नेपाली सेनाका दुई प्राविधिक सहित नेपालगन्जबाट गएको एउटा विशेष टोलीले सुदूरपश्चिमको अछामबाट दुई सयबढीको स्वाब नमूना संकलन गरि फर्किएको छ । सेनाको हेलिकप्टरमा मंगलवार अछाम पुगेको उक्त टोलीले विभिन्न क्वारेन्टाइनमा राखिएका आशंकित व्यक्तिको स्वाब नमूना संकलन गरि फर्किएको हो । यी नमूनाहरु र्यापिड किट र स्वाब गरी दुवै किसिमका रहेको सम्बद्ध टोलीले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशनमा अछाम पुगेको विशेष टोलीमा भेरी अस्पताल नेपालगन्जका ल्याब टेक्निसियन प्रसिद्ध ढकाल, हरिशरण अधिकारी र जनस्वाथ्य कार्यालय बाँकेका प्राविधिक केशव ज्ञवाली सहित नेपाली सेनाका दुई स्वास्थ्य प्राविधिक खटाइएको थियो ।
सम्बद्ध स्रोतका अनुसार, पाँच जनाको उक्त टोलीले अछाम कमलबजारमा अकस्मात ज्यान गुमाएका एकजना सिनियर अ.हे.ब.को समेत परिक्षणका लागि नमूना संकलन गरेको छ । उनको मृत्यु शंकास्पद देखिएपछि परीक्षणको निर्णय गरिएको हो ।
स्वास्थ्य प्राविधिकहरुको विशेष टोलीले अछाम बयलपाटास्थित अस्पताल, मंगलसेन र कमलबजारबाट २८ महिला सहित २२६ जनाको स्वाब नमूना संकलन गरि आज बुधवार साँझ नेपालगन्ज फर्किएको हो । सबै संकलित नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको छ । विशेष स्वास्थ टोलीका सदस्य प्रसिद्ध ढकालले नेपालगन्जन्यूजसँग सबै नमूना बुधवारनै काठमाडौं पठाइसकिएको बताए । उनका अनुसार, बयलपाटा अस्पतालबाट ५१, अछाम जिल्ला अस्पताल मंगलसेनबाट ४३, कृषि ज्ञान केन्द्र मंगलसेन क्वारेन्टाइनबाट ६४ र कमलबजारबाट ६२ जनाको स्वाब नमूना संकलन गरिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार, बुधबारबाट अछाम, जुम्ला र सुर्खेतबाट ८ सय २ वटा स्वाबको नमूना संकलन गरिएको छ । ८ सय २ नमूनाहरु पीसीआर टेस्टका लागि संकलन गरिएको र काठमाडौं ल्याइसकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा नेपालीहरु सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा भित्रिएकाले सरकारले र्यापिड टेस्ट र पीसीआर टेस्टका लागि नमूना संकलन तथा परीक्षण गर्दै आएको छ । कैलाली जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएलगत्तै सरकारले र्यापिड टेस्टका लागि टोली परिचालन गरेको थियो ।
मन्त्रालयका अनुसार बुधबारबाट कैलाली र कञ्चनपुरमा परिचालित टोलीले १९८ वटा नमूना संकलन गरेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको अर्को जिल्ला दिपायलमा बुधबारबाट नमूना संकलनको काम थालिएको छ । ‘दिपायलबाट ३ सय वटा नमूना संकलन गर्ने लक्ष्य छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले सञ्चारकर्मीसँग भने ।