मुल्य नबढाउन निर्देशन

बजारमा तरकारी र खाद्य बस्तुको सहज आपूर्ति


संयुक्त बजार अनुगमन समितिले बजारमा सहज आपूर्ति भैरहेको अवस्थामा खाद्य बस्तुहरुको मुल्य नबढाउन पसललेलाई निर्देशन दिएको छ ।

फाइल फोटो


बजार अनुगमनका क्रममा बजारमा तरकारी र खाद्य बस्तुको सहज आपूर्ति भैरहेकोले मुल्य सामान्य रहेको पाइएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
अनुगमनका क्रममा रानीतलाउ स्थित तरकारी मण्डीमा तरकारी प्रसस्त आपूर्ति भैरहेको अनुगमन समितिले जनाएको छ । रानीतलाउ स्थित कृषि उपज बजार संचालक समिति रानीतलाउले प्रतिदिन तरकारीको मुल्य तोक्ने गरेको र शुक्रवारको बजार मुल्य निम्न अनुसार रहेको पाइएको अनुगमन समितिले जनाएको छ । जसअनुसार भिण्डी प्रतिकेजी १२०, टमाटर ६०, लौका ४०, खुर्सानी १००, गाजर ५०, काक्रा ४०, करेला १००, मटर ८०, सिम्ला खुुर्सानी १००, घिउ सिमी ८०, आलु, ४५, प्याज ६०, बण्डा ४०, फर्सी २०, भान्टा ४०, फुलगोफी ५०, धनिया ८०, मुला ४० बोडी १०० र कागती १६० र साग प्रति केजी ४० रुपैया खुद्रा मुल्य रहेको छ ।
समितिले उपरोक्त मुल्य तोकेको भएता पनि बजारमा माग भन्दा आपूर्ति बढी भैरहेको र तरकारी अपेक्षाकृत बिक्रि नभएकाले थोक ब्यापारीहरु यस भन्दा कम मुल्यमा बिक्रि गर्नु परेको बताएका छन् ।
भारत र नेपालका बिभिन्न भागबाट नियमित रुपमा तरकारी आपूर्ति भैरहेको र सब्जीमण्डीमा ठुलो मात्रामा तरकारी मौजाद रहेको पाइएकोले सस्तोमा तरकारी बिक्री बितरण गर्ने ब्यवस्था मिलाउनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
बजारमा तरकारीको मुल्य बढेको भन्ने जनगुनासो आए पछि नेपालगन्ज नगरपालिकामा अन्तरगत रहेको उपभोक्ता हित संरक्षण समितिको बैठकले तरकारी ब्यापारीलाई बोलाई अनिवार्य रुपमा मुल्य सुचि राखेर गुणस्तरिय तरकारी बिक्रि बितरण गर्ने र प्रत्येक दिनको मुल्य सुचि नेपालगन्ज नगरपालिकालाई उपलब्ध गराउन आदेश दिएको थियो । सो बमोजिम रानीतलाउ सब्जीमण्डीले तरकारीको मुल्य पठाउने गरको नगरपालिकाका वरिष्ठ अधिकृत शरद पौडेलले जानकारी दिए ।
बजार अनुगमन समितिले सरकारीका साथै खाद्य बस्तुका पसलको अनुगमन गरेको थियो । यस क्रममा ब्यापारीहरुलाई मुल्य सुचि अनिवार्य रुपमा राख्न,लकडाउनका नाममा मुल्य बृद्धि नगर्न र उपभोक्तालाई सहज तरिकाले गुणस्तरिय बस्तु बिक्रि बितरण गर्न आदेश दिएको जनाएको छ ।
अनुगमन समितिमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्याल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतम, नेपालगंज उपमहनगरपालिकाका वरिष्ठ अधिकृत शरद पौडेल, खाद्य प्रबृद्धि तथा गुण नियन्त्रण कार्यालयकी नेत्रा बोगटी लगायतको सहभागिता रहेको थियो ।
लकडाउनका नाममा कुनै ब्यापारीले सामानको कृतिम अभाव सृजना गर्ने, कालो बजारी गर्ने कार्य गरी उपभोक्त ठगि गर्न खोजे त्यस्तालाई कडा कारवाही गरिनु पर्ने र यसमा उपभोक्ता सचेत हुनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य बसन्त गौतमले बताए । उपभोक्ताका गुनासो सुन्न बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले ११३७ नं मा हटलाईन नम्बरको ब्यवस्था गरेको र उपभोक्ता ठगिएमा नेपालभरिका जुनसुकै स्थानबाट उजुरी दिन सकिने बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया