लकडाउनका बेला भेरी अस्पताल नेपालगन्जमा बिरामीको चाप भने कम भएको छैन । अन्य समय भन्दा लकडाउनका बेला इमरजेन्सी सेवा लिन आउने भेरीमै बढी हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापा बताउँछन् ।
लकडाउन पछि धेरै ठाउँका स्वास्थ्य संस्थाले पूर्ण रुपमा सेवा दिइरहेका छैनन् । त्यसको चाप भेरीमै पर्ने थापा बताउँछन् । ‘संकटका बेला बढी सेवा दिने अस्पताल सरकारी नै हो’, थापा भन्छन् ।
भेरी अस्पतालको प्रवेश द्वारमै ज्वरो परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । ओपिडि बन्द रहेपनि इमरजेन्सीमा भने चाप उस्तै रहेको पाइन्छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थापा दैनिक ७०/८० जना इमरजेन्सीमा आउने गरेको बताउँछन् । ‘त्यसबाहेक आपतकालीन शल्यक्रिया दैनिक ४/५ वटा र प्रसुति सेवा पनि दिइरहेका छौं’, उनले भने ।
अस्पताल परिसरमै छुट्टै ज्वरो परीक्षण केन्द्र पनि सञ्चालनमा ल्याइएको छ ।










