मुलुक लकडाउनमा गएको आज शनिबार १८ दिन भएको छ । अत्यावश्यक काम बाहेकका मानिस घरमै बसेका छन् । प्रशासनले विना काम हिड्नेलाई कारवाही गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उल्लंघन गर्ने १ हजार ५ मोटरसाइकल नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्ने सयौंलाई समातेर दिनभर चौरमा लगेर राख्ने गरेको छ प्रहरीले ।
सरकारको आव्हान छ, कोरोना विरुद्ध सतर्कता नै त्यसबाट जोगिने एकमात्र विकल्प भएकाले घर बाहिर ननिस्कनु । मानिसहरु लकडाउनमा अभ्यस्त पनि भैसकेका छन् । अभाव र महंगीका बावजुद मानिसहरु घरबाट बाहिर निस्कदैनन् ।
तर, शनिबार नेपालगन्ज उपमहानगरपालिकाको शनिबार भएको बोर्ड बैठकले मानिसहरुलाई घरबाट बाहिर निकाल्ने मात्रै होइन, भीडभाड नै हुने जोखिम देखिएको छ । जसको सामाजिक सञ्जालमा व्यापक आलोचना भैरहेको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाले नगर क्षेत्र भन्दा बाहिरबाट आई बसोबास गरिरहेका विपन्न समुदायका ब्यक्तिका लागि लक्षित गरि निशुल्क भण्डारा सञ्चालन गर्ने निर्णय सार्वजनिक भएसँगै उक्त निर्णयको आलोचना हुन थालेको हो । उपमहानगरपालिकाले विपन्नका लागि राहत वितरण गर्नुको साटो भण्डारा आयोजना गरी भीड जम्मा गर्न खोजेको र त्यसले ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै सामाजिक सञ्जालमा आलोचना गर्न थालिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको बैठकले लकडाउनका कारण समस्यामा परेका नेपालगञ्जमा भाडामा बसोबास गरिरहेका ज्यालादार मजदुर, विद्यार्थी लगायत अन्य विपन्न परिवारलाई दैनिक रुपमा साँझ विहान गरि दुई पटक निशुल्क खाना खुवाउनका लागि नगरका ५ स्थानमा भण्डारा सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त निर्णयका कारण ठूलो संख्यामा उक्त स्थानमा मानिसहरु भेला हुनसक्ने भन्ने हेक्का उपमहानगरपालिकाले राखेको देखिंदैन ।
उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिरको पार्क, रामलिला मैदान, आदर्श मावि राझा र शिक्षण अस्पताल पछाडीको आप बगियामा निशुल्क भण्डारा सञ्चालन गर्ने बताएको छ ।
भण्डारा सञ्चालन कार्यको अनूगमन तथा सहजिकरणका लागि नगर प्रमुख डा. धवलशम्शेर राणाको संयोजकत्वमा उपप्रमुख उमा थापा मगर, वडा नम्बर २ का वडा अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो. अयुव सिद्धिकी, वडा नम्बर ७ का वडा अध्यक्ष जुम्मन खाँ, वडा नम्बर ९ का वडा अध्यक्ष विष्णु लामा, वडा नम्बर १२ का वडा अध्यक्ष वुद्धीसागर सुवेदी, वडा नम्बर १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्रा, कार्यपालिका सदस्य मञ्जु नेपाली र सिमा कशौधन सदस्य रहेको समिति गठन गरिएको छ । यसले संघीय सरकारको घर भित्रै बस भन्ने निर्णयलाई स्थानीय सरकारले वैधानिक रुपमै चुनौति देखिएको भन्न सकिन्छ ।
नगरप्रमुख राणाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका ब्यक्ति र विद्यार्थीका सञ्चालन गर्न लागिएको भण्डारामा सरसफाईसँगै भिडभाड हुन नदिन सुरक्षा निकायसँग समन्वय गरिएको जानकारी दिएका छन् । तर, त्यसले हुल हुज्जत हुने सम्भावनालाई रोक्न सक्दैन । हालै वडाबाट राहत वितरणका क्रममा भीडभाड भएको देखिन्थ्यो । त्यतिमात्रै होइन कतिपय वडा कार्यालयमा प्रदर्शन मात्रै भएन ताला नै लगाइएको अवस्था रहेको छ ।
आईतबार आन्तरिक ब्यवस्थापन गरेर सोमबारदेखि भण्डारा सञ्चालन गर्ने उप–महानगरपालिकाको तयारी छ । नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका विपन्न समुदायको पहिचान गरि वडा कार्यालय मार्फत राहत वितरण गरेको छ ।
भण्डारा लगाएपछि सोही वहानामा ठूला संख्यामा मानिस घरबाट निस्कन सक्छन् भन्ने तिर स्थानीय सरकारले ध्यान दिएको पाइँदैन । एउटा चुकले ठूलो क्षति व्यहोरोको विश्वका तमाम उदाहरणहरु स्थानीय सरकारले मनन गर्न नसकेको स्थानीय नागरिकले आशय व्यक्त गरेका छन् । उनीहरु घरमै लगेर राहत दिनुको साटो भीड जुटाउने खालको भण्डारा आयोजना गर्नुलाई नाटकको संज्ञा दिन्छन् ।