नेपालगन्जलाई प्रदेश सरकारको २५ लाख

कोरोनाविरुद्ध लड्न प्रदेश सरकारको १३ करोड ६० लाख रुपैंया विशेष अनुदान बजेट

प्रदेश सरकारले नेपालगन्ज उपमहानगरपालिकामा कोरोना भाइरस विरुद्धको कोषका लागि २५ लाख रुपिया प्रदान गर्ने निर्णय गरेको छ ।
प्रदेश ५ सरकारको मन्त्री परिषद्को बुधवार बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरे अनुरुप नेपालगन्जलाई सबैभन्दा बढी अनुदानको निर्णय गरेको हो । १०९ स्थानीय तह रहेको प्रदेश ५ मा १३ करोड स्थानीय तहलाई र जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैंया बजेट व्यवस्था गरेको हो ।

यसअघि पदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशस्थित सबै जिल्ला, स्थानीय तहका प्रमुखसँग विभिन्न चरणमा भिडियो कन्फ्रेन्स गरेका थिए ।
मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेर बहादुर केसीका अनुसार, बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैंयाका दरले दिने निर्णय गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकालाई २५ लाख रुपैंया दिइने निर्णय भएको जानकारी दिंदै प्रेस सल्लाहकार केसीले कोहलपुर लगायत प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंया दिइने निर्णय भएको बताए । सिद्धार्थनगर नगरपालिकालाई २० लाख रुपैंया दिइनेछ ।
प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपैंयाको दरले अनुदान दिने निर्णय गरेको प्रदेश सरकारले १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैंयाको दरले ६० लाख रुपैंया दिंदैछ ।
जिल्ला समन्वय समितिको काम अनुगनको कामलाई प्रभावकारी बनाउने । बैठक र अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउने निर्णय पनि गरिएको छ ।
प्राप्त रकम स्थानीय तहहरुले आफूले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहत सम्बन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा मात्र खर्च गर्न सरकारले निर्देशन दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया