नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता,सीमामा सशस्त्रको एक–एक किलोमिटर दुरीमा सुरक्षा चेक पोष्ट
भावुक योगी
नेपाल भारत सिमामा पर्ने सीमावर्ती छिमेकी मुलुक भारतको उत्तरप्रदेशमा कोरोनाको संक्रमण बढदै गएपछि बर्दियाको सीमा नाकामा उच्च सतर्कता बढाइएको छ ।
नेपाल भारत सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरि सीमा पूर्णरुपले सिल गरिएको र उच्च सतर्कता बढाइएको हो । नेपाल भारत सीमा क्षेत्रमा पर्ने बर्दियाको ८७ वटा स्थानमा सशस्त्र प्रहरीको सुरक्षा चेक पोष्ट खडा गरिएको छ । सिमा क्षेत्रमा झण्डै ८ सय सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले जानकारी दिनुभयो । नेपाल प्रहरी रहेका सिमाका चेक पोष्टमा प्रहरीपनि तैनाथ छन् ।
भारत उत्तरप्रदेशसंग बर्दियाको ८३ किलोमिटर क्षेत्र पर्छ । यस क्षेत्रमा झण्डै एक एक किलोमिटरको दुरीमा सुरक्षा चेक पोष्ट खडा गरिएको छ । सुरक्षा निकायले चौविसै घण्टा निगरानी बढाएको छ ।
बर्दियाको सुरक्षा टोलीले सीमावर्ती क्षेत्रमा मोवाइल गस्ती समेत बढाएको सशस्त्र प्रहरी उपरीक्षक विकको भनाइ छ । बर्दियाका केही गाउँमा नेपाली सेनाहरु पनि घुमिरहेका छन् ।
बर्दिया उच्च जोखिमा छ त्यसैले लुकिछिपी सीमा पार गर्न सक्ने भएकाले सीमामा निगरानी कडा गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।
लकडाउन भएसँगै सरकारले सीमा सुरक्षाको जिम्मा शसस्त्र प्रहरीलाई दिएपछि सीमामा कडाई गरिएको हो । सीमामा सुरक्षा तैनाथ बढाइएपछि आवागमन ठप्प भएको छ ।
लुकीछिपी आवतजावत गर्ने स्थान पहिचान गरि त्यस्ता ठाउँमा सुरक्षा चेक पोष्ट खडा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बर्दियामा भएको सुरक्षा बल अपुग भएपछि बाहिर जिल्लाबाट थप बल १५० जना मगाइ सुरक्षा चुस्त पारिएको सशस्त्र प्रहरीका एसपी यादव बिकले बताउनुभयो ।
बर्दियाको पूर्वी सीमा मानखोलादेखि पश्चिम राजापुरसम्म सीमा पुर्ण रुपमा गरिएको छ । सीमावर्ती बलैगाउँ, मूर्तिहा, बिछिया, तिकुनिया लगायतका भारतिय बजारमा नेपालीको आवतजावत बढी हुने गर्छ । खुला सीमा नाकाले गर्दा जोखिम बढ्न सक्ने भन्दै विभिन्न क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले बताउनुभयो ।
सीमामा सुरक्षा कडाइ गरिएपछि कोरोना संक्रमणको जोखिममा न्यूनिकरण हुने अपेक्षा गरिएको छ । छिमेकी जिल्ला कैलाली र सीमावर्ती उत्तरप्रदेशमा कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएपछि भारतीय सीमा पूर्णरुपले लक गर्ने, छिमेकी जिल्ला कैलालीसँग आवागमन ठप्प पार्ने, स्थानिय तहबिचमा पनि आवागमन रोक्ने प्रशासनको रणनिती छ ।
छिमेकी जिल्ला कैलालीको सीमा राजापुर र कर्णाली चिसापानीमा पनि सुरक्षा सतर्कता बढाइएको छ । बर्दियामा अहिले अत्यावश्यक सवारीसाधन बाहेक कसैलाई पनि आवतजावत गर्न दिएको छैन ।