधा घण्टासम्म घाममा राख्ने । त्यसपछि भाँडोमा राख्ने । यसरी राखेपछि मनतातो पानी राख्ने, त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने गर्नुपर्छ’, डा. पाण्डेले भने, ‘तरकारी, फलफूल सफा गर्ने veg wash भए झन् राम्रो, आधा घण्टापछि धाराको पानीमा मिचिमिची सफा गर्ने । सुक्खा राख्ने, यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ, खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन । योबाहेक क्लोरिन पानी र पियूषको केही थोपा राखेर सफा गर्न पनि सकिन्छ ।’
सेटिङको आशंका
झण्डै चार सातादेखि नेपाल पुरै लकडाउनमा रहेको छ । भारतमा बढ्दो कोरोना कहर पछि सरकारले भारतीय सीमालाई अझ बढी कडाई गरेको छ । सीमा आवागमन ठप्प पारिएपनि अत्यावश्यक आपूर्तिका आयातमा सरकारले व्यवस्थापन मिलाएको छ । तर, यही बहानामा निर्बाध तस्करी भैरहेको आशंका गरिएको छ । खासगरी निर्बाध ढंगले बजारमा बेचिएका तरकारी, फलफुल यतिबेला घरघर पुगेका छन् ।
‘ट्रकका ट्रक तरकारी गाउँगाउँ पुगेको छ’, बाँकेको खजुरा गाउँपालिकाले भारतीय फलफुल तरकारीलाई अर्को सूचना नभएसम्मका लागि पूर्णतः रोक लगाएपछि गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘चारै तिरको नाका कडाई गर्दै भारतीय उत्पादनलाई निषेध गरेका छौं ।’ आइतबारदेखि भारतीय तरकारी प्रवेशमा रोक लगाएको खजुराले सार्वजनिक सूचना जारी गर्दै कारवाहीको समेत चेतावनी दिएको छ ।
यसअघि दाङमा प्रहरी सेटिङमै पुगेको एक ट्रक तरकारी खाल्टोमा पुरेका स्थानीय जनप्रतिनिधिले गाडी कर्मचारीलाई क्वारेन्टाइनमा पठाएका थिए । बाँकेको कोहलपुरले पनि भारतीय तरकारी, फलफुल प्रवेशमा कडाई गरेको छ । नेपालगन्जमा आइतबार प्रहरीले कतिपय ठाउँमा फलफुल, तरकारीबारे चासो राखेपनि घरघरमा अटो लिएर फलफुल तरकारी बोक्ने र साइकलमा तरकारी लगायतका खाद्यान्न पुर्याउने काममा भारतीय नागरिकहरु समेत देखा परेका थिए ।
‘एकाविहानै दर्जनौं साइकलमा तरकारी र फलफुल अहिले पनि उत्तिकै नेपाल प्रवेश भैरहेको छ’, नेपाल भारत सीमावर्ती बस्ती जयसपुरका स्थानीयबासीहरुले आफुहरुले पटकपटक प्रहरीलाई रोक्न चेतावनी दिएको बताउँदै दैनिक नेपालगन्जसँग भने, ‘हाम्रा फलफुल तरकारी बारीमै सडेका छन् ।’ उनीहरुले आफ्नो गुनासो प्रदेश सभा सदस्य आइपी खरेल समक्ष समेत पुर्याएका छन् ।
‘किसानको गुनासो आएपछि सरोकारवाला सबैसँग गम्भीर चासो राखेको छु’, सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष समेत रहेका प्रदेश सांसद खरेलले दैनिक नेपालगन्जसँग भने, ‘प्रमुख जिल्ला अधिकारीले वैधानिक बाटो मात्र आयात भैरहेको दाबी गरेका छन् ।’
सांसद खरेलले सशस्त्र प्रहरी बलको सीमा स्थित कार्यालयका प्रमुख, भन्सार, क्वारेन्टाइन लगायतका कार्यालयहरुसँग तरकारीको वैध\अवैध आयातबारे चासो राखेका थिए । ‘किसानले अवैध सेटिङबाट भारतीय फलफुल तरकारी नेपाल भित्रिरहेको गुनासो गरिरहेका छन्’, सांसद खरेलले भने, ‘यसबारे म प्रष्ट छु, लकडाउन अवधीभर भारतीय फलफुल तरकारी पूर्ण रुपमा रोकिनुपर्छ ।’
सीमा स्थित इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज, माधव रिजालले सीमामा पूर्ण रुपमा कडाई गरिएको बताए । ‘दुवै देशका सुरक्षा अधिकारीहरुको सीमामा बाक्लो उपस्थिति छ’, उनले भने, ‘सीमाको कुनै पनि ठाउँबाट अवैध रुपमा तरकारी भित्रिएको छैन ।’