कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको मूल्य बढाएका हुन् ।
‘लकडाउन’ जारी रहँदा नेपालगन्जमा चामल, दाललगायतका खाद्यान्न पनि तोकिएको भन्दा बढी मूल्यमा बिक्री हुन थालेको हो ।
सरकारले पर्याप्त अनुगमन नगरेकाले व्यवसायीले ताकिएको भन्दा बढी मूल्यमा खाद्यान्न बेच्ने गरेका हुन् । खुद्रा व्यवसायीहरुले थोक मूल्यमा नै सामानको मूल्य बढेपछि आफुहरुले बढाउन बाध्य भएको बताएका छन् । आपूर्ति सहज अवस्थामा नरहेकाले पनि खाद्यान्नको मूल्य मनपरी बढिरहेको हो ।
साँझ र बिहानको समयमा मात्रै खाद्यान्न पसल खुल्दा बजारमा यी समयमा भीडभाड हुने गरेको छ । व्यापारीलाई मास्क, पञ्जालगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न र दूरी कायम गरेर मात्रै सामान दिन भनिए पनि पूर्णरुपमा पालना भइरहेको पाइँदैन ।
बजारमा अहिले तरकारी र फलफूल नपाउने समस्याभन्दा पनि महँगो पर्नु उपभोक्ताका लागि समस्या भएको हो ।
अर्कोतिर कति बजेदेखि कति बजेसम्म पसल खुल्ने÷खुलाउने भन्नेमा स्वयं व्यापारी, प्रहरी र स्थानीयवासी अन्योलमा छन् । नेपालगन्जमा खाद्यान्न चामल,चिनी, दाल, तेलमा प्रति केजी लिटर ५ रुपैयाँ देखि १० रुपैयाँ सम्म वृद्धि भएको छ ।
खुद्रा किराना पसलहरुले थोक बिक्रेताले मूल्य बढाएकाले आफुहरुले पनि बढाएर बेच्न बाध्य भएको बताउँछन् । सूर्तीजन्य तथा मादक पदार्थको मूल्य पनि आकाशिएको छ ।








