बाँकेमा ३० हजार बढी परिवारलाई राहत

बाँकेमा रहेका आठ स्थानीय तह मध्ये कसैले राहत वितरण गरिसकेका छन् भने कतिपय वितरण गर्दैछन् । उनीहरु त्यसका लागि लाखौं रुपैयाँ बजेट विनियोजन गरेको पाइन्छ ।

कोरोना संक्रमणको जोखिमका कारण गत चैत्र ११ गतेदेखि देश पूर्ण रुपमा लकडाउनमा छ । लकडाउन लम्बिदै जाँदा दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न परिवारलाई हात मुख जोर्न नै धौ धौ परेपछि बाँकेका स्थानीय तहले विपन्न परिवारलाई राहत वितरण सुरु गरेका हुन् ।
बाँकेका सबै गाउँपालिकाले राहत वितरणका लागि मापदण्ड अनुसार वडाबाट सूचि लिएर खाद्यान्न सामाग्री राहत स्वरुप वितरण गरिरहेका छन् । बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले दैनिक काम नगर्ने हो भने खाना खाना नै समस्या उत्पन्न भएपछि विवरण संकलन गरी राहत वितरण गरेको बताएका छन् ।


खजुरा गाउँपालिकाले १ हजार ७ सय २१ घरधुरीलाई खाद्यान्न सामाग्री वितरण गरिएको योजना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिएका छन् । त्यसका लागि २३ लाख ९४ हजार बजेट खर्च गरिएको उनले बताए । खजुरामा रहेका ८ वटै वडाले पठाएको सूचि अनुसार खजुरामा २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल वितरण गरिएको हो ।


नेपालगन्ज उपमहानगर पालिकामा पनि राहत वितरण भएको छ । ‘वडा वडाबाट विपन्नलाई छानेर राहत दिएका हौं’, उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भनिन्, ‘वडाबाट १२ हजार बढीलाई खाद्यान्न सहयोग गरिएको हो ।’ उनले प्रति परिवार १ हजार ७ सय ५० रुपैयाँ बराबरको राहत वितरण गरेको जानकारी दिएकी छन् ।


नेपालगन्ज उपमहानगरपालिकाले भाडामा बस्नेहरुका लागि पनि राहत वितरणका लागि प्रक्रिया अगाडि बढाएको छ । ‘यसअघि स्थायी बासिन्दालाई बाँडेका थियौं, अब भाडामा बस्ने विपन्नलाई राहत दिन वडा मार्फत सूचि तयार हुँदैछ’, उपप्रमुख थापाले भनिन् ।


जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री आइतबारदेखि खाद्यान्न राहत वितरण सुरु गर्ने तयारी रहेको जानकारी दिएका छन् । ‘सामाग्री किनिसकिएको छ, शनिबार नै वडामा पठाउने तयारी भएको छ’, उनले भने ।


जानकी गाउँपालिकाले राहत वितरणका लागि ३१ लाख रुपैयाँ जगेडा कोषबाट खर्च गर्न लागेको हो । ‘३ हजार १२ घरधुरीलाई राहत वितरण गरिनेछ’, प्रमुख प्रशासकीय अधिकृत खत्रीले भने ।
जानकीले दुई प्रकारले राहत वितरण गर्दैछ । ५ जना भन्दा कम परिवार संख्यालाई १५ केजी चामल, २ केजी दाल, १ केजी नुन र १ लिटर तेल र ५ जना भन्दा बढी परिवार सदस्य रहेकालाई २५ केजी चामल, ३ केजी दाल, १ केजी नुन र १ लिटर तेल दिन लागिएको हो ।


डुुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले राहत वितरणका लागि साढे १५ लाख रुपैयाँ छुट्याइएको जानकारी दिएका छन् । १ हजार ३ सय बढीलाई राहत दिन वडाबाट सिफारिस आएको बताउँदै उपाध्यायले आज आइतबारबाट राहत वितरण गरिने बताएका छन् ।


प्रशासकीय अधिकृत उपाध्यायले बजेट अपुग भएमा थपिने बताएका छन् । ‘संघ र प्रदेशबाट पनि केही पैसा आउने छ’, उनले भने, ‘त्यो पनि कोभिड नियन्त्रण र राहतका लागि खर्च गरिनेछ ।’ उपाध्यायले कर्मचारीले पनि राहतका लागि ३ लाख ३९ हजार रुपैयाँ पालिकाको कोषमा जम्मा गरेको बताए । डुडुवामा पहिलो चरणमा १० हजार घरधुरीलाई साबुन २ वटा र मास्क ४ वटा वितरण भएको थियो । डुडुवाले सामाजिक सुरक्षा भत्ता पनि घरघरमै पुगेर राहतको विवरण संकलन गर्ने क्रममा वितरण गरिसकेको छ ।


नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ८ सय ५० परिवारलाई राहत वितरण गरेको बताएका छन् । राहत र कोरोना सम्बन्धी अन्य कार्यका लागि २५ लाख रुपैयाँ छुट्याएको जानकारी दिएका छन् ।


बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीले २ हजार ९ सय ४० परिवारलाई खाद्यान्न वितरण गरिएको बताएका छन् । त्यसका पालिकाले त्यसका लागि पहिलो चरणमा ३० लाख छुट्याएको थियो । बैजनाथमा राहतका लागि व्यक्ति तथा संघ, संस्थाले पनि सहयोग गरेका छन् ।


कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीले ४ हजार ३ सय बढी परिवारलाई राहत वितरण गरेको बताएका छन् । जसका लागि ४७ लाख रुपैयाँ खर्च गरिएको छ ।


राप्तीसोनारी गाउँपालिकाले ४ हजार बढीलाई राहत वितरण गर्नुपर्ने अनुमान गरेको छ । पालिकाले वडाले आवश्यकता अनुसार विपन्न परिवारलाई घरमै पुगेर राहत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया