लकडाउनको तीन साता पूरा भएको छ । गत चैत्र ११ गते एक साता लकडाउन घोषणा गरेको सरकारले त्यसलाई लम्ब्याउँदै तीन साता पूरा गरेको छ । कोरोना विरुद्ध सतर्कता अपनाउँदै गरिएको लकडाउन खुकुलो हुने भन्दा झन् कसिलो हुँदै गएको अवस्था छ, त्यसको कारण हो, लकडाउन अवधीमा देखिएको कोरोना पोजेटिभ केसहरु ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ जना उपचार पछि घर फर्किएका छन् । कोरोना एक व्यक्तिबाट अर्कोमा सर्ने रोग हो । त्यसैले सामाजिक दुरी नै यसबाट बच्ने एउटा मात्रै विकल्प रहेको छ । खासगरी विदेशबाट आएका नेपाली तथा विदेशीले कोरोना लिएर आउन सक्ने सम्भावनालाई मध्यनजर सीमा बन्द गरिएको छ, अन्तर्राष्टिय उडान बन्द रहेका छन् । तर, पनि भारतबाट लुकिछिपी र हुलहुज्जत गरेर आउनेबाट कोरोना भित्रिएको छ । त्यसबाहेक विभिन्न देशबाट आएका नेपालीमा कोरोना पुष्टि भएको छ ।
भारतमा कोरोनाको केस दिनप्रतिदिन बढ्दो रहेको छ । हाम्रो सीमा भारतसँग खुला रहेको छ । खुला सीमानाले जोखिम झन् बढाउँछ । किनभने लुकिछीपि सीमा आउजाउ हुनसक्छ । रौतहट, कैलाली र वीरगन्जको केसले जोखिम ह्वात्तै बढाएको छ । संक्रमित विभिन्न ठाउँ घुमेको र उनीहरुलाई कहाँबाट कोरोना लाग्यो भन्ने पत्ता लाग्न सकेको छैन । उनीहरुबाट कतिलाई सर्ने जोखिम थियो भन्ने एकिन पनि हुन नसकेको अवस्था छ ।
नेपालमा हाल पोजेटिभ भेटिएका १४ जना खासै ठूलो नहुन सक्छ । तर, कतिपयमा कोरोना भएपनि लक्षण नदेखिएको र तिनले अरुलाई सारेको सम्भावना अत्याधिक हुन्छ भन्ने अनुमान विश्वमा फैलिएरहेको अवस्थाबाट गर्न सकिन्छ ।
कोरोनाको जोखिम कम गर्न र भोलिका दिनमा आइपर्ने चुनौति विरुद्ध तिन वटै सरकारले काम गरिरहेका छन् । देशभर स्थानीय स्तरमा क्वारेन्टाइन बनाइएको छ । आइसोलेसन तथा कोरोना अस्पतालहरु बनाइएको छ । पूर्व तयारी भएका छन् ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छवटा रणनीति सार्वजनिक गर्नुभएको छ । नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उहाँले छ ‘टी’को सूत्रबाट बन्ने आफ्नो रणनीति सार्वजनिक गर्नुभएको हो । यसअनुसार ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, टे«सिङ ट्र्या्किङ, ट्रिटमेन्ट र टुगेदर रणनीति रहेका छन् ।
उहाँले सारेको पहिलो रणनीतिमा ट्राभल रेष्ट्रिक्शन रहेको छ । उहाँका अनुसार उक्त रणनीतिका अनुसार यसका लागि आवतजावत बन्द गर्ने नै हो । यसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् । चैत ११ गतेदेखि गरिएको लकडाउन एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण नसरोस् भन्नाका लागि गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी मन्त्री ढकालले सार्वजनिक गर्नुभएको दोस्रो टेष्टिङ रणनीति हो । यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि आवश्यकताअनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा आधारमा आफूहरुले कार्य्विधि बनाई व्यवस्थित गरेको जानकारी गराउनुभयो । उहाँले मन्त्रालयको हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरैभन्दा धेरै व्यक्तिलाई सो दायरामा ल्याई परीक्षण गर्नु रहेको बताउनुभयो ।
तेस्रो रणनीतिमा टे«सिङ रहेको छ । ट्रेसिङमा सङ्क्रमित व्यक्तिका परिवार नजीकका व्यक्तिहरु जोसँग ती सङ्क्रमित नजीकको सम्पर्कमा आएका व्यक्तिलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । मन्त्री ढकालले धेरैजसो सङ्क्रमितहरुको ट्रेसिङ कार्य पूरा गरिसकेका भन्दै पछिल्लो समयमा पहिचान भएका सङ्क्रमितको टे«सिङ कार्य भइरहेको जानकारी दिनुभयो ।
यसैगरी मन्त्रीले सार्वजनिक गर्नुभएको चौथो रणनीति ट्याकिङ हो । यसमा सम्भावित सङ्क्रमित र सङ्क्रमित व्यक्तिको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत भएमा सो कुराको यकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्याकिङ कार्य हो । उहाँका अनुसार यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेबसाइटमार्फत ट्याकिङ कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे÷नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । मन्त्री ढकालले यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको तथा स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु तथा सुरक्षाकर्मीहरु खटिएका छन् ।
यसैगरी मन्त्री ढकालले पाँचाँै रणनीतिमा ट्रिटमेन्टलाई लिनुभएको छ । यसअनुसार सङ्क्रमित १४ जनाको उपचार भइरहेको छ । उहाँले सम्भावित सङ्क्रमणको संख्या आङ्कलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन मन्त्रालयले आफ्नो रणनीति तय गरेको जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको उपचारका लागि काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पताललाई तोकिएको भन्दै कोरोना सङ्क्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निःशुल्क गर्ने प्रबन्ध गरिएको बताउनुभयो ।
यसैगरी मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न अन्तिम रणनीतिका रुपमा टुगेदरलाई लिनुभएको छ । कोरोना सङ्क्रमणको यो सम्भावित महामारी रोक्न मन्त्रालय मात्र होइन, सिङ्गो देश नै लागिपरेको उहाँले बताउनुभयो ।
नागरिकले आफ्नो पूरै जीवनकालमा देशलाई गर्ने योगदान भनेको अहिले घरभित्र क्वारेन्टाइनमा रहेर सहयोग गर्नु भएकाले यसलाई पालना गर्न आग्रह गर्नुभयो । तपाईं हाम्रो यो सहयोगले सिङ्गो देशलाई कोरोना सङ्क्रमणको महामारीबाट बचाउन मद्दत पुग्छ । आजको परिस्थिति मानव जातिको रक्षाका लागि योगदान गर्ने अवस्था हो, उहाँले भन्नुभएको छ, यस्तो कठिन एवं असाधारण परिस्थितिमा राज्यले अवलम्बन गरेको लकडाउन र अन्य व्यवस्थालाई आत्मसात् गरी तपाईंहरुले गर्नुभएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दछु ।